ब्रोकर नं. ४० लाई नेप्सेले भन्योः ३० दिन भित्रमा कार्यालय स्तरोन्नती गर्नुस्
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले क्रियटिभ सेक्युरिटिज अर्थात ४० नम्बर ब्रोकरलाई एक महिना भित्र कार्यालय स्तारोन्नती गर्न निर्देशन दिएको छ । नेप्सेले ब्रोकरको कार्यालय निरीक्षण गर्दा व्यवस्थित नभएको भन्दै स्तरोन्नति गर्न पुस ७ गते निर्देशन दिएको हो । बनेपामा शाखा कार्यालय रहेको ३० नम्बर ब्रोकरको कार्यालय अत्यन्तै चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको नेप्सेले जनाएको छ । त्यसैले आगामी ३० कार्यदिन भित्रमा कानूनमा तोकिए बमोजिम स्तरोन्नती गर्न नेप्सेले निर्देशन दिएको हो । यदि उक्त समयभित्रमा निर्देशन पालना नगरेमा कारवाही गरिने नेप्सेले जनाएको छ ।
हामी सेयर बजारप्रति सकारात्मक छौं: राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले राष्ट्र बैंक सेयर बजार प्रति सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्र बै्क सधैं पुँजि बजारप्रति सकारात्मक भएको धारणा राखेका हुन् । ‘हामी सेयर बजारप्रति सकारात्मक छौं, सेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो,’ उनले भने । यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयातकै कारण शोधान्तर घाटा बढेको र तरलता अभावको समस्या देखिएको बताए । उनले यी दुबै समस्या समाधान गर्नको लागि आयातमा कडाई गरिएको दाबी गरे । ‘हामीले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरण लिएको छौं, सोही अनुसार नीति बनाइरहेका छौं तर त्यस्ता नीतिले समस्या हुन्छ भने त्यसबाट पछि हट्न तयार छौं,’ गभर्नर अधिकारीले भने । आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्नको लागि राष्ट्र बैंक सधैं अगाडि बढ्ने गरेको भन्दै उनले आयातको विषयमा अहिले गरिएको व्यवस्था आवश्यक रहेको गभर्नर अधिकारीको धारणा छ । उनले तरलताको समस्या समाधान र बजारलाई सहज बनाउनका लागि मौद्रिक औजारहरुको प्रयोग गरेर व्यवस्थापन भईरहेको बताए । वस्तु आयातमा गरिएको कडाई प्रतिबन्ध भने नभएको भन्दै उनले विलाशी वस्तुको आयातमा कडाई गर्नुपर्ने बताए । आयातमा व्यवसायीको पनि लगानी चाहिने भएकोले सोही प्रकारको व्यवस्था राष्ट्र बैंकले गरेको उनको भनाई छ ।
एकैदिन ९० प्रतिशतले बढ्यो सेयर कारोबार, परिसूचकले पार गर्यो २५ सय बिन्दु
काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । मंगलबार दोहोरो अंकले उकालो लागेको परिसूचक बुधबार पनि उच्च अंकले बढेर २५०० बिन्दु पार गरेको छ । कारोबार शुरु भएदेखि निरन्तर बढेको बजार कारोबार बन्द हुँदा ९२.१६ अंकले बढेर २५०७.७० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८२ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा परिसूचक अधिकतम २५०९ र न्यूनतम २४२४ बिन्दुमा झरेको छ । मंगलबारको तुलनामा बुधबारको सेयर कारोबार ८९.८० प्रतिशतले बढेको छ । मंगलबार २ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार बढेर ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएको छ । एकैदिन २ अर्ब १४ करोड रुपैयाँले सेयर कारोबार बढेको हो । बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरीको कारोबार भएको छ । एकैदिन कम्पनीको ६८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयरधनीलाई लाभांश घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । सेयर कारोबारसँगै कम्पनीको सेयर मूल्य पनि ९.३८ प्रतिशतले बढेर प्रतिकित्ता ७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ६०० रुपैयाँले बढी हो । त्यस्तै, विभिन्न ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपर तामाकोशी हाइड्रो र शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वभिमान लघुवित्त वित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स कम्पनी र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतभन्दा कम र ९.७४ प्रतिशतभन्दा बढीले बढेको छ । मंगलबारजस्तै बुधबारको बजारमा पनि कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।