साधना लघुवित्तको १८.९५ प्रतिशत लाभांश पारित, सञ्चालकमा २ जना निर्वाचित
काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्थाकाे प्रस्तावित १८.९५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाकाे चाैथाे वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १८ प्रतिशत बोनस सेयर र ०.९४७३ प्रतिशत नगद गरी १८.९५ प्रतिशत लाभांश पाउने भएका छन् । संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा होटल गोरखा बिसौनीमा सम्पन्न भएको सभाले सर्वसाधरण समुहबाट पुष्पा कुमारी घिमिरे तथा दिनेश अर्याललाई सञ्चालकको रुपमा सर्बसम्मत निर्वाचित गरेकाे छ । साथै, सभाले आर्थिक वर्ष २०७७/०७८ को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक एस.डि एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ साथै साधारण सभाले मर्जर/प्राप्तीको लागि संचालक समितिलाई अख्तियारी दिएको छ । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्तालाई उत्कृष्ठ प्रतिफल दिनको लागी पर्ने बताए । हाल संस्थाको ७० वटा शाखा कार्यालयहरुमार्फत करिब ६० हजार घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना चयन
काठमाडाैं । नेपाल बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंककाे ६१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीकाे १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश पाउने भएका छन् । यस्तै, सभाले बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरि १२ अर्ब ६३ कराेड रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेकाे छ । साथै, साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भएकाे छ । जसमा विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका हुन् । बैंकको ६१औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
वोमी लघुवित्तको ३० प्रतिशत लाभांश पारित, स्वयं सेवक लघुवित्तलाई गाभ्न तोकियो स्वाप रेसियो
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशतका दरले ८ करोड ३३ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ । संस्थाको सभा काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा संस्थाकी अध्यक्ष विन्दीया श्रेष्ठ प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो । साथै, सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ । हाल संस्थाले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरु मार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्ब रुपैउाँ तथा बचत रकम १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।