हकप्रद जारी गर्न अपि पावरले पायो आयोगको पूर्व स्वीकृति, ६ बुँदे शर्त पालना गर्नुपर्ने

काठमाडौं । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । नियमन निकाय विद्युत नियमन आयोगले कम्पनीलाई एक बराबर ०.३९३६३३ को अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति दिएको हो । आयोगले कम्पनीलाई एक सय अंकित दरको एक करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । तर, उक्त सेयर जारी गर्दा कम्पनीले विद्युत नियमन आयोग नियमावली, २०७५को नियम बमोजिका शर्तहरु भने पालन गर्नु पर्ने आयोगले जनाएको छ । साथै, कम्पनीले हकप्रद सेयर जारी गर्दा अवितरित हुन आउने सेयर समेतबाट आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि नेपाल धितोपत्र बोर्डसँग समन्वय गरी आवश्यकताअनुसार सेयरको निष्काशन गर्न निर्देशन दिने आयोगले जनाएको छ । यस्ता छन् पालना गर्नुपर्ने ६ वटा शर्तहरुः १. सेयर निष्काशनबाट प्राप्त एक अर्ब ८ करोड ६० लाख रुपैयाँ आयोजना निमार्णमा लगानी गर्नु पर्नेछ । र, सो समेत समावेश गरी ऋण र स्वलगानीको अनुपात कायम गर्नु पर्नेछ । २. आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनी गर्नुपर्ने छ । ३. प्रचलित कानुन बमोजिम लाभकर लगायत अन्य कर बुझाउनु पर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्ने छ । ४. कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्नेछ । ५. हकप्रद सेयरको निष्काशनको विवरणमा प्रकाशन गरिने विवरणपत्रमा धितोपत्रसम्बन्धी प्रचलित कानुन बमोजिमका विवरणको अतिरिक्त देहाय बमोजिमको विवरण समेत समावेश गर्नु पर्नेछः क) निर्माणाधीन जलविद्युत आयोजनाको हकमा विद्युत खरिदबिक्री सम्झौतामा समावेश भए अनुरुप बिक्री हुने विद्युत उर्जाको मासिक परिमाण, बिक्री दर र सो अनुसारको आय विवरण उल्लेख भएको बाह्रै महिनाको तालिका । ख) विद्युत उत्पादन शरु भइ सकेका आयोजनाको हकमा माथि खण्ड(क) को तालिका र गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बिक्री भएको विद्युत उर्जाको मासिक परिमाण, बिक्री दर एवम् विद्युत खरिदकर्ताले भुक्तानी गरेको रकम समेत उल्लेख भएको बाह्रै महिनाको तालिका । ग) कम्पनीले सञ्चालन गरेका र स्वामित्वमा रहेका आयोजनाको विवरण, अनुमतिपत्रको बाँकी अवधी, ऋण लिएको समय र रकम, सो भुक्तानी गर्ने अवधि । घ) खण्ड (ग) बमोजिमका आयोजनाको लागत रकम, विगत प्रत्येक वर्षको आम्दानी र संचालन खर्चको विवरण । ङ) विद्युत ऐन, २०४९ बमोजिम साविक रोयल्टीमा वृद्धि हुने बाँकी अवधी । च) प्रचलित कानुन बमोजिम आयोजनाले प्राप्त गर्ने आयकार लगायतका कर छुट सम्बन्धी विवरण र सो छुट हुने बाँकी अवधी । ६. आयोजना सम्पन्न भए पश्चात सोको कुल लागत सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नुपर्ने र सोको जानकारी आयोगलाई दिने । यससँगै कम्पनीलाई चुक्ता पुँजीको ३९.३६ प्रतिशत हकप्रद जारी गर्न बाटो खुलेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्ने छ ।

एनआईबिएल एस क्यापिटलको २६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनआईबिएल एस क्यापिटलको प्रस्तावित २६ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १५ गते सम्पन्न क्यापिटलको नवौं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । यससँगै क्यापिटलका सेयरधनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २६ प्रतिशत नगद लाभांश पाउने छन् । साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

साहस ऊर्जाको आईपीओ आइतबार बाँडफाँड हुने, सकियो प्रि-अलोटमेन्ट

काठमाडौं । साहस ऊर्जाले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले असोज १७ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाटमा बाँडफाँड गर्ने निर्णय गरेको हो । असोज ६ गतेदेखि असोज १० गतेसम्म निष्काशन भएको उक्त सेयरको प्रि-अलोटमेन्ट भने आज (असोज १५ गते) सम्पन्न भएको छ । क्यापिटलले सेयर निष्काशन बिक्री बन्द गरेको ५ दिनमै प्रि अलोटमेन्ट सकेर ७ दिनको दिनमा बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीले जारी गरेको आईपीओमा २४ लाख ६२ हजारभन्दा बढी आवेदकले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणमा माग गरिएको भन्दा ५.६२ गुणा बढी हो । त्यस्तै, मागभन्दा बढी आवेदन परेसँगै कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथाबाट हुने छ । यससँगै आवेदन परेको संख्या अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ७ लाखले मात्रै कम्पनीको सेयर हात पार्ने देखिन्छ भने बाँकी आवेदकको हात खाली हुने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।