निरन्तर बढ्दै सेयर बजार, परिसूचक र कारोबार भदौ यताकै उच्च, हाइड्रोमा झुम्मिए लगानीकर्ता
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि निरन्तर सुधार देखिएको छ । आइतबारको बजारमा ९ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन भदौ यताकै उच्च कारोबार हो । भदौ २१ गतेको बजारमा ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबारको बजारमा लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीको सेयरमा झुम्मिएका छन् । सो दिन कारोबारमा आएकामध्ये अरुण भ्याली हाइड्रोपापवर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको अपि पावर कम्पनीको ३० करोड ४४ लाख, अप्पर तामाकोशी हाइड्रोपावरको २९ करोड ७४ लाख र शिवम् सिमेन्टको २६ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचकले पार गर्यो २९०० को बिन्दु, डेढ घण्टामै पौने ४ अर्बको कारोबार बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढेको छ । जुन भदौ २९ गतेदेखि यताकै उच्च बिन्दु हो । उक्त दिनको कारोबारमा नेप्से परिसूचक २९२९.२८ बिन्दुमा थियो । त्यसयताको कारोबारमा भने परिसूचकले २९०० को बिन्दु पार गर्न सकेको थिएन । त्यस्तै, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ । त्यस्तै, मध्य भोटेकाशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशतले बढेर ४१७.१० रुपैयाँ र किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १६८१ रुपैयाँ पुगेको छ । आइतबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये उत्पादनमूलक समूह सबैभन्दा बढी अर्थात ४०९.८२ अंकले बढेको छ । यसकारण बढ्दै छ सेयर बजार कोरोना संक्रमणमा उच्च बढोत्तरीसँग सेयर बजारमा उछाल देखिएको छ । बैंकमा व्याजदर वृद्धिपछि ओरालो लागेको सेयर बजार अहिले बैंक व्याजदर स्थीर हुँदा पनि सेयरको मूल्य बढेको छ । फरक यत्ति छ त कोरोना महामारी बढ्दैछ । यसअघि पनि कोरोना महामारी र बन्दाबन्दीको बेलामा सेयर बजारमा उछाल आएको थियो । अहिले पनि लकडाउनको सम्भावना छ । दैनिक ५ हजार भन्दा बढी नेपालीको कोरोना संक्रमण छ । लकडाउन भयो भने मानिसहरु फेरि घर भित्र थुनिन्छन् । फुर्सदिला हुन्छन् र सेयर बजारमा झुमिन्छन् ।
नेप्से परिसूचकले पार गर्यो २९०० को बिन्दु, डेढ घण्टामै पौने ४ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन खुलेको सेयर बजारमा नेप्से परिसूचकले २९०० बिन्दु पार गरेको छ । कारोबार खुलेको केही मिनेटमै परिसूचकले सजिलै २९०० को बिन्दु पार गर्न सफल भएको हो । दिउँसो १२ बजेर १९ मिनेट जाँदा परिसूचक ६८.६९ बिन्दुले उकालो लागेर २९२६.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.४० प्रतिशतले बढी हो । त्यस्तै, कारोबार खुलेको डेढ घण्टामै पौने ४ अर्बको सेयर कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म बजारमा २२१ स्क्रिप्सको ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । यो अवधिसम्म कम्पनीको १५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
सेन्ट्रल फाईनान्सको ११ प्रतिशत लाभांश पारित, पुँजी ९४ करोड ८८ लाख पुग्ने
काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रस्तावित ११ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न संस्थाको २५औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७.७ प्रतिशत बोनश सेयर र ३.३ प्रतिशत नगद लाभांश पाउने छन् । प्रस्तावित ७.७ प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, हाल संस्थाको निक्षेप ५ अर्ब ८२ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । १४ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको संस्थाले छिट्टै नै झापाको बिर्तामोड र रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । त्यस्तै, भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए । संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी-आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको लागि नेपाल क्लियरिङ्ग हाउसले प्रवद्र्धन गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा संस्था सदस्य बनिसकेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि संचालन गरिरहेको छ । त्यस्तै, संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप पनि सञ्चालनमा ल्याएको जानकारी दिँदै प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि सभामा जानकारी दिए ।