सिंगटी हाईड्रोको आइपीओ निष्काशन हुने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त
काठमाडौँ । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक शेयर(आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ । दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौता पत्रमा हाईड्रो ईनर्जी कम्पनीका तर्पmबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले एक समारोहबीच हस्ताक्षर गरे । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैंया बराबरको १०० रुपैयाँ अंकित दरको ४३ लाख ५० हजार कित्ता शेयर आगामी असोजसम्ममा निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता रहेको छ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ ।
१.१२ अङ्कले घट्यो नेप्से, सिभिल बैंकको १७ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीले बढायो कारोबार
काठमाडौँ । धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अङ्कले घटेर २६८.३३ मा थामियो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोबार भएका ११ मध्ये तीन उपसमूहको सेयर मात्र बढ्यो । बैंकिङ १.७८, लघुवित्त ३.५२ र जीवन बीमा उपसमूहका शेयर १.४४ अङ्कले बढ्दा होटल ३.७८, विकास बैंक २.७६, जलविद्युत् ४.५४, वित्त ०.९८, निर्जीवन बीमा १६.७५, उत्पादन २७.०१, अन्य ६.९३ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले घटे । स्टकका अनुसार सिभिल बैंकको संस्थापक शेयर रु १७ करोड ५३ लाख ५९ हजार ४०० मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो । त्यस्तै सिटिजन लगानी कोषको शेयर रु चार करोड ११ लाख ६५ हजार ८१०, नेपाल बैंक रु दुई करोड २३ लाख १७ हजार ०१४, एनआइसी एशिया बैंक रु एक करोड ६५ लाख ९५ हजार ६३४ र शिवम् सिमेन्ट्सको शेयर रु एक करोड ५५ लाख ७१ हजार ४५५ मा खरीद बिक्री भए । घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८१ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेड ४.४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४.४४, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ४.१३ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७९ प्रतिशतले कमाए । सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.६७ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैंक ६.०९, आँखु खोला जलविद्युत् कम्पनी ५.४०, नविल इक्वुटी फण्ड ४.८४, कर्पोरेट डेभलपमेन्ट बैंक ४.८ र घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ३.३७ प्रतिशले गुमाए ।
हिमाल दोलखाकोे आइपीओ आजदेखि, १ लाख कित्तासम्म भर्न पाइने
काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) असार २५ गतेदेखि खुलेको छ । हिमाल दोलखाको ७६ लाख ७२ हजार २ सय १० कित्ता सेयर खुलेको हो । जसमध्ये ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणलाई, १ लाख ५३ हजार ४ सय ४४ कित्ता कम्पनीका कर्मचारीलाई र २५ हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । असार २५ गतेदेखि खुल्ने सेयर छिटोमा असार २९ गते र ढिलोमा साउन २४ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्रहरु इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ९ र १० तथा माइ नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।