नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । प्रस्तावित १४ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने छ ।

एकैदिन पौने ६ लाख बढीले भरे जाल्पा सामुदायिकको आईपीओ

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को अनुसार माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा पहिलो दिनमै १४.८९ गुणा बढी आवेदन परेको हो । माघ २१ गते साँझ ५ बजेर ७ मिनेट जाँदासम्म ७२ लाख ६५ हजार ४६० कित्ता सेयरको लागि आवेदन परेको हो । यो अवधिसम्म ५ लाख ८१ हजार ४९८ जना आवेदकले ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन दिइसकेका सिडिएससीले जनाएको छ । जुन सर्वसाधारणमा माग गरेको तुलनामा करिब पौने १५ गुणाले बढी हो । लघुवित्तले सर्वसाधारणमा ४ लाख ८७ हजार ९०० कित्ता सेयर माग गरेको हो ।  लघुवित्तले सर्वसाधारणलाई सहित कूल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरिरहेको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको छ । यससँगै इच्छुकले माघ २१ गतेदेखि छिटोमा माघ २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ । इच्छुकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । तर संस्थाले बिक्रीमा राखेको आईपीओको कित्ता एकदमै न्यून भएकाले लगानीकर्ताले १० कित्ताको लागि मात्र लगानी गर्दा उपयुक्त हुने देखिन्छ । त्यस्तै, आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । संस्थाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट इक्रा एनपी आईआर डबल बि रेटिङ्ग पाएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ । यस्तो छ कम्पनीको अवस्था सुरुवातदेखि नै नाफामा जाल्पा सामुदायिक लघुवित्त, यस्ता छन् भावी योजना

प्रिमियर इन्स्योरेन्सको सभाले पारित गर्यो लाभांश

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २१ गते सम्पन्न इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । तर, माघ ४ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् । १ अर्ब ७ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी बोनस सेयरपछि १ अर्ब २२ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षमा इन्स्योरेन्सले १ अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने ३४ करोड ७९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्सको सभा कम्पनीको केन्द्रिय कार्यालयमा भिडियो कन्फरेन्स मार्फत भएको थियो । सभामा सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका हुन् ।