२.९५ प्रतिशतले बढ्यो नेप्से, एक महिनायताकै उच्च कारोबार
काठमाडौं । मंगलबारको सेयर बजार २.९५ प्रतिशतले उकालो लागेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८२ अंकले उकालो लागेर २७५१.०७ बिन्दुमा पुगेको हो । बजारमा परिसूचसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबारको बजारमा कूल ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत एक महिनायताकै उच्च हो । गत असोज ११ गतेयता सो मात्राको सेयर कारोबार भएको थिएन । सो दिन २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये कामना सेवा विकास बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ७१९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ९ रुपैयाँले बढी हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा क्रमशः नबिल र एनआईसी एशिया बैंक रहेका छन् । जसमध्ये नबिलको ३४ करोड ७८ लाख र एनआईसी एशियाको २४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता १५६९ र ८३७ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा नबिलको ७२ र एनआईसी एशियाको सेयर मूल्य १ रुपैयाँले बढी हो । त्यस्तै, उच्च अंकले बढेको बजारमा १८ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । जसमध्ये अधिकांश हाइड्रो समूहका कम्पनीहरु रहेका छन् । मंगलबार १२ वटा स्क्रिप्टमा झिनो गिरावट देखिएको छ । जसमध्ये साना किसान विकास बैंकको सेयर मूल्य २ प्रतिशत अर्थात ३५ रुपैयाँले घटेको छ । मंगलबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । त्यसमा पनि जीवन बीमा समूह ४९९.९८ अंकले उकालो लागेको छ ।
एशियन लाइफ इन्स्योरेन्सले अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । नयाँ बोनसदर अनुसार इन्स्योरेन्सको सावधिक तथा आजीवन बीमालेखका बीमितले न्यूनतम ५० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने छन् । बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ३८ देखि अधिकतम ६० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, सावधिक जीवन बीमालेखका बीमितले पनि न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने छन् । यो बीमालेखको १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने छ । त्यसैगरी, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस एशियन वार्षिक धनलाभ योजनाका बीमितले न्यूनतम ३२ देखि अधिकतम ५८ रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने उक्त दाबीहरुमा समेत सोही बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।
नेपाल सेवा र विन लघुवित्तले कार्त्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्थाले आगामी कार्त्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई एक आपसमा गाभेर विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेको हो । जसकाे लागि दुई संस्थाले गत भदाै १५ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए । उक्त स्वीकृति पाएसँगै संस्थाले एकीकृत काराेबारकाे मिति तय गरेकाे हाे । दुई संस्थाले २०७७ मंसिर ३० गते मर्जरमा जान प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेका थिए । उक्त मर्जरसम्बन्धी प्रस्ताव दुबै संस्थाको साधारण सभाले पारित गरेको थियो । सभाले १ः०.७५ को अनुपातमा सेयर आदानप्रदान गर्ने सहमति गरेको थियो । यससँगै विन लघुवित्तको १०० कित्ता सेयर हुनेले नेपाल सेवाको ७५ कित्ता सेयर पाउने छन् । उक्त मर्जर प्रयोजनको लागि नेपाल सेवाको २०७७ पुस १ गतेदेखि सेयर कारोबार बन्द भएको थियो । अब एकीकृत कारोबार भएको केही दिनभित्रै संस्थाको सेयर कारोबार खुल्ने छ । एकिकृत कारोबारपश्चात बन्ने विन नेपाल लघुवित्तको केन्द्रिय कार्यालय सिन्धुपाल्चोकको मेलम्चीमा रहेको छ । संस्थाको अधिकृत पुँजी २० करोड र जारी तथा चुक्ता पुँजी ७ करोड ७१ लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकले विभिन्न १७ वटा शर्तहरुसहित नेपाल सेवा र विन लघुवित्तलाई अन्तिम स्वीकृति दिएको हो । यस्ता छन् शर्तहरू (१) “बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३, (चौथो संशोधन, २०७५)”, प्रचलित कानून तथा यस बैंकबाट जारी एकीकृत निर्देशनलगायत अन्य नीति निर्देशनहरूको पूर्ण पालना गरी वित्तीय कारोबार सञ्चालन गर्नुपर्नेछ। (२) गाभ्ने /गाभिने दुबै संस्थाले आ-आफ्नो साधारणसभाबाट निर्णय गरेबमोजिम नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम हुने शेयर स्वाप अनुपात १:०.