एक महिनायताकै उच्च बिन्दुमा नेप्से परिसूचक, कारोबार पनि बढ्यो

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको सेयर कारोबारमा नेप्से परिसूचक ३२.०३ अंकले उकालो लागेको छ । जुन आइतबारको तुलनामा १.२४ प्रतिशतले बढेर २६१६.९४ बिन्दुमा पुगेको हो । उक्त बिन्दु पछिल्लो एक महिनायताकै उच्च बिन्दु हो । गत मंसिर १५ गतेको परिसूचक २६३३.६६ बिन्दुमा थियो । त्यसयता परिसूचक उक्त बिन्दुसम्म पुगेको थिएन । बजारमा परिसूचकमा मात्रै नभई सेयर कारोबार रकममा पनि सुधार देखिएको छ । सोमबारको सेयर बजारमा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४१ करोड रुपैयाँले बढी हो । आइतबारको बजारमा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार हिमालयन डिष्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ४२४९ रुपैयाँ पुगेको छ । बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य १६ रुपैयाँले बढेर प्रतिकित्ता १७७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.४५ प्रतिशतले बढेर प्रतिकित्ता १३३० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी रुरु जलविद्युत कम्पनीको सेयर मूल्य २.५९ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २४ रुपैयाँले घटेर प्रतिकित्ता ९०४ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बजारमा उत्पादनमूलक समूहबाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूह भने सामान्य ०.०३ प्रतिशतले घटेको हो ।

वाणिज्य बैंक र लघुवित्तसहित ६ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस १९ गते एकैदिन दुई वाणिज्य बैंक, दुई लघुवित्त, एक फाइनान्स र एक हाइड्रो कम्पनीको सेयर मूल्य समायोजन भएको हो । दुई वाणिज्य बैंक सेञ्चुरी कमर्शियल र हिमालयन बैंकको पनि बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । जसमध्ये सेञ्चुरी बैंकको ५.७५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजित मूल्य पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन बैंकको पनि २१.३८ प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३९८.७५ रुपैयाँ कायम भएको छ । त्यस्तै, लघुवित्त समूह अन्तर्गतको मिर्मिरे लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । जसमध्ये मिर्मिरेको २० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । र, मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२९५.८३ रुपैयाँ कायम भएको छ । त्यसैगरी मिथिला लघुवित्तको २५ प्रतिशत बोनस सेयरको लाग मूल्य समायोजन भएको हो । आइतबार प्रतिकित्ता १९५९ रुपैयाँमा सेयर कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १५६७.२० रुपैयाँ कायम भएको छ । प्रोगेसिभ फाइनान्सको पनि ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । संस्थाको समायोजित मूल्य प्रतिकित्ता ३३१.६८ रुपैयाँ कायम भएको छ । उता कालिका पावर कम्पनीको समायोजित मूल्य प्रतिकित्ता ४५०.४३ रुपैयाँ छ । कम्पनीले पनि सेयरधनीलाई १५ प्रतिशत बोनस प्रस्ताव गरेसँगै उक्त बोनसको लागि मूल्य समायोजन भएको हो । यससँगै, पुस १९ गतेको सेयर कारोबारमा हिमालयन बैंकबाहेक अन्य कम्पनीको पहिलो कारोबार समायोजित मूल्यलाई आधार मानेर भएको छ । र, अबको कारोबारमा यी ६ वटै कम्पनीको सेयर किन्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छैनन् ।

सन् २०२२ लाई सेयर बजारको स्वागत, ६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ । आज ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ । आज कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत बुधबार ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको थियो । बुधबारको तुलनामा आइतबारको कारोबार रकममा पनि सुधार आएको हो । आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेकका अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत, विकास बैंकको ३.४२ प्रतिशत लगानी २.१७ प्रतिशत, जीवन बीमा २.४२ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.३ प्रतिशत, बैंकिङ १.९९ प्रतिशत, होटल तथा पर्यटन १.४ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक १.७ प्रतिशतले बढेको छ । आइतबार हिमालयन डिष्टिलरीको शेयरमूल्य सबै भन्दा धेरै ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, मध्य भोटेकोशीको शेयरमूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ । तर यता गोर्खाज फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ५.१२ प्रतिशत घटेको छ । आज कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रिलरीको ४४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएर पहिलो शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा २९ करोड ७० लाख रुपैयाँको कारोबार गरेर नबिल बैंक रहेको छ ।