ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत बोनस दिने, नगद नदिने

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर मात्रै दिने प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांशको प्रस्ताव भने गरेको छैन । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । हाल संस्थाको चुक्ता पुँजी ४३ करोड १७ लाख रुपैयाँ रहेको छ । २८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद (करसहित) गरी कूल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगाामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित १३.०६ लाभांश अघिल्लो आवको तुलनामा बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४१ अंकले बढ्यो नेप्से, कारोबार ३ अर्बमा खुम्चिँदा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने उकालो लागेको छ । सो दिनको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ४१.८४ अंकले उकालो लागेर २६१२.६५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले बढी हो । प्रि ओपनिङ्ग सेसनमा सामान्य अंकले घटेको बजार नियमित कारोबारको समयमा भने उकालो लागेको हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४५ प्रतिशतले बढेर ४९२.०३ बिन्दुमा पुगेको छ । मंगलबार परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । दिनभर खुलेको सेयर बजारमा जम्मा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२३ स्क्रिप्टको कारोबार भएको बजारमा ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सको संस्थापक सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिद बिक्री भएका छन् । मंगलबारको बजारमा इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ । त्यस्तै, बढी कारोबार हुनेको दोश्रो स्थानमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ११ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । संस्थाले गत आर्थिक वर्षको बम्पर लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु संस्थाको सेयरमा आकर्षित भएका हुन् । मंगलबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता १४०४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ८२.५० अर्थात ६.२४ प्रतिशतले बढी हो । कारोबारमा आएका १८५ कम्पनीमध्ये १७२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ वटाको घटेको छ भने बाँकी ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । लामो समय पनि हरियो देखिएको बजारमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये मल्टीप्रपर्स फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको छ । मंगलबार ट्रेडिङ्ग समूह बाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छन् ।