मानुषी लघुवित्तका सेयरधनीको हात खाली, लाभांश नदिने
काठमाडौं । यो वर्ष मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुको हात खाली हुने भएको हो । संस्थाले आगामी पुस २९ गते गत वर्षको अर्थात तेश्रो वार्षिक साधारण सभा डाकेको छ । उक्त सभामा जान संस्थाले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ छ ।
समृद्धि फाइनान्स र बुटवल पावरको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । आइतबार मात्रै समृद्धि फाइनान्स र बुटवल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६१.३३ रुपैयाँ कायम भएको छ । त्यस्तै, बुटवल पावरको भने १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ४३८ रुपैयाँ कायम भएको छ ।
१३ जलविद्युत कम्पनीमध्ये ४ वटाको लाभांश सुरक्षित गर्ने समय सकिँदै, कुनको कति ?
काठमाडौं । हालसम्म १३ वटा हाइड्रो पावर कम्पनीले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुको बुक क्लोज भइसकेको छ भने ४ वटाको बुक क्लोज हुन बाँकी नै छ । जलविद्युत कम्पनीमा सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिने कम्पनीका रुपमा ङादी ग्रुप पावर देखिएको छ । कम्पनीले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै, लाभांश घोषणा गर्नेमा दोस्रो धेरै बुटवल पावरको छ । बुटवल पावरले गत आर्थि वर्षको नाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको बुक क्लोज हुन बाँकी नै छ । कम्पनीले भोली अर्थात आइतबार बुक क्लोजको समय तोकेको छ । यस्तै, चिलिमे हाइड्रोपावरको आगामी बिहीबार, नेपाल हाइड्रो डेभलपरको मंगलबार र कालिका पावरको पुस १९ गते बुक क्लोज मिति तय भएको छ । चिलिमे हाइड्रोपावरले साढे ७ प्रतिशत नगद र त्यति नै बोनस सेयरसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल हाइड्राले ७ प्रतिशत बाेनस र 0.६३८४ प्रतिशत नगद लाभांश दिने घाेषणा गरेकाे छ । यस्तै कालिका पावरले १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत नगद लाभांश् दिने घाेषणा गरेकाे छ ।