काठमाडौं । जनार्दन शर्मा ‘प्रभाकर’ ले २०७८ असारदेखि अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्ने बित्तिकै पुँजी बजारको समस्या हल गर्न प्राथमिकता दिएर कम गरेको उनको दावी छ ।
यो करिब ८ महिनाको अवधिमा उनले पुँजी बजारमा हुँदै आएका विकृत कारोबारको बारेमा आवाज उठाउन सफल भएको बताएका छन् ।
उनले भनेका छन्– ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङ जस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन, म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ ।’
यसका साथै, पुँजी बजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षा गर्ने उद्देश्यले नै बजारका दुबै नियामक निकाय (नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज) मा नयाँ नेतृत्व छनौट गरेको उनले बताएका छन् । उक्त दुबै नयाँ नेतृत्व (धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की) लाई मन्त्री शर्माले पुँजी बजार सुधारको लागि ११ बुँदे निर्देशन दिएका छन् ।
मन्त्री शर्माले गत फागुन १८ गते एक कार्यक्रम आयोजना गरी स्वागत तथा बधाई दिँदै अध्यक्ष हमाल र सीईओ कार्कीलाई ११ बुँदै निर्देशन दिए । र, कसैको दबाब वा प्रभावमा परेर काम नगर्न आग्रह गरेका छन् ।
उनले साना लगानीकर्तालाई पुँजी बजारमा प्रवेश गराई उनीहरुको लगानी सुरक्षित गराउनेदेखि बजारको विकृत कारोबारलाई रोक्नेसम्मको निर्देशन दिएका हुन् ।
तर, उनले पुँजी बजार विकासको लागि भन्दै दिएको ११ बुँदे निर्देशनमा केही बुँदा मात्रै जायज रहेको अधिकांशको बुझाई छ । बजारका जानकारमध्ये केहीले त सरकार तथा अर्थमन्त्रीको ध्यान बजारको नीतिनियम, प्रविधि तथा पूर्वाधारमा नभई लगानीकर्तालाई तर्साउने मात्रै रहेको समेत टिप्पणी गरेका छन् ।
धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले समेत अर्थमन्त्री जस्तो गरिमामय पदबाट त्यस्तो निर्देशन आउँदा आफू आश्चर्यचकित भएको बताएका छन् ।
‘अर्थमन्त्रीको निर्देशन पढ्दा कताकता च्वास्स भयो, पुँजी बजारसँग सम्बन्धित नीतिगत निर्देशन दिनुपर्ने मन्त्रालयबाट त्यस्तो खालको निर्देशन दिइन्छ भन्ने कल्पना समेत गरेको थिइनँ,’ अर्थविद् समेत रहेका डा. कार्कीले विकासन्युजसँग भने ।
‘विदेशी बजार कसरी सञ्चालन भएको छ, त्यसबाट शिक्षा लिने लगायत बजारमा सर्कुलर तथा इन्साइडर ट्रेडिङ् जस्ता कारोबार भएको स्वीकारिएको छ, जुन अर्थमन्त्रीको हैसियतले जायज होइन,’ उनले भने ।
पुँजी बजारसँग सम्बन्धित निर्देशन वृहत खालको हुनुपर्ने भन्दै उनले अर्थमन्त्रीबाट बजार विकासको लागि यस्तो यस्तो कार्यमा प्रोत्साहन गर्छु भन्ने नीतिगत व्यवस्था आउनु पर्ने बताए । अर्थमन्त्री शर्माले दिएका ११ बुँदे निर्देशनमध्ये दुई चार वटा बुँदा भने जायज रहेको बताउँदै डा. कार्कीले अतिआवश्यक रहेको महत्वपूर्ण बुँदा नै छुटेको बताएका छन् ।
‘अर्थमन्त्रीले दिनुभएको निर्देशनमध्ये केही बुँदा जायज छन्, तर बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, नयाँ स्टक एक्स्चेञ्ज ल्याउनुपर्ने जस्ता महत्वपूर्ण बुँदा नै छुटेको छ, मार्जिन ट्रेडिङ्को लागि ब्रोकर र लगानीकर्ताले व्याजदर तोक्नसक्ने जस्ता निर्णय मेरो कार्यकालमै गरिएको थियो, जुन अहिलेसम्म सञ्चालनमा आउन नसक्नु विडम्बना हो,’ डा. कार्कीले भने ।
‘अर्थमन्त्रीबाट हल्का किसिमको निर्देशन आउँनु हुँदैन थियो, किनभने अर्थमन्त्रीको अभिव्यक्तिबाट के बुझिन्छ भने बजारमा गोलमाल भइरहेको थाहाँ पाइपाइ पनि अर्थमन्त्री चुपचाप रहेका छन् र बजारका विकृत कारोबारलाई स्वीकृत गरिरहेका छन्, यस्तो अर्थ लाग्नेगरी अर्थमन्त्री बोल्नै हुँदैन,’ डा. कार्कीले भने ।
डा. कार्कीले पुँजी बजारको नीति निर्माणको लागि सेबोन र नेप्से नेतृत्वलाई ११ वटा बुँदाहरु समेत दिएका छन् । जसमा बजारको बलियो सुशासन कायम गर्नेदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिनेसम्मका बुँदाहरु छन् ।
‘कोभिड–१९ को महामारीबीच पुँजी बजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजी बजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजी बजार संचालन भएको छ भन्ने अध्ययन गर्ने,’ पहिलो बुँदामा उल्लेख छ ।
यो बुँदाले आफ्नै देशको पुँजी बजार बुझ्न कठिन भइरहेको दुई नेतृत्वलाई अन्य मुलुकमा पुँजी बजारको बारेमा बुझ्न निर्देश गरिएको छ । यसको मतलब उनीहरुलाई पुँजी बजारको बारेमा बुझ्न तथा अध्ययन गर्न भन्दै विदेश भ्रमण गर्ने मौका दिएको सहजै बुझ्न सकिन्छ ।
सम्बन्धित सामग्री