बीमा कम्पनीले ९० दिनभित्रै सीईओ नियुक्ति गरिसक्नुपर्ने
काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले ३ महिना अर्थात ९० दिनभित्र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नुपर्ने छ । नियामक निकाय बीमा समितिले सञ्चालित कुनै पनि जीवन तथा निर्जीवन बीमा कम्पनीको सीईओको पद खाली भएको ३ महिनाभित्रमा नयाँ सीईओ नियुक्त गरिसक्नुपर्ने जनाएको हो । समितिले हालै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७८ को पहिलो संशोधन गर्दै सो व्यवस्था गरेको हो । साथै, उक्त संशोधित निर्देशिका अनुसार कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारी गरी सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने छ । र, स्वीकृत भएको मितिले १५ दिनभित्रमा बीमा समिति समक्ष पेश गर्नुपर्ने छ । त्यस्तै, यो निर्देशिका तत्काल कार्यान्वयनमा ल्याइने समितिले जनाएको छ ।
एचआइडिसीएलको लाभांश पारित, संचालकमा सुधिर ज्ञवाली नियुक्त
काठमाडौं । एचआइडिसीएलको प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित भएको छ । पुस २३ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश पारित गरेको हो । बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी २० अर्ब १९ करोड ६० लाख रुपैयाँ हुनेछ । यस्तै सर्वसाधारण समूहका शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने अधिकतम मत प्राप्त गरी सुधिर ज्ञवाली सञ्चालक पदमा निर्वाचित भएका छन् । साधरणसभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चार्टर्ड एकाउन्टेन्ट सृष्टी कोइरालालाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ८ लाख र राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख सहयोग रकम भुक्तानी भएकोमा सोको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
एनएमबि बैंकको लाभांश पारित, चुक्ता पुँजी १८ अर्ब नाघ्यो
काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै पुस ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ । १२.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंकको साधारणसभा पुस २२ गते बिहान साढे १० बजे काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको हो । सभाले गत आर्थिक वर्षको सम्पूर्ण वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।