यूनिभर्सल पावरको आईपीओ आजदेखि खुल्यो, ५० लाख कित्तासम्म भर्न पाइने
काठमाडौं । यूनिभर्सल पावर लिमिटेडले आज शुक्रबारदेखि ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ९३ लाख २७ हजार ४१० कित्ता सेयरको बिक्री शुरु गरेको हो । कम्पनीले आजोजना प्रभावित क्षेत्रका वासिन्दाहरूलाई बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको १७ लाख ६६ हजार १५० कित्ता समेत गरी सो मात्राको सेयरको बिक्री खुला गरेको जनाएको छ । सो मध्ये एक लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारीलाई, ४ लाख ६६ हजार १५० कित्ता सामूहिक लगानी कोष र बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री शुरु गरेको छ । उक्त सेयरमा इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको कम्पनीको सेयर बिक्री प्रवन्धकको काम नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ । साथै, यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ लाख ३५० कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ ।
बजार सामान्य अंकले घट्यो, जोशी हाइड्रोका लगानीकर्ताले गुमाए ८ प्रतिशत
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य ०.१५ अंकले घटेको छ । उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर ११३९.५७ अंकमा अडिएको छ । बजारमा परिसूचक घटेपनि सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले बढेर २४२.६१ अंकमा पुगेको छ । सो दिन १६४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये नेपाल इन्स्योरेन्स कम्पनी र सोल्टी होटलको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड बढीको सेयर कारोबार भएको छ । सामान्य अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ८.६४ प्रतिशत गुमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १९ रुपैयाँले घटेर प्रतिकित्ता २०१ रुपैयाँमा कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.०३ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको सूचक ४३.५७ अंकले घटेको छ । त्यस्तै, बाँकी चार समूह सामान्य अंकले उकालो लागेका छन् भने अन्य ४ समूहको सूचक राताम्मे देखिएको छ ।
तीन संस्थाको ३२ लाख कित्ता सेयर सूचिकृत, कुन कुनको कति ?
काठमाडौं । बिहीबार विभिन्न तीन संस्थाको ३२ लाख १८ हजार १३७ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी र हाम्रो विकास बैंकको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । सो मध्ये नयाँ नेपाल लघुवित्त र सिटी एक्स्प्रेस फाइनान्सको हकप्रद र हाम्रो विकास बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो । नयाँ नेपाल लघुवित्तको ६ लाख र सिटी एक्स्प्रेसको २५ लाख कित्ता हकप्रद थपिएको छ । त्यस्तै, हाम्रो विकास बैंकको एक लाख १८ हजार १३७ कित्ता बोनस सेयर नेप्सेमा सूचिृकत भएको छ ।