१०५ अंकको वृद्धिसँगै इन्ट्रा-डेको उच्च बिन्दुमा नेप्से परिसूचक, निफ्रासहित ५ कम्पनीमा सर्किट
काठमाडौं । आइतबारको सेयर बजार इन्ट्रा-डेको उच्च बिन्दुमा पुग्न सफल भएको छ । बजारमा नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको छ । जुन दिनभरिकै कारोबारको करिब उच्चतम बिन्दु हो भने अघिल्लो कारोबारको तुलनामा ३.८० प्रतिशतले बढी हो । आइतबारको बजारमा परिसूचक न्यूनतम २८०५.०१ बिन्दुदेखि अधिकतम २८८५.५३ बिन्दुसम्म पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ बिन्दुमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बजारमा एकैदिन २ अर्ब ९८ करोड रुपैयाँले सेयर कारोबार बढेको छ । गत बिहीबार ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ६ अर्ब ३२ करोडको सेयर कारोबार भएको छ । २३१ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा १ करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ । पछिल्लो समय देशमा चुनावी लहर छाएसँगै लगानीकर्तामा उत्साह बढेको हो । र, सेयर बजारमा परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको हो । शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुनेभएसँगै बजारमा तरलता सहज हुने भएकाले पनि त्यसको प्रभाव सेयर बजारमा परेको हो । कारोबारमा आएकामध्ये अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि २९ रुपैयाँले बढेर प्रतिकित्ता ५४६ रुपैयाँ पुगेको छ । बजारमा ५ वट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेका छन् । विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी कम्पनी, शिवश्री हाइड्रोपावर, निफ्रा र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी ५४८.०६ बिन्दुले बढेको छ ।
स्थानीय तहको निर्वाचनलाई सेयर बजारको स्वागत, निरन्तर घटिरहेको बजारमा हरियाली
काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठकले स्थानीय तहको निर्वाचन जेठमै गर्ने निर्णय गरेसँगै सो निर्णयलाई सेयर बजारले पनि स्वागत गरेको छ । यसअघि निरन्तर घटिरहेको सेयर बजारमा आइतबार भने हरियाली छाएकाे छ । बजार खुलेदेखि बढ्न थालेको सेयर बजार यो समाचार तयार पार्दासम्म ७४ अंकले बढेको छ । अहिलेसम्म सेयर बजार ७४ अंकले बढेर नेप्से २८५३.९८ अंक कायम भएको छ । अहिलेसम्म सेयर बजारमा २ अर्ब ४९ करोड ३३ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल ४८ लाख २२ हजार सेयर खरिद बिक्री भएको छ । शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुने निश्चित भएपछि सेयर लगानीकर्तामा उत्साह बढेको हो ।
पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले गिरावट
काठमाडाैं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेर २ हजार ७७९.९८ विन्दुमा झरेको छ । अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले गिरावट आएको हो । पछिल्लो ३ साता लगातार रुपमा बढेको नेप्से परिसूचक यो साता भारी अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको थियो । तर, नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको थियो भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले घटेको थियो । आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १०० अंकको हाराहारीमा गिरावट आएको थियो । उक्त दिन ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको थियो । यसरी सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार भने नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको थियो । उक्त दिन परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको थियो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको थियो । मंगलबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको थियो । बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो । तर यता, साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बिहीबार परिसूचक ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ अंकमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ । पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ । गतसाता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता भने २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।