एक वर्षमै पुनः संशोधन भयो धितोपत्र दर्ता तथा निष्काशन नियमावली
काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्काशन नियमावली पाँचौ पटक संशोधन गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको हो । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद् निर्णय सार्वजनिक गर्दै सो बताएका हुन् । यसअघि चौथो पटक संशोधन भएको उक्त नियमावली एक वर्षको अवधिमै पुनः संशोधन भएको हो । उक्त संशोधित नियामावली गत २०७७ मंसिर २५ गतेदेखि हालसम्म लागू भइरहेको छ । यससँगै, अब पुनः संशोधन भएको उक्त नियमावली बोर्डको निर्णयअनुसार कार्यान्वयनमा आउने छ । बोर्डले २०७३ साल मंसिरदेखि नै उक्त नियमावली लागू गरेको थियो । त्यसपछि २०७४ बैशाख २२ गते पहिलो पटक संशोधन भएको उक्त नियमावली पुनः २०७५ फागुन १ गते दोश्रो पटक संशोधन भएको हो । त्यसको एक वर्षमै २०७६ फागुन १ गते तेश्रो पटक संशाधन भई पुन २०७७ मंसिर २५ गते चौथो पटक संशोधन गरी कार्यानवयनमा ल्याएको हो । बोर्डले उक्त नियमावलीमा धितोपत्र सार्वजनिक निष्काशन, सार्वजनिक निष्काशन खुला रहने अवधि, विवरणपत्र स्वीकृतिको लागि निवेदन दिनुपर्ने, धितोपत्रको थप सार्वजनिक निष्काशन, हकप्रद निष्काशन, परिपत्र विधिबाट धितोपत्रको निष्काशन, अन्तराष्ट्रिय वित्तीय संस्थाले जारी गर्ने ऋणपत्र लगायतका विभिन्न व्यवस्थाहरु समावेश गरेको थियो ।
परिसूचक घट्दा बढ्यो कारोबार रकम, ‘टप गेनर’को शीर्ष स्थानमा नेपाल इन्स्योरेन्स
काठमाडौं । बुधबारको सेयर बजारमा परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १६.३० अंकले बढेर २८३५.५८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटी हो । दोहोरो अंकले घटेको बजारमा सेयर कारोबार रकम भने बढेको छ । बुधबार कूल ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १ अर्ब २६ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको थियो । सर्वाधिक कारोबार गर्नेमा अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको एकैदिन ३५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, टप गेनरको शीर्ष स्थानमा नेपाल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको सेयर मूल्य ३.८३ प्रतिशतले बढेर प्रतिकित्ता ९२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ३३.९० रुपैयाँले बढी हो । इन्स्योरेन्सको एकैदिन १६ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको प्रतिकित्ता सेयर न्यूनतम ८९५.१० रुपैयाँदेखि अधिकतम ९३७.३० रुपैयाँसम्म कारोबार भएको थियो । सबैभन्दा बढी सेयर मूल्य घट्नेमा लिबर्टी इनर्जी कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ६.२७ प्रतिशतले घटेर प्रतिकित्ता ३८९ रुपैयाँमा झरेको छ ।
फागुन ४ गतेदेखि आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (२६ करोड)को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी रु ५० करोड र हालको जारी पूँजी २६ करोड तथा चुक्तापूँजी १७ करोड ५० लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।