शेयर लगानीकर्तालाई लाभांश लिन चटारो, कसरी लिने नगद लाभांश ?

<p>काठमाडौं । पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारो छ । पुस महिनासम्म साधारणसभा गर्नैपर्ने बाध्यताका कारण ती कम्पनीहरुलाई एजीएम गर्न भ्याईनभ्याई भएको हो । त्यस्तै, कम्पनीलाई मात्र नभई सूचीकृत कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई पनि लाभांश लिन हतार भएको छ । बैंक तथा वित्तीय संस्थाले धमाधम वार्षिक [&hellip;]</p>

काठमाडौं । पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारो छ । पुस महिनासम्म साधारणसभा गर्नैपर्ने बाध्यताका कारण ती कम्पनीहरुलाई एजीएम गर्न भ्याईनभ्याई भएको हो ।

त्यस्तै, कम्पनीलाई मात्र नभई सूचीकृत कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई पनि लाभांश लिन हतार भएको छ । बैंक तथा वित्तीय संस्थाले धमाधम वार्षिक साधारणसभा गरी प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीहरु वर्षभरी आफूले गरेको लगानीको लाभांश पाउन आतुर देखिएका छन् । कम्पनीले कहिले साधारणसभा बोलाउला र लाभांश लिन पाउँला भनेर कुरेर बसेका लगानीकर्ताहरु साधारणसभा सकिएको भोलिपल्टै आफ्नो खातामा लाभांश आओस् भन्ने चाहन्छन् ।

तर, आफूले लगानी गरेको कम्पनी वा संस्थाले वितरण गरेको नगद लाभांश कसरी लिने भन्ने बारे भने अधिकांश लगानीकर्ताहरु अझै पनि अनविज्ञ नै छन् । त्यसैले कतिपय लगानीकर्ताले आफूले लगानी गरेको वर्षाैं बित्दा पनि कम्पनीले वर्षैपिच्छे वितरण गरेको लाभांश नलिएर लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु परेकाे कयौँ उदाहारण छन् ।

त्यसैले, उक्त उदाहारणको पात्र नबन्नको लागि शेयरमा लगानी गर्ने लागानीकर्ताहरु भने अलि चनाखो वा प्रविधिसँग अपडेट हुन जरुरी हुन्छ । प्रविधिले गर्दा हाल शेयरधनीहरुले नगद लाभांश खातामै पाउने भईसकेको छ । जसका लागि उनीहरुले विभिन्न ४ वटा प्रकृया अपनाउनु पर्ने छ ।

अपनाउनुस् यी चार प्रकृयाः

पहिलो त, शेयरधनीले हितग्राही(डिम्याट) खाता खोली आफूले खाता खोलेको निक्षेप सदस्य(डीपी) कोमा गएर आफ्नो प्रमाणपत्र डिम्याट गराउनु पर्ने छ । त्यस्तै, डिम्याट खातामा अनिवार्य बैंक खाता अद्यावधिक(अपडेट) गराउनु पर्ने छ ।

दोश्रो, डिम्याट गराइसकेको तर डिम्याट खातामा बैंक खाता अपडेट नभएको शेयरधनीले डीपीकोमा गएर बैंक खाता अपडेट गराउनु पर्ने छ ।

तेश्रो, शेयरधनीहरुले हितग्राही खातामा अपडेट भएको बैंक खातामा लाभांश वितरणको सूचना जारी भएपछि लाभांश बापतको रकम आईपीएस मार्फत साधारणतया ३ दिनदेखि १५ दिनभित्रमा सोही खातामा आफै आउने छ ।

चौथो, बैंक खाता अपडेट गरेको बढीमा १५ दिनभित्र नगद लाभांश खातामा जम्मा हुने हुँदा सो नभएमा शेयरधनीले आफूले खाता खोलेकोे डीपीमा गई आफ्नो बैंक खाताको विवरण रुजु(पुष्टि) गर्नुपर्ने छ । पुष्टि गर्दा फरक भेटिएमा सच्याउने र सही रहेता पनि बैंक खातामा जम्मा नभएको खण्डमा मात्र सम्बन्धित कम्पनीको शेयर रजिष्ट्रार कम्पनीमा सम्पर्क गुर्नपर्ने छ ।

यो सँगै शेयरधनीले विशेष ध्यान दिनुपर्ने कुरा के भने सीडीएससीबाट हरेक हप्ताको बिहीबार मात्र अद्यावधिक भएको शेयरधनीको लगत(अपडेटड डाटा बेस) उपलब्ध हुने भएकाले रजिष्ट्रार कम्पनीले शुक्रबारदेखि मात्र प्रशोधन कार्य शुरु गर्ने छ ।

किन जम्मा हुँदैन बैंक खातामा लाभांश ?

डिम्याट खातामा उल्लेख भएको बैंक खाता नम्बर र नाम वास्तविक बैंक खाता नम्बर र नामसँग हुबहु नभएको खण्डमा शेयरधनीहरुको नगद लाभांश बैंक खातामा जम्मा हुँदैन।

Share News