तारागाँउ रिजेन्सी होटलले घोषणा गर्यो गत वर्षको लाभांश

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । होटल्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । जसलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् । हाल होटल्सको चुक्ता पुँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यसको १० प्रतिशत लाभांश कर सहितले १८ करोड ८३ लाख ६५ हजार ४ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश अघिल्लाे आर्थिक वर्षकाे तुलनामा २ प्रतिशतले कम हाे । हाेटल्सले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

बुक बिल्डिङ्गमार्फत सेयर जारी गर्न ४६ संस्था मात्रै योग्य, कुन कुन ?

काठमाडौं । बुक बिल्डिङ्ग बिधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न ४६ संस्था मात्रै योग्य रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार निवेदन परेका ६२ संस्थाहरुमध्ये ४६ वटा संस्था मात्रै योग्य रहेका हुन् । बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो । योग्य संस्थागत लगानीकर्तामा ४ वाणिज्य बैंक पनि रहेका छन् । २७ वाणिज्य बैंकमध्ये ग्लाेबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि बुक बिल्डिङ्ग मार्फत सेयर जारी गर्न पाउने भएका छन् । यससँगै योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजानिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ । कुन कुनले पाए स्वीकृति ?

गणपति लघुवित्तले घोषणा गर्यो उच्च लाभांश

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो आवको तुलनामा बढी हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो । पुस २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ नाघ्ने छ ।