कृषि विकास बैंककाे २ अर्ब ५० करोड ऋणपत्र जारी, व्याज वार्षिक १०.३५ प्रतिशत
काठमाडाैं । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निश्कासन गरेको छ । सेयर बजार उकालो लागि रहेको बेला बैंकले सो रकमको ऋणपत्र निश्कासन गरेको हो । बैंकले आगामी ७ वर्षका लागि बार्षिक १०.३५ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेकाे हाे । ऋणपत्रका १०.३५ प्रतिशत व्याजदर अहिलेसम्म कै उच्च दर हाे । एडीबीएल कृषि बैक ऋणपत्र २०८३ माघ १४ गतेदेखि खुला गरिएकाे छ । छिटाेमा माग १७ गते र ढिलाेमा फागुन १४ गते निष्काशन बन्द हुने बैंकले जनाएकाे छ । प्रतिकित्ता एक हजार रूपैयाँ अंकित ऋणपत्र कम्तमा २५ कित्ता र बढीमा २ लाख २५ हजार कित्ता किन्न सकिनेछ । यसकाे निष्काशन तथा बिक्री प्रबन्धक एनअाइबी एस क्यापिटल हाे ।
माउभन्दा सहायक कम्पनी बोटलर्स नेपाल (तराई) को सेयर किन महंगो ? (समग्र विश्लेषण)
काठमाडौं । बोटलर्स नेपाल (तराई) ले कोकाकोला, फेन्टालगायत पेय पदार्थ उत्पादन गर्छ । कम्पनीले यो वर्ष पनि ४० प्रतिशत नगद लाभांश दिएको छ । यस्तै, कम्पनीमा इन्भेन्ट्रिज बढिरहेको छ भने माउ कम्पनी बोटलर्स नेपाल (बालाजु) को भन्दा बढी लाभांश दिएको छ । कम्पनीको सेयर मूल्य पनि माउ कम्पनीको भन्दा बढी छ । यही सन्दर्भमा बोटलर्स नेपाल (तराई) को अवस्था, सेयर बजारमा प्रभाव र लगानीको अवस्था जस्ता तथ्यमा आधारित भएर यो विश्लेषण तयार पारिएको छ । २०४४ सालतिर स्थापना भएको कोका कोला उत्पादक कम्पनी बोटलर्स नेपालको दोस्रो प्लान्टको रुपमा बोटलर्स नेपाल (तराई) को स्थापना भएको हो । बजार सेयर मूल्य (६ हजार २ सय रुपैयाँ) को आधारमा कम्पनी यो समूहमा दोस्रो स्थानमा छ । जबकि माउ कम्पनी बोटलर्स नेपाल (बालाजु) को समेत सेयर मूल्य यसकोभन्दा कम (१ हजार ८ सय ३०) रुपैयाँ छ । लगातार लाभांश नदिने माउ कम्पनीले यस बर्षसमेत लाभांश दिएन । यो कम्पनीमा बोटलर्स नेपाल (बालाजु) को ९०.७८ प्रतिशत सेयर र सर्वसाधारणको ९.२२ प्रतिशत लगानी छ । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु) मा कोकाकोला साउथ वेष्ट एशिया होल्डिङस्को ७६.१६ प्रतिशत लगानी छ । उत्पादन कम्पनीले अहिले कोकाकोला, स्प्राइट, फ्यान्टा, कोक जिरो, माजा र किन्ले जस्ता गैरमदिराजन्य पेय पद्धार्थ उत्पादन गर्दै आएको छ । विश्वविख्यात ब्राण्डका यी उत्पादन अधिकार यो कम्पनीसँग मात्रै रहँदै आएको छ । कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेअनुसार सन् २०१९ जुलाईसम्म समग्र पेय पद्धार्थको बजारमा कम्पनीको हिस्सा ७१ प्रतिशत छ । बोटलर्स नेपाल तराईले २५० एमएलका बोटल प्रतिमिनेट ७ सय ६६ वटा र ५ सय एमएलका ६ सय एमएल प्याक गर्न सक्ने सिंगल सर्भ प्याक मेसिनसमेत थपेको छ । कम्पनीले बार्षिक १७ लाख क्रेट (प्रति क्रेटमा २४ बोतल हुन्छ) उत्पादन गर्दै आएको छ । संस्थागत सुशासनमा अब्बल कम्पनीले संस्थागत सुशासनमा चार वर्षदेखि लगातार विभिन्न उपाधि हासिल गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान) ले यो विधामा दिने उपाधिमा सन् २०१५ मा सेकेण्ड रनरअप, २०१६ मा फस्र्ट रनरअप, २०१७ मा बिजेता र २०१८ मा फस्र्ट रनरअप हुन सफल भएको छ । माउ कम्पनीसँगै यो कम्पनी पनि पुरस्कृत भएको हो । लाभांश गत २० कात्तिकमा ३३औं बार्षिक साधारणसभा गरेको कम्पनीले ४० प्रतिशत नगद लाभांश प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले ५ वर्षमा औसतमा ३०.४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हालसम्म नगद लाभांश मात्रै प्रस्ताव गर्दै आएको छ । दुई वर्षदेखि उही दरमा लाभांश दिइरहेको छ । अन्य कम्पनीसँग कारोबार बोटलर्स नेपाल (बालाजु) बाट गत वर्ष कम्पनीले २१ करोड रुपैयाँको बिभिन्न करोबार गरेको छ । यस्तो कारोबारमा कच्चा पदार्थ खरिद बिक्रीदेखि अन्य करोबार छन् । वित्तीय अवस्था चालु आवको पहिलो त्रैमाशमा कम्पनीको सञ्चालनबाट आम्दानी (उत्पादन बिक्रीसहित) ४.३५ प्रतिशतले घटेपनि नाफा रकममा ८.