आरएमडीसी लघुवित्तका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने भएका छन् । बुधबार सम्पन्न संस्थाको २१ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.५ प्रतिशत र १२.५ प्रतिशत बोनस पाउने भएका छन् । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा संचालन मुनाफा ४८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको यस वित्तीय संस्थाको चुक्ता पुँजी १२.५ प्रतिशत बोनस पश्चात ८९ कराेड ९२ लाख रूपैयाँ पुगेकाे छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा ३२ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने सो अवधिमा लगानीमा रहिरहेको बाँकी ऋण रकम ८ अर्ब २२ करोड रुपैयाँ रहेको बताएकाे छ ।

नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित, प्रतिशेयर आम्दानी साढे ५० रूपैयाँ

काठमाडौं । नबिल बैंकको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको प्रस्तावित लाभांश पारित गरेको हो । उक्त बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ नाघेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६मा ४ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रतिशेयर आम्दानी ५०.५७ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब १ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१ प्रतिशत र ६.४५ प्रतिशतले वृद्धि भएको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” २३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । कार्यक्रममा अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताएका छन् ।

ढुंगानाकाे नियुक्तीसँगै लगानीकर्तामा उत्साह, भन्छन्-‘अब पुँजी बजारले राम्रै फड्को मार्छ’

काठमाडाैं । नेपाल धितोपत्र बोर्डकाे अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएसँगै लगानीकर्ताहरू उत्साहित भएका छन् । शेयर बजारसँग विज्ञ व्यक्ति बाेर्डकाे अध्यक्षमा नियुक्त भएकाे भन्दै लगानीकर्ता  र शेयरबजारसँग सम्बन्धित जानकारहरू उत्साहित भएका हुन् । बोर्डका नवनियुक्त अध्यक्ष  ढुंगानालाई लगानीकर्ताले मात्र हाेइनन् मंगलबारकाे शेयर बजारले  समेत स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १६.२३ अंकले उकालो लागेर १२१६.९२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढेको हो भने गत चार महिना यताकै उच्चतम बिन्दु हो । राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेर अनुभव बटुलेका ढुंगानाकाे कार्यकाैशल र जिम्मेवारी बहन गर्ने क्षमता कतिकाे छ भनेर हामीले शेयर बजारसँग सम्बन्धित निकायका प्रतिनिधीहरूसँग बुझ्ने प्रयास गरेका छाैं । के भन्छन् उनीहरू ? भरत रानाभाट-अध्यक्ष, ब्रोकर एसोसियशन ‘नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेर आएको राम्रो अनुभवका अनुसार रेगुलेटरको हिसावले पूँजी बजार राम्रो होला जस्तो लाग्छ । नेप्सेमा सूचीकृत कम्पनी भनेको बैंक तथा वित्तीय संस्था नै धेरै छन् । जुनचाहिँ नवनियुक्त अध्यक्ष ढुंगानाले राष्ट्र बैंकमा हुँदा रेगुलेटरको हिसावले रेगुलेशन गरेका कम्पनीहरु भए । त्यस्तै, मोनिटरी पोलिसीले मार्केटलाई जसरी असर गर्थ्यो उहाँले राष्ट्र बैंकमा बस्दा त्यो सबै भोगेको हिसावले उहाँ मार्केटप्रति नजिकबाट हेरेको बुझेको मान्छेको रुपमा चिनिनु हुन्छ । साथै, उहाँको नेचरवाइज हेर्दा उहाँले सबै पक्षलाई व्यवस्थित ढंगले लैजानु हुन्छ भन्ने आशा छ ।’ राधा पोखरेल- अध्यक्ष,नेपाल पूँजी बजार लगानीकर्ता संघ ‘पुँजी बजारको नियामक निकाय, धितोपत्र बोर्डले धेरै समयपछि अध्यक्ष पाएको छ । जो शेयर बजारका विज्ञ हुनुहुन्छ । साथै, उहाँलाई धेरै जनाबाट छनोट गरेर ल्याइएको हुँदा बजारले राम्रो गति लिने आशाका साथ हामी स्वागत नै गर्छौं । पुँजी बजारको कुरा गर्नु पर्दा बजारमा यति धेरै समस्याहरु देखिएका छन् कि महत्वपूर्ण कामहरु कार्यान्वयन गर्नमा समेत ढिला सुस्ती भएको छ । जस्ताे पुँजीगत लाभकाे गणना जस्तो भारित औसतको कुरा जुन बोर्डले नै गर्नुपर्ने थियो, तर अहिलेसम्म पेन्डिङमै छ । केही ल्याउनु पर्दा रातारात नै ल्याइन्छ तर त्यसलाई कार्यान्वयन गर्न नियामक निकायले हप्तौं, महिनौं, वर्षौं लगाएको पाइन्छ । त्यसैले, अहिलेको नवनियुक्त अध्यक्षले बजारका समस्यालाई प्राथमिकतामा राखेर लगानीकर्ताको समस्याहरु एकदम सूक्ष्म रुपले अध्ययन गरेर छिटोभन्दा छिटो समाधान गर्नुहुन्छ भन्ने आशा छ । साथै, लगानीकर्तालाई पेनिक नबनाई उनीहरुको चराईरहेको घाउमा मलम पट्टी लगाउनु हुन्छ भन्ने धेरै आशा छ ।’ चन्द्र सिंह साउद- प्रमुख कार्यकारी अधिकृत,नेप्से ‘नेप्सेका पूर्व सञ्चालक अर्थात बोर्डका नयाँ अध्यक्ष ढुंगानालाई स्वागतका साथै नयाँ कार्यकालको लागि शुभकामना छ । धेरै पहिलेदेखि पुँजी बजार बुझ्नु भएको उहाँसँग राष्ट्र बैंकको विभिन्न विभागमा बसेर काम गरेको राम्रो अनुभव छ । त्यसैले उहाँको कार्यकालमा पुँजी बजारले राम्रै फड्को मार्ने खालका नीति नियम तथा लगानीकर्ताको चाहना अनुसारको नीतिगत सुधार हुन्छ भन्ने आशा छ ।’ मुराहरी पराजुली-  प्रवक्ता, नेप्से ‘बाेर्डमा नयाँ अध्यक्ष जो आउनु भएको छ, उहाँ शेयर बजारको विज्ञ हुनुहुन्छ । जसले गर्दा बजार विकासको हिसावले राम्रो हुनेछ । संस्थाको हिसावले हेर्दा उहाँ यस संस्थामा बसेर काम गर्नु भएकाले सेबोन र नेप्सेको सम्बन्धको बारेमा राम्रो जानकार हुनुहुन्छ । त्यसैले उहाँको कार्यकालमा काम गर्न हामीलाई धेरै सजिलो हुन्छ भन्ने आशा छ । सुझावको बारेमा भन्नु पर्दा धेरै जसो पुँजीबजारका कुराहरु निष्पक्ष छन् त्यसैले यो क्षेत्रमा गर्नु पर्ने कामहरुमा उहाँको साथ, सर्पोट तथा सहयोग पाइन्छ भन्ने आशा गरेका छौं ।’