इन्फ्रास्ट्रचर बैंककाे शेयर प्रत्याभूतिमा नागरिक लगानी कोष

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे साधारण शेयर निष्काशन तथा धितोपत्र प्रत्याभूतिमा नागरिक लगानी कोष नियुक्त भएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको रु.१०० अंकित दरको ८ करोड कित्ता साधारण सेयर निष्काशन गर्न काेषलाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) मा नियुक्त गरेकाे हाे । सो प्रत्याभूति सम्बन्धी सम्झौतापत्रमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् । नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पुँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रूपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रूपैयाँ पुग्ने छ । जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

१० कित्ते नीति मलाई मन परिरहेको छैन, अध्ययन गरेर निर्णय गर्छाैंः बोर्डका अध्यक्ष ढुंगाना

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर भर्ने सबैलाई सेयर दिने नीतिमा पुनर्विचार गर्ने बताएका छन् । सबैलाई सेयर दिने नीति कार्यान्वयन गर्दा लगानीकर्ताको लागत नै नउठ्ने अवस्था रहेकोले पुनर्विचार आवश्यक रहेको बताएका हुन् । बोर्डले केही वर्ष अगाडिदेखि सेयर भर्ने जति सबैले कम्तिमा १० कित्ता सेयर पाउने नीतिगत व्यवस्था कार्यान्वयन गरिरहेको छ । बोर्ड अध्यक्ष भएको एक महिना पनि नवित्दै अध्यक्ष ढुंगानाले सो नीतिको प्रभावकारिता माथि अध्ययन गर्न लागेका हुन्। ‘सबै नीति र कार्यक्रमहरु समय सापेक्ष हुन्छन्, पर्याप्त मात्रामा साधन नभएका, केही सिकाउनु पर्ने र बानी पार्नको लागि त्यस्ता व्यक्तिका लागि १० कित्ता सेयर दिने नीति ठिकै हो तर कोही मान्छे लगानीकर्ताको रुपमा बजारमा आउँछ भने उसलाई १० कित्ता दिनु ठीक होइन,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । १० कित्ता सेयर किनेपछि पनि डिम्याट गराउनु पर्ने भएकोले त्यसमा पर्ने लागत, डिम्याट खाता त्यसै हेर्न नमिल्ने भएकोले इन्टरनेट चलाउनु पर्ने, डिभिडेन्ट खातामा जम्मा गर्दाको शुल्क तथा सो सेयर बिक्री गर्दा लाग्ने खर्च जस्ता कारणले यो नीति त्यति ठीक नदेखिएको उनको भनाइ छ । ‘स्थानीय जनतालाई १० कित्ता दिनै पर्ने नीति ठिक हो, लगानीकर्ताको लागि ठीक होइन, यसलाई हामीले समय सापेक्ष रुपमा परिवर्तन गर्नुपर्छ, यसको लागि एक पटक अध्ययन गरेर हेरौं के कस्तो असर परेको पाइदो रहेछ, मलाई व्यक्तिगत रुपमा भने ठीक लागिरहेको छैन,’ अध्यक्ष ढुंगानाले थपे ।

सानिमा बैंकसहित दुई संस्थाको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संथाको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सानिमा बैंक र गरिमा विकास बैंकको कूल एक करोड २५ लाख ४ हजार ४६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सानिमा बैंकको कूल ८० लाख एक हजार २५५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१४ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ । आइतबारको बजारमा दुबै संस्थाको सेयर मूल्य बढिरहेको छ । साढे १ बजेसम्म सानिमा बैंकको सेयर मूल्य ८ रुपैयाँले बढेर प्रतिकित्ता ३५५ रुपैयाँ पुगेको छ । त्यस्तै, सोही अवधिसम्म गरिमा विकास बैंकको सेयर मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।