४८ हजार ७ सय ९० जनाले पाए जाल्पा सामुदायिक लघुवित्तको आईपीओ, कसरी हेर्ने रिजल्ट ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ ४८ हजार ७ सय ९० जनाले मात्रै पाएका छन् । उक्त आईपीओ रितपूर्वक आवेदन दिनेमध्ये सो मात्राको आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका हुन् । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सेयर बाँडफाँड गर्दै सो जानकारी गराएको हो । क्यापिटलका अनुसार संस्थाको आईपीओमा २७ लाख ९ हजार ८५५ जनाले ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये १ लाख १८ हजार १५३ जनाले दिएको २४ लाख ३० हजार ३० कित्ता आवेदन रिजेक्ट भएका छन् । साथै, ४ हजार २९० जनाले ५० हजार ६०० कित्ताको लागि दिएको आवेदन दुब्लिकेट परेको क्यापिटलले जनाएको छ । यससँगै, कूल १ लाख २२ हजार ४४३ जनाले दिएको आवेदन रद्द भएको छ । क्यापिटलका अनुसार२५ लाख ८७ हजार ४१२ जनाले कूल ३ करोड ६ लाख ६६ हजार १९० कित्ताको लागि दिएको आवेदन भने रितपूर्वक रहेका थिए । उक्त रितपूर्वक आवेदन दिने आवेदकमध्ये ४८ हजार ७ सय ९० जनाले १० कित्ताको दरले सेयर हात पारेका क्यापिटलले जानकारी गराएको छ । उक्त आईपीओको रिजल्ट प्रभ क्यापिटलको वेवसाइट, सिडिएससिको वेवसाइट आईपीओ रिजल्ड सिडिएससी, र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको वेवसाइटबाट हेर्न सकिने छ । लघुवित्तले गत माघ २१ गतेदेखि माग २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको थियो । र, बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो ।
‘खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार भयो’
काठमाडौं । लगानीकर्ताहरुले सेयर बजारको नियामक निकायले बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गरेको महशुस गरेका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्षले सरोकारवाला र नियामक निकायले समय समयमा लिने नीति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गरेको बताएकी हुन् । बैंक तथा वित्तीय संस्थाले एकाएक निक्षेपको व्याजदर बढाएसँगै उनले सामाजिक सञ्जालमा सो विचार व्यक्त गरेकी हुन् । बैंकहरुले फागुन १ गतेदेखि नै लागू हुने गरी व्याजदर बढाएका हुन् जसको नकारात्मक प्रभाव सेयर बजारमा परेको र एकैदिन एक सय बिन्दुले बजार घट्न पुगेको छ । साथै, लगानीकर्ता पोखरेलले बजारमा थुप्रै चुनौति हुने भएकाले त्यसलाई सामना गर्दै धैर्यता नगुमाउन लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् । ‘सरोकारवाला र नियामक निकायले समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गरेको जस्तो लाग्न थालेको छ । जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती अवश्य हुन्छ । सेयर बजारलाई जती अवसरको खानीको रुपमा लिइन्छ, त्यसमा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामीले बिर्सनु हुँदैन । सेयर बजारलाई कतातिर डोहोर्याउने भन्ने कुरा लगानिकर्ताको मनोविज्ञानले नै तय गर्ने विषय हो । सबै लगानीकर्ता मित्रहरुले धैर्यता नगुमाउँनु होला र संयमका साथ जोखिम हेर्दै कारोबार गर्नुहोला,’ उनी लेख्छिन् ।
नेप्सेमा दुई बैंकको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार मात्रै एक वाणिज्य बैंक बैंक अफ काठमाण्डू र एक विकास बैंक लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये बैंक अफ काठमाण्डूको १० प्रतिशत अर्थात ९६ लाख ५८ हजार १७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, लुम्बिनी विकास बैंकको १३ प्रतिशत अर्थात ३७ लाख ७८ हजार ३८९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।