७५ अनुसार शेयर पूँजी मिलान गर्नुपर्नेछ। (३) धितोपत्र कारोबार ऐन, नियमावली र प्रचलित बैंक तथा वित्तीय संस्थासम्बन्धी कानूनबमोजिम गाभिएर कायम हुने शेयरको सूचीकरण गर्नुपर्नेछ । शेयर स्वाप अनुपातको आधारमा तय हुने शेयरलाई साविकका दुबै संस्थाका सम्पूर्ण शेयरधनीहरूले गाभिएर कायम हुने संस्था विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्न सक्ने आवश्यक व्यवस्था मिलाई रोक्का राखिएको धितोपत्र कारोबार फुकुवाको प्रबन्ध गर्नुपर्नेछ । (४) गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय मेलम्ची न.पा.-१३, सिन्धुपाल्चोकमा राख्नु पर्नेछ । (५) गाभ्ने/गाभिने संस्थाको कुनै शाखा कार्यालय अर्कोमा गाभ्नु परेमा वा अन्यत्र स्थानान्तरण गर्नु परेमा सोको आवश्यकता तथा औचित्यता खुलाई स्वीकृतिको लागि बैंक तथा वित्तीय संस्था नियमन विभागमा पुनः पेश गर्नुपर्नेछ । (६) एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी स्वीकृति प्राप्त भएपछि दुबै संस्थाले एकीकृत कारोबार थालनी गर्ने मिति खुलेको व्यहोरा सर्वसाधारणको जानकारीका लागि निर्णय प्राप्त गरेको मितिले १५ (पन्ध्र) दिनभित्र कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तिमा २ (दुई) पटक सूचना प्रकाशन गर्नुपर्नेछ । (७) यस बैंकबाट अन्तिम स्वीकृतिको पत्र प्राप्त गरेको १ (एक) महिनाभित्र दुबै संस्था एक आपसमा गाभिएर एकीकृत रुपमा वित्तीय कारोबार शुरु गरिसक्नु पर्नेछ । सो अवधिभित्र गाभ्ने/गाभिने दुबै संस्थाको तथ्याङ्कलाई एकीकत गरी गाभिएको दिनदेखि एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्ने व्यवस्था मिलाउनु पर्नेछ । साथै, गाभिए पश्चात् एकीकृत वित्तीय विवरणहरू तयार गरी (गाभिएको दिनको समेत) बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागका साथै कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायत अन्य सम्बन्धित निकायहरूलाई जानकारी दिनुपर्नेछ। (८) गाभिने संस्थाको नाममा रहेको वित्तीय कारोबार गर्नेसम्बन्धी इजाजतपत्रहरूलाई रद्द गरी गाभ्ने संस्थाको इजाजतपत्रमा आवश्यक संशोधन गर्नपर्ने भएकोले एकीकृत कारोबार गर्नपूर्व दबै संस्थाको सक्कल इजाजतपत्रहरू यस बैंकसमक्ष पेश गर्नुपर्नेछ । (९) गाभ्ने/गाभिने दुबै संस्थाहरूको अन्तिम दिनसम्म कायम रहेको लेखामा उल्लेख भएको मूल्यमा सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू समायोजन गरी गाभिएर कायम हुने संस्थाको हिसाबमा लेखांकन गर्नपर्नेछ । यसपछि गाभ्ने/गाभिने दुबै संस्थाहरूबाट भए/गरेका काम कारवाहीहरू गाभिएर कायम हुने संस्थाबाट भए/गरेको मानिनेछ । साविकका दुबै संस्थाले गाभिनु अघि गरेका करारीय दायित्वको कार्यान्वयन समेत गाभिएपछिको संस्थामा सर्नेछ । (१०) गाभ्ने/गाभिने कार्यपश्चात् शाखा कार्यालयहरूको कोडिङ्ग गर्ने सम्बन्धमा यस बैंकको सूचना प्रविधि महाशाखासँग समन्वय गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ। (११) गाभ्ने/गाभिने कार्य सम्पन्न गरेको मितिले एक वर्षसम्म गाभ्ने संस्थाको साइनबोर्ड तथा लेटरप्याडको तल्लो भागमा “नेपाल सेवा लघवित्त वित्तीय संस्था लिमिटेडले विन लघवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको” भन्ने ब्यहोरा उल्लेख गर्नुपर्नेछ । साथै, यसभन्दा अगाडि एक वर्षभित्र कुनै संस्थासँग मर्जर वा कुनै संस्थालाई प्राप्ति गरेको अवस्थामा उक्त संस्थाहरूको नाम समेत समावेश गर्नुपर्नेछ । (१२) गाभिएपछिको पहिलो वार्षिक साधारणसभाबाट बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरी निर्वाचनको माध्यमबाट सबै सञ्चालकहरू नियुक्त हुने व्यवस्था गर्नुपर्नेछ । (१३) गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरूको गाभिएर कायम हुने संस्थामा पद मिलान गर्दा निजहरूले साविकमा खाईपाई आएको तलब, भत्ता तथा सुविधाहरू नघट्ने गरी गर्नुपर्नेछ । (१४) गाभिएपछिको संस्थामा लागू हुने कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली तथा कर्जा अपलेखन विनियमावली यस बैंकको स्वीकृतिका लागि अनिवार्य रुपमा पुनः पेश गर्नुपर्नेछ । (१५) गाभ्ने/गाभिने दुबै संस्थालाई यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागबाट दिइएका निर्देशनहरूको सुधार तथा कार्यान्वयन गाभिएर कायम हुने संस्थाबाट तोकिएकै समयभित्र गर्नुपर्नेछ। (१६) गाभ्ने/गाभिने क्रममा दुवै संस्थाबीच निर्धारित शेयर स्वाप अनुपातअनुसार पूँजी मिलान गर्दा वार्गेन पर्चेज गेन आउने भएमा गाभ्ने संस्थाले विद्यमान लेखामानअनुसार सम्बन्धित शीर्षकमा आम्दानी जनाई नियमानुसार लाग्ने कर कट्टी गरी पूँजीगत जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । (१७) गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी बाँकी काम कारवाहीहरू “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३, (चौथो संशोधन २०७५)” बमोजिम गर्नुपर्नेछ ।