एनएमबि लघुवित्तको सेयर रजिष्टारमा एनएमबि क्यापिटल र सञ्चालकमा पाठक पुनः नियुक्त
काठमाडौं । एनएमबि लघुवित्तको सेयर रजिष्टारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । कार्त्तिक ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको सेयर रजिष्टारमा एनएमबि क्यापिटललाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । त्यस्तै, सोहि बैठकले संस्थाको सञ्चालकमा पुनः रोमणीप्रसाद पाठकलाई नियुक्त गरेको छ । पाठकले एनएमबि बैंकबाट यो लघुवित्तमा प्रतिनिधित्व गर्दै आएका छन् ।
नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक १२ गते एकैदिन आशा लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १५१९.९२ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १८९९.९० रुपैयाँमा भएको थियो । त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता १५९० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता १२७२ रुपैयाँ कायम भएको छ । यससँगै, अबको कारोबारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यदेखि नै हुने छ ।
उन्नति सहकार्य लघुवित्तले ३२ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक १२ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले नगद नभई बोनस सेयर मात्रै दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १७ करोड ३२ लाख रुपैयाँ रहेको छ । ३२ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी २२ करोड ९५ लाख रुपैयाँ नाघ्ने छ । प्रस्तावित ३२ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा झण्डै दुई गुणा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल १७.८१०३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।