महालक्ष्मी विकास बैंकको स्थगित वार्षिक साधारण सभा माघमा हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्थगित वार्षिक साधारण सभा माघमा हुने भएको छ । पुस २५ गते बोलाइएको वार्षिक साधारण सभा स्थगित भएसँगै बैंकले पुन माघ ३ गते सभा बोलाएको हो । स्थगित भएको उक्त सभा माघ ३ गते बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा हुने भएको छ । यसअघि बैंकले पुस २५ गते बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २०औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो । तर, सभाको लागि नियम अनुसार गणपुरक संख्या नपुगेकोले संस्थाले सो दिनको सभा स्थिगित गरेर अर्को मितिमा सभा आव्हान गरेको हो । पुस २५ गते दिउँसो १ बजे बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंठकले अब हुन लागेको सभा तोकिएको मिति समय र स्थानमा अनलाईन माध्यमबाट गरिने निर्णय गरेको हो ।

२३ वटा हाइड्रोको आईपीओलाई अनुमति दिन माग, तत्काल नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले २३ वटा हाइड्रो पावरको आईपीओ निष्काशनलाई अनुमति दिन माग गरेको छ । संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन) का पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका हुन् । इप्पानको संंयोजकत्वमा आईपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले पुस २५ गते बोर्डका पदाधिकारीसँग भेट गरी यस्तो माग गरेको हो । सेबोनले लामो समय भइसक्दा पनि आईपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुको सम्बन्धमा कुनै सुनुवाई नगरेपछि उक्त माग गरिएको इप्पानले जनाएको छ । इप्पानले एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन आग्रह गरेको छ । यदि एक हप्ताभित्र उक्त विषयमा कुनै सुनुवाई नभएमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने समेत इप्पानले जनाएको छ । ‘जलबिद्युत कम्पनीहरुको आईपीओको सम्बन्धमा सेबोन अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएका छन्, आईपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको छ, निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको छ, आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको छ,’ इप्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बौं रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु प्नि गम्भीर रुपले प्रभाबित हुने इप्पानको भनाई छ । साथै, सेबोनका प्रवक्ताले जलविद्युत आयोजनाको आईपीओ निष्कासन सम्बन्धि फाइलहरु बोर्डबाट स्वीकृतिका लागि अगाडी बढाईसकेको र सोको बारेमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवज्यू तथा अर्थ मन्त्रालयका सचिवसँग बारम्बार छलफल भइरहेको समेत जानकारी गराएका छन् ।

मेरियट होटल पनि पब्लिक कम्पनी बन्दै, सय रुपैयाँमा साधारण सेयर

काठमाडौं । पाँच तारे नयाँ होटेल मेरियट पनि पब्लिक कम्पनी बन्ने भएको छ । व्यवसायी शशिकान्त अग्रवालको प्रमुख लगानी रहेको मेरियट होटल अहिले प्राइभेट लिमिटेड कम्पनी छ । पब्लिक कम्पनीको रुपमा परिणत गरी साधारण सेयर निष्कासन गर्ने प्रक्रिया सुरु भइसकेको होटलका प्रमुख लगानीकर्ता अग्रवालले जानकारी दिए । ‘हामीले प्रालि कम्पनी बनाएर होटल संचालन गरेका हौं, होटल संचालनमा आएको ३ वर्ष भयो, अब पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई पनि सेयर जारी गर्ने भनेर प्रक्रिया सुरु गरेका छौं,’ अग्रवालले विकासन्युजसँग भने । होटल संचालनमा आएको केही समयपछि नै विश्व महामारीको रुपमा फैलिएको कोभिड महामारी नेपालमा पनि फैलन सक्ने भन्दै सरकारले २०७६ चैत दोस्रो सातादेखि नै देशव्यापी लकडाउन गरेको थियो । कोभिड महामारीको कारण विदेशी पर्यटक नेपाल आउन पाएका थिएनन् भने लकडाउन, त्यसपछिको सटडाउन र निषेधाज्ञाका कारण होटल खुल्न पाएका थिएनन् । यस्तै कारणले मेरियट होटलले पनि अपेक्षाकृत व्यवसाय बढाउन पाएको थिएन । परिस्थिति प्रतिकुल भएपनि अहिलेसम्म होटल संचालन नाफामा नै रहेको अग्रवालले बताए । बैंकको व्याज र ह्रासकट्टी हिसाव गर्दा भने होटल नोक्सानीमा रहेको उनको भनाई छ । ‘यो बीचमा अपेक्षाकृत व्यवसाय बढ्न सकेन, कारण सबैलाई थाहा नै छ तर, पनि हामी संचालन नोक्सानीमा छैनौं, बैंकबाट लिएको कर्जाको किस्ता तथा व्याज तिर्नुपर्ने भएकोले होटल नोक्सानीमै छ,’ अग्रवालले भने । उनका अनुसार मेरियट होटलले बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएको छ । होटललाई पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई पनि सेयर विक्री गर्ने प्रक्रिया सुरु भइसकेको अग्रवालले जानकारी दिए । ‘होटलको चुक्ता पुँजी करिब २ अर्ब रुपैयाँ छ, चुक्ता पुँजीको १५ प्रतिशत सर्वसाधारणको लागि आईपीओ जारी गर्दैछौं, एफपीओ वा बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने होइन, प्रतिकित्ता सय रुपैयाँको दरमा नै आईपीओ जारी हुन्छ,’ अग्रवालले थपे । उनले आईपीओ विक्रीबाट आएको रकमले होटलको ऋण तिर्न प्रयोग गरिने पनि बताए । ‘करिब ३ अर्ब रुपैयाँ कर्जा छ, आईपीओ विक्री गरेर आएको पैसाले बैंकको ऋण तिर्छाैं, आईपीओ जारी गरेपछि सर्वसाधारणले पनि स्वामित्व लिन्छन्, व्यवसायिक रुपमा अघि बढ्न पनि थप सजिलो हुन्छ, यसैकारण पब्लिकमा जान लागिएको हो,’ उनले भने । चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको होटलले १५ प्रतिशत आईपीओ जारी गर्दा करिब ३० करोड रुपैयाँ बराबरको आईपीओ आउने छ ।