‘इन्ट्रा डे’ उच्च बिन्दुमा नेप्से परिसूचक, सबै समूहमा छायो हरियाली
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ । जुन ‘इन्ट्रा डे’ अर्थात दिनभरकै उच्च बिन्दु हो । र, अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतको वृद्धि हो । दिनभरको कारोबारमा परिसूचक निरन्तर रुपमा उकालो लागेको छ । कारोबार खुलेदेखि उकालोको यात्रा तय गरेको परिसूचकले कारोबार बन्द हुँदा उच्च बिन्दुमा पुगेको हो । मंगलबार परिसूचक न्यूनतम २३६०.३२ बिन्दुमा थियो । बजारमा २२६ वटा स्क्रिप्टको २ अर्ब ३८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । अघिल्लो दिन अर्थात सोमबारको बजारमा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार हिमालयन डिष्टिलरी, नबिल बैंक र एनटीसी तीन कम्पनीको १० करोडभन्दा माथिको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नबिलको १४ करोड १८ लाख र एनटीसीको १० करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, धेरै समयपछि कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २०६.५८ बिन्दुले उकालो लागेको छ । त्रिपल डिजिटले उकालो लाग्नेमा विकास बैंक, उत्पादनमूलक र निर्जीवन बीमा समूह रहेका छन् । उता इन्भेष्टमेन्ट र म्युचुअल फण्ड सामान्य अंकले बढेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् । मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर अन्तिम कारोबार प्रतिकित्ता ३४१ रुपैयाँमा भएको छ । त्यस्तै, जानकी फाइनान्सको ९.८१ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले बढेको छ । सोमबार सकारात्मक सर्किट लागेको गोर्खाज फाइनान्सको सेयर मूल्यमा मंगलबार भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । र, अन्त्यमा संस्थाको सेयर मूल्य ८.८९ प्रतिशतले घटेर प्रतिकित्ता ९२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९०.३० रुपैयाँले घटी हो ।
पञ्चकन्या माई हाइड्रोले एकैपटक बोलायो तीन वर्षको साधारणसभा
काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावरले एकैपटक तीन वर्षको वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६, ७६/७७ र ७७/७८ को क्रमशः चौंथो, पाँचौं र छैठौं वार्षिक साधारण सभा आगामी पुस २८ गते गर्न लागेको हो । उक्त सभा सो दिन बिहान ११ बजे ललितपुरको कुपण्डोल ब्याङ्क्वेट र अनलाइन मार्फत शुरु हुने छ । सभाले उक्त उल्लेखित तीन वटै वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने छ । त्यस्तै, कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन तथा मनोनयन गर्ने प्रस्ताव रहेको छ ।
इन्फिनिटी लघुवित्तले पुस १५ गते बुक क्लोज गर्ने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आगामी पुस १५ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस १४ गतेसम्म संस्थाको सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीले गत वर्षको लाभांश पाउने छन् । संस्थाले सेयरधनीलाई २७.७० प्रतिशत बोनस र १.४६ प्रतिशत नगद गरी कूल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सभामा लैजाँदै छ । संस्थाको पाचौं वार्षिक साधारणसभा आगामी पुस २७ गते नवलपरासीको गैंडाकोटस्थित होटल द नारायणीमा हुँदै छ । साथै, संस्थाले हाल कायम रहेको ५० करोडको अधिकृत पुँजीलाई वृद्धि गरी एक अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभामा लैजाँदै छ ।