वोमी लघुवित्तको ३० प्रतिशत लाभांश पारित, स्वयं सेवक लघुवित्तलाई गाभ्न तोकियो स्वाप रेसियो

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशतका दरले ८ करोड ३३ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ । संस्थाको सभा काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा संस्थाकी अध्यक्ष विन्दीया श्रेष्ठ प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो । साथै, सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ । हाल संस्थाले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरु मार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्ब रुपैउाँ तथा बचत रकम १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।

गुडविल फाइनान्सको १२ प्रतिशत लाभांश पारित, सेयरधनीले आजै पाउने

काठमाडौं । गुडविल फाइनान्स (वित्तीय संस्था) को प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ८.४ प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश पाउने भएका छन् । साथै, सभाले पारित गरेको ३.६ प्रतिशतले हुन आउने नगद लाभांश सोहि दिन सेयरधनीको खातामा पठाइएको संस्थाले जानकारी गराएको छ । संस्थाको २६ औ वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भयो । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा २३.१८ प्रतिशतले वृद्धि गरी ८ अर्ब ४९ करोड रुपैयाँ कर्जा तर्फ १५.८८ प्रतिशतले वृद्धि गरी ६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानीकर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको जानकारी गराए ।

विजय लघुवित्तको २० प्रतिशत लाभांश पारित, मर्ज तथा प्राप्तीकाे लागि सञ्चालक समितिलाई अख्तियारी

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत गरी २० प्रतिशत लाभांश पाउने भएका छन् । १९ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २६ करोड ६५ लाख रुपैयाँ पुगेको छ । संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/०७७ को संचालक समितिको प्रतिवेदन, २०७७ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका आर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त वार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत  वार्षिक प्रतिवेदन माथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए । त्यस्तै, कार्यक्रमको संचालन संस्थाका नायव कार्यकारी अधिकृत/कम्पनी सचिव नारायण सापकोटाले गरेको थिए । संस्थाले कोभिड-१९ को कारण हुन सक्ने संक्रमणको जोखिम र नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाई समेत मध्यनजर गर्दै वार्षिक साधारण सभामा भौतिक रुपमा साथै भर्चुअल माध्यमबाट भाग लिन सक्ने गरी व्यवस्था मिलाएको थियो ।