११ वाणिज्य बैंकको लाभांश विश्लेषणः सबैभन्दा बढी प्रतिफल हिमालयन बैंकको, कम चार्टर्डको
काठमाडौं । वाणिज्य बैंकहरुले गत वर्षसम्मको कारोबारका आधार कमाएको रकमबाट प्रदान गर्ने लाभांश घोषणा गरिरहेका छन् । बैंकहरुले दिएको लाभांशबाट अहिलेको सेयर मूल्य अनुसार कति प्रतिफल पाइन्छ भन्ने विश्लेषण यहाँ गरिएको छ । चालु आर्थिक वर्षमा ११ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । जसअनुसार सिटिजन्स बैंकले १६ प्रतिशत, ग्लोबल आईएमई बैंकले १३.५ प्रतिशत, हिमालयन बैंकले २६ प्रतिशत, कुमारी बैंकले ८.६७ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत र नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् । यस्तै, नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सानिमा बैंकले १७.८९ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३.०६ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । लाभांश घोषणा गरेका बैंकहरुको औसत लाभांश दर भने १५.६९ प्रतिशत छ । बुकक्लोज अघिको बजार मूल्यलाई आधार मान्दा लाभांश घोषणा गरेकामध्ये सबैभन्दा बढी फाइदा हिमालयन बैंकका सेयरधनीलाई भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेका कारण सेयर कारोबार रोकिएकोले पनि हिमालयन बैंकका सेयरधनीले बढी प्रतिफल प्राप्त गरेको देखिएको हो । सेयर कारोबार नरोकिएको भए हिमालयन बैंकको सेयर मूल्य पनि बढेर सो बैंकका सेयरधनीले पाउने प्रतिफल कम हुने देखिन सक्थ्यो । यद्यपि, यो केबल अनुमान मात्रै हो । बैंकहरुले लाभांश घोषणा गरिसकेपछि बुक क्लोज भएकाहरुको हकमा भने बुक क्लोज हुने दिनको बजार मूल्य र अन्य बैंकहरुको हकमा कात्तिक ७ गतेको सेयर कारोबार बन्द हुँदाको समयमा कायम भएको मूल्यका आधारमा लाभांश प्रतिफल हिसाव गरिएको हो । यस्तो हिसाव अनुसार हिमालयन बैंकका सेयरधनीले सबैभन्दा बढी अर्थात ५.३७ प्रतिशत प्रतिफल पाएका छन् । यस्तै, सिटिजन्स बैंकका सेयरधनीले ४.०२ प्रतिशत, ग्लोबल आईएमई बैंकका सेयरधनीले ३.६१ प्रतिशत, कुमारी बैंकका सेयरधनीले ३.२८ प्रतिशत, माछापुच्छ्रे बैंकका सेयरधनीले ३.८४ प्रतिशत र नेपाल बंगलादेश बैंकका सेयरधनीले ३.९४ प्रतिशत प्रतिफल पाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सेयरधनीले सबैभन्दा कम अर्थात २.४६ प्रतिशत प्रतिफल पाएका छन् ।
गुराँस लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३४८.०९ रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १५७६ रुपैयाँमा भएको थियो ।
सिद्धार्थ बैंकले घोषणा गर्यो स्थिर लाभांश
काठमाडौं । सिद्धार्थ बैंकले स्थिर लाभांश घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत लाभांश घोषणा गरेको बैंकले गत आर्थिक वर्षको पनि कूल १५ प्रतिशत नै लाभांश घोषणा गरेको छ । कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो वर्षको तुलनामा बोनस र नगदमा तलमाथि गरी कूल लाभांशदर भने बराबर प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा बोनसदर बढी हो भने नगद लाभांश दर घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।