नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभाले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । आइपीओ निश्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, वार्षिक साधारणसभाले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ । आज थापाथलीस्थित बिएलसी विल्डिङमा सम्पन्न वार्षिक साधारणसभामा संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायीत्वअन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले जानकारी दिएका थिए । उनले अस्पतालमा हालै आइभिएफ सेन्टर संचालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि सेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना प्रस्तुत गरेका थिए । एजीएममा नर्भिकका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा संचालक र सेयरधनीको सहभागिता रहेको थियो ।

प्रोग्रेसिभ फाइनान्सको लाभांश परिमार्जन

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । संस्थाले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरी ६.३१५७ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन यसअघि प्रस्ताव गरेको तुलनामा १.०५२७ प्रतिशतले घटी हो । संस्थाले यसअघि अर्थात गत पुस १ गते मात्रै सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । बैंकले संस्थालाई आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण प्रतिवेदनमा कर सम्बन्धि व्यवस्थामा फेरबदल गर्न निर्देशन दिएको थियो । सो अनुसार वित्तीय विवरण परिमार्जित गर्दा संस्थाको सो आवको संचित नाफा घट्न गई लाभांशसमेत घट्न पुगेको हो । उक्त परिमार्जित लाभांशलाई पुनः राष्ट्र बैंकले स्वीकृत दिनुपर्ने छ । बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै लाभांश वितरण गर्न मिल्ने छ । लाभांश पारित भएसँगै संस्थाका सेयरधनीलो चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशत नगद लाभांश पाउने छन् । जुन २७ वर्ष यताकै पहिलो लाभांश हुने छ । सम्बन्धित समाचार प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित, लाभांश परिमार्जन हुने ! किशोर महर्जनले देखाए चमत्कार, २७ वर्षपछि प्रोग्रेसिभको लाभांश घोषणा

नेप्सेको पुरानो साइटमा समस्या, कसरी हेर्ने लाइभ ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको पुरानो साइटमा प्राविधिक समस्या देखिएको छ । उक्त साइट मर्मतको क्रममा रहेकोले प्रावधिक समस्या देखिएको हो । उक्त साइटमा समस्या देखिएसँगै नेप्सेले लगानीकर्तालाई नयाँ वेवसाइट हेर्न आग्रह गरेको छ । यससँगै लगानीकर्ताले लाईभ ट्रेडिङको डाटा तथा जानकारी लिन यो लिंकमा क्लिक गरी नेप्सेको नयाँ वेवसाइटमा जान सक्नेछन् ।