स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ३२.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

साहस उर्जाको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । साहस उर्जाले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सेयरधनीहरुको सेयर दाखिल खारेज लगायतको सेयर सम्बन्धित सबै काम गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धमा साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटलबीच असोज १७ गते आइतबार सम्झौता गरेको हो । उक्त सम्झौतामा साहस उर्जाबाट प्रबन्ध संचालक शुसिल थापा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । यससँगै, नियुक्त भएको दिनदेखि नै लागू हुने संस्थाले जनाएको छ । साहस उर्जा वि.स. २०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भई वि.स. २०७१ भाद्र २९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरित भएको थियो ।

६ लाख ४४ हजारले पाए साहस ऊर्जाको १० कित्ता

काठमाडाैं । साहस ऊर्जाले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपिओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको र बाँकी २३ लाख ८३ हजार ४६० योग्य आवेदकमध्ये छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई गत असोज ६ देखि १० गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको ७० लाख कित्ता शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ्गदूधकोशी गाउँपालिकामा कूल ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।