४६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले उत्पादन र बिक्री खर्च कम गर्न सकेको कारण कुल नाफा मात्र होइन, खुद नाफा वृद्धिमै सहयोग पुगेको छ । कम्पनीले ३० करोड रुपैयाँ कमाएको छ । कम्पनीले उत्पादनको लागि स्टोर गरिने कच्चा पद्धार्थहरु वृद्धि भइरहेको जनाएको छ । पहिलो त्रैमाश अवधिमा बार्षिक ९२ करोड बराबरको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) छ । यो अवधिमा भने यसमा २१ प्रतिशतले बढेको छ । इन्भेन्ट्रिज बढिरहेमा यसले सामान बिग्रने सम्भावना समेत थप बढ्दै जान सक्ने संकेत गर्छ । कहिलेकाँकी भने उत्पादन बढाउने उद्देश्यले समेत इन्भेन्ट्रिजमा वृद्धि भइरहेको हुन सक्छ । बिक्री आम्दानी घटेकोले कच्चा पद्धार्थ थुप्रिएको हो कि भन्ने शंका गर्न सक्ने अवस्था भने छ । –निकै कम लगानीकर्ताको हातमा सेयर –निरन्तर नगद लाभांश –७६ प्रतिशत बजार हिस्सा –लगानीअघि पर्खनु उचित कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ९८ प्रतिशतले बढेर १ अर्ब ४८ करोड पुगेको छ । कम्पनीले लिनुपर्ने रकम भने ६१ प्रतिशतले घटेर २० करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बजारबाट पैसा उठाउन सकेको देखिन्छ । कम्पनीले बजारमा तिर्न बाँकी रकम बढेको भएपनि आत्तिनु पर्ने अवस्था भने छैन । दायित्व तिर्नै नसक्ने अवस्थामा मात्रै डराउनु पर्ने हो । कम्पनीको प्रतिसेयर आम्दानी (त्रैमाशिक) २ सय ४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६ गुणा र प्रतिसेयर नेटवर्थ २ हजार १ सय ९१ रुपैयाँ रहेको छ । कम्पनीको १ रुपैयाँको कमाईलाई बजारका लगानीकर्ताले २६ रुपैयाँसम्म हालिरहेको मूल्य आम्दानी अनुपातले देखाउँछ । कम्पनीको मूल्य खासै अधिमूल्यन भएको देखिदैन । यो नेटवर्थको ३ गुणा छ । सेयर विश्लेषण विगत १ वर्षमा १ सय ६ पटकमात्र कम्पनीको सेयर किनबेच भएकोमा गत १८ दिनमा १० पटक कारोबारमा आएको छ । यसले कारोबारमा तीव्रता आएको देखिन्छ । पछिल्लो १ वर्षमा कम्पनीको सेयर कारोबार दैनिक औसत ८८ कित्ताको दरमा भइरहेको छ । कम्पनीको सेयर निकै कम मानिसको हातमा छ । कम्पनीको आरएसआई सूचक ५३.९७ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । बोनस सेयर समायोजन पछि ७ दिने रेखा २१ दिनेभन्दा मुनि रहेको भएपनि केही समयअघि मात्रै माथि उक्लिएको छ । अर्थात् गोल्डेन क्रस भएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर, यी रेखा निकै नजिकिएकोले ध्यान दिनुपर्ने देखिन्छ । २१ दिनेभन्दा माथि लागेमा डेथ क्रस हुनेछ र मूल्य केही समय घट्नेछ । पीभट विश्लेषणले आगामी महिना काराबोरमा ६ हजार ३ सय ९५ मा पहिलो प्रतिरोध र ६ हजार ८ मा पहिलो टेवा पाउने संकेत गर्छ । कम्पनीको सेयर मूल्यले सात कारोबार दिन अगाडी ठूलो सेतो मैनवत्ति र त्यसपछि कालो मैनवत्ति बनाएको छ । कालो मैनवत्तिको शरीर सेतोको शरीर भन्दा बाहिर गएको छैन । यसले हरामी वियरिश आकृति बनाएको छ । मूल्य घट्ने यसको संकेत भएपनि यो दरिलो संकेत भने होइन । तर, पछिल्ला दिनमा पनि मूल्य सेतो मैनवत्तिले बनाएको उच्चमूल्य माथि जान नसकेकोले मूल्य बढिहाल्ने सम्भावना कम नै देखिन्छ । थोरै कित्ता सेयर कारोबार हुने यो कम्पनीको प्रविधिक विश्लेषणले केही संकेत गरेपनि पूर्णत सही संकेत नदिन पनि सक्छ । आगामी कारोबार हेरेरै लगानी गर्नु उचित हुन्छ ।
साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार
काठमाडाैं । गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गर्यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित गर्यो । लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर पाँच कारोवार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ । साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर ६ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिदबिक्री भयो । साताको पहिलो दिन आइतबार नेप्से ४२.६१ विन्दुले बढ्यो । सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भए । सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोवार भयो । आइतबार र सोमबार बजार बढ्दा मङ्गलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो । मङ्गलबार नेप्से परिसूचक ७.४८ अङ्कले घट्यो । उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर १ अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ रूपैयाँमा खरिदबिक्री भयाे । माघको पहिलो दिन परिसूचक २०.८५ अङ्कले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको ९० करोड ४८ लाख १३ हजार ९३२ रूपैयाँमा कारोवार भयो । साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो । बिहीबार नेप्सेमा २६ अङ्कको सुधार देखियो । बिहीबार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भयो । यस्तै यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भए । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि ७ करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए । रासस