महुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कार्त्तिक १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ । २६ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी २८ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।
सिभिल लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । १९ प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०४.२९ रुपैयाँ कायम भएको छ । यसअघि अर्थात गत बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १४३३.१० रुपैयाँमा भएको थियो ।
सूर्या लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ५ वर्ष यताकै उच्च लाभांश
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १२.७ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश पछिल्लो ५ वर्ष यताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १२, आर्थिक वर्ष २०७३/७४ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत र आर्थिक वर्ष २०७१/७२ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।