सेञ्चुरी बैंकले पौने ७ प्रतिशत लाभांश दिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई पौने ७ अर्थात ६.७५ प्रतिशत लाभांश दिने घोषणा छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले असार मसान्तमा कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । २ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ नाघ्ने छ ।

बजार घट्दा तीन कम्पनीको मूल्यमा लाग्याे सर्किट ब्रेक

काठमाडौं । बिहीबारको सेयर बजार ८.६७ अंकले घटेर १३३३.६९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले घटेर २८४.०५ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार एक अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार दिनभरको बजारमा १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता सेयर किनबेच भएको छ । बजारमा बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बिहीबार जीवन बीमा र उत्पादनमूलक दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । निर्जीवन बीमा समूह ८८, होटल २५, माइक्रोफाइनान्स १७, विकास बैंक ११ र बाँकी समूह सामान्य अंकले घटेका छन् । जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः २३.८७ र १.६७ अंकले उकालो लागेका छन् । परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकका र सम्वृद्धि फाइनान्स दुबै संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत अर्थात ९.९७ प्रतिशत कमाएका छन् ।

साढे ३ अर्बकाे ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्शियल बैंक, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएकाे छ । त्यसका लागि बैंकले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतपत्रमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । बैंकले साढे दश प्रतिशत ब्याजदरको आठ वर्षको समयावधिमा फिर्ता भुक्तानी गर्ने गरी रू एक हजार अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने छ ।