निरन्तर बढेको सेयर बजारमा ‘ब्रेक’, २७०० बिन्दुमा पुगेर फर्कियो नेप्से परिसूचक

काठमाडौं । गत एक सातादेखि निरन्तर उकालो लागेको सेयर बजारमा ‘ब्रेक’ लागेको छ । गत पुस १४ गतेदेखि निरन्तर उकालो लागेको परिसूचक आज (पुस २१ गते) दोहोरो अंकले ओरालो लागेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७५ अंकले घटेर २६४९.२० बिन्दुमा झरेको छ । सो दिनको कारोबारमा परिसूचक बढेर अधिकतम २७००.२९ बिन्दुसम्म पुगेर फर्किएको हो । जुन गत मंसिर ९ गते यताकै उच्च बिन्दु थियो । गत मंसिर ९ गतेको बजारमा नेप्से परिसूचक २७३१.७८ बिन्दुमा पुगेको थियो । परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ३२ करोडको सेयर कारोबार भएको बजारमा बुधबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टस्को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता १५२३ रुपैयाँ पुगेको छ । बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ । कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १९.४० रुपैयाँले बढेको हो । यता विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात ४.५५ प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले घटेर प्रतिकित्ता १३२२ रुपैयाँमा झरेको छ । बुधबार फाइनान्स र हाइड्रोपावर समूह बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।

बोनस र हकप्रदको लागि ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई लघुवित्त, दुई फाइनान्स र एक हाइड्रो कम्पनीको बोनस तथा हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । जसमध्ये जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २३८३.२० रुपैयाँ कायम भएको छ । कालिका लघुवित्तको पनि १३ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समयोजन भएको हो । समायोजित मूल्यसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११६३.७२ रुपैयाँ कायम भएको छ । त्यस्तै, मल्टीपर्पस र पोखरा फाइनान्सको पनि क्रमशः १३ र ८.०७५ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समायोजन भएको हो । समायोजन पश्चात मल्टीपर्पसको सेयर मूल्य प्रतिकित्ता ४१६.८१ रुपैयाँ र पोखराको प्रतिकित्ता ४४० रुपैयाँ कायम भएको छ । त्यसैगरी हाइड्रो समूह अन्तर्गतको छ्याङ्दी हाइड्रोपावरको समायोजित मूल्य प्रतिकित्ता ३९६.१५ रुपैयाँ कायम भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । पुस २० गतेको कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यससँगै आज पुस २१ गतेदेखि यी कम्पनीको सेयर किन्नेले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश तथा हकप्रद सेयर पाउने छैनन् ।

नेपाल एसबिआई बैंकको सभाले पारित गर्यो लाभांश, संचालकमा उप्रेती निर्विरोध

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २० गते सम्पन्न बैंकको २८औँ वार्षिक साधारण सभाले प्रस्तावित ५.३१ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त साधारणसभाले आ.व. २०७८/७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको हो । सभाले बैंकको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।