काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको र बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतलाई साक्षी राखेर सेयर बजारमा चलखेल गर्न लागेका छन् ।
बजार खुलेकै समयमा अर्थमन्त्री शर्माले बोर्ड अध्यक्ष रमेशकुमार हमाल र नेप्सको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई अर्थमन्त्रालयमा बोलाएर पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमै मन्त्री शर्माले पुँजी बजारका समस्या समाधान गर्न दुबै निकायका प्रमुखलाई निर्देशन दिए । यस्तै, दुबै निकायका प्रमुखले बजारको वर्तमान अवस्था र अवको सुधारका विषयमा प्रस्तुतीकरण दिएका छन् ।
मन्त्री शर्माले आजको सेयर बजारलाई प्रभावित पार्ने गतिविधि गरेका हुन् । बजार खुलेको समयमा अर्थमन्त्रीले नियामक निकाय र बजार संचालकको प्रमुखलाई बोलाएर यसो गर या उसो गर भनेर पत्रकार सम्मेलन मार्फत निर्देशन दिने कार्य उनको पदीय मर्यादा विपरितको कार्य हो ।
अर्थमन्त्री शर्माले नियामक निकाय र बजार संचालकलाई बजार सुधान गर्न निर्देशन दिने नाममा सेयर बजारमा खुल्लेआम ‘स्पेकुलेसन’ गरेका छन् ।
‘मौद्रिक नीति प्रायजसो शुक्रबार ल्याउने गरिन्छ, किनभने शुक्रबार बजार बन्द हुन्छ, शनिवार पनि बजार खुल्दैन, त्यसैले यी दुई दिन मौद्रिक नीतिले बजारमा पार्ने असरप्रति लगानीकर्ताले राम्ररी सोच्न पाउँछन् भन्ने अपेक्षा गरिन्छ, यहाँ त अर्थमन्त्रीले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई बजार खुलेकै समयमा बोलाएर सार्वजनिक संचारमाध्यमबाट निर्देशन दिए, बजारमा अर्थमन्त्रीले गर्ने योभन्दा ठूलो हस्तक्षेप अर्काे हुनै सक्दैन, योस्तरको अनैतिक कार्यगर्ने अर्थमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट हटाउनु पर्ने हो तर, त्यस्तो हुँदैन होला,’ धितोपत्र बोर्डका एक पूर्व अध्यक्षले भने ।
अर्थमन्त्री शर्माले बजार सुधारको लागि भन्दै आज बजार खुलैकै समयमा जे जस्तो कार्य गरेका छन्, यो कार्य अनैतिक कार्य नै हो । पदीय आचरणबाट च्युत भएको प्रमाण हो । अर्थमन्त्री शर्मालाई बजार सुधारका नाममा वा लगानीकर्ताको हित संरक्षणको नाममा यो प्रकारको तमासा प्रदर्शन गर्ने छुट छैन, दिनु हुँदैन ।