लाभांश परिमार्जन गर्दै ज्योति लाइफ इन्स्योरेन्सले बढायो बोनस सेयर

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यसअघिको प्रस्तावित लाभांशलाई परिमार्जन गरेको हो । लाभांश परिमार्जन गरेसँगै इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित बोनसको तुलनामा बढी हो भने नगद घटी हो । यसअघि कार्त्तिक १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । इन्स्योरेन्सले नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै लाभांशमा परिमार्जन गरेको हो । उक्त लाभांश अब इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि

काठमाडाैं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दिन भने गिरावट आएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो साता १६५.२८ अंकले बढेको नेप्से परिसूचक यो साता ७३.५९ अंकले बढेको हो । गत साताभन्दा पछिल्लो यो साता नेप्से परिसूचक गिरावट आएको छ । साताको पहिलो दिन शेयर बजार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको थियो । आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको थियो । आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको थियो । यस दिन कारोबारमा आएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो दुई सातादेखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार भने गिरावट आएको थियो । मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको थियो । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको थियो । मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै, नेप्से परिसूचक बुधबार पनि गिरावट आएको थियोे । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको थियो । त्यस दिन कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । यसरी साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहीबार ३३ अंकले उकालो लागेको हो । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ३३.०३ अंक बढेर २ हजार ९३१.३४ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ । कारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गतसाता २ खर्ब ६ अर्ब ७८ ककरोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ सम्पति बढेर ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।

नेशनल माइक्रोफाइनान्सकाे ४५ प्रतिशत लाभांश पारित

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश पारित गरेकाे छ । माघ ६ गते सम्पन्न संस्थाको ८ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश पाउने छन् । बाेनश सेयर पश्चात कम्पनीको चुक्ता पूंजी ५८ करोड ६७ लाख पुगेको छ । सभाले सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रस्तुत गरेकाे आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट बृद्धि गरी ७० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ । यस लघुवित्तले आठौं बर्षमा आइपुग्दा, हाल देशका ७ वटा प्रदेशहरुका ६४ वटा जिल्लाहरुमा रहेका १०० वटा शाखा कार्यालयहरु मार्फत करीव १ लाख ४३ हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म १० अर्ब ५३ करोड कर्जा लगानी गरी २ अर्ब ८३ करोड बरावर ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको छ ।