काठमाडौं । गुडविल फाइनान्स (वित्तीय संस्था) को प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ८.४ प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश पाउने भएका छन् ।
साथै, सभाले पारित गरेको ३.६ प्रतिशतले हुन आउने नगद लाभांश सोहि दिन सेयरधनीको खातामा पठाइएको संस्थाले जानकारी गराएको छ ।
संस्थाको २६ औ वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भयो । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा २३.१८ प्रतिशतले वृद्धि गरी ८ अर्ब ४९ करोड रुपैयाँ कर्जा तर्फ १५.८८ प्रतिशतले वृद्धि गरी ६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानीकर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको जानकारी गराए ।