काठमाडौं । विश्वव्यापी व्यापारका लागि अमेरिका–इरान युद्धले ‘नयाँ चेतावनी संकेत’ सिर्जना गरेको मर्क्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भिन्सेन्ट क्लर्कले दावी गरेका छन् ।
बिहीबार सीएनबीसीसँग कुरा गर्दै आगामी महिनाहरूमा यसको प्रभाव अझ खराब हुन सक्ने चेतावनी दिएका छन् ।
मस्र्कले पहिलो त्रैमासिक आम्दानी प्रतिवेदन सार्वजनिक गरेपछि क्लर्कले कम्पनीले अत्यधिक लागत दबाब सामना गरिरहेको र त्यो अन्ततः ग्राहकहरूमाथि सार्नुपर्ने अवस्था आएको बताए ।
‘हामी अत्यधिक ऊर्जानिर्भर उद्योग हौं र यसले हामीले सामना गर्नुपर्ने बिल्कुलै नयाँ परिस्थिति सिर्जना गरेको छ,’ उनले भने, ‘यसले दोस्रो र तेस्रो त्रैमासिकमा महत्वपूर्ण प्रभाव पार्नेछ ।’
मध्यपूर्वमा युद्ध तीव्र बन्दै जाँदा तेलको मूल्य आकासिएको छ । विशेषगरी हर्मुज जलडमरूमध्य बन्द रहने अनिश्चितताले तेलको मूल्य उच्च स्तरमै कायम राखेको छ । तेलको मूल्यवृद्धिले धेरै अर्थतन्त्रमा मुद्रास्फीति अझ बढ्न सक्ने चिन्ता पनि बढाएको छ ।
बिहीबार विश्वव्यापी मानक ब्रेन्ट क्रुड तेलको मूल्य २.२ प्रतिशतले घटेर प्रतिव्यारेल ९३.०१ डलरमा पुगेको थियो । वाशिङ्टन र तेहरानबीच शान्ति सम्झौता नजिक पुगेको आशाले बजारमा केही राहत देखिएको हो ।
‘यो ऊर्जा झट्काले तेलको मूल्य प्रतिव्यारेल १०० डलर आसपास रहिरहँदासम्म हामीलाई मासिक करिब ५० करोड डलर अतिरिक्त खर्च थप्नेछ, जुन निकै ठूलो रकम हो,’ क्लर्कले सीएनबीसीसँग भने, ‘हामीले लागत घटाउन सक्ने सीमित उपाय मात्रै छन्, तर यी खर्च ग्राहकमा सार्नु अनिवार्यजस्तै भएको छ किनभने यति ठूलो लागतवृद्धि हामी आफैले मात्रै धान्न सक्दैनौं ।’
उनले यो द्वन्द्वले ढुवानी उद्योग र उपभोग क्षमता कति समयसम्म मजबुत रहन सक्छ भन्ने प्रश्न पनि उठाएको बताए।
‘यी अतिरिक्त लागत अन्ततः उपभोक्तासम्म पुग्दा उपभोक्ता तहमा माग घट्ने अवस्था आउँछ कि ? त्यसले वर्षको दोस्रो भागमा आपूर्ति शृंखलाभरि कमजोर मागको प्रभाव पार्छ कि ?’ उनले प्रश्न गरे ।
‘हामी यसलाई अत्यन्त नजिकबाट हेरिरहेका छौं, किनकि यसले यो संकटले विश्वव्यापी आपूर्ति शृंखला र विशेषगरी हाम्रो उद्योगलाई कसरी असर गर्छ भन्ने सम्पूर्ण समीकरण नै परिवर्तन गर्न सक्छ,’ उनको भनाइ छ ।
विश्वव्यापी व्यापारको संकेतक मानिने डेनिस कम्पनी मर्क्सले वर्षको पहिलो तीन महिनामा ब्याज, कर, मूल्यह्रास तथा अमोर्टाइजेशनअघिको आधारभूत आम्दानी (ईबीआईटीडीए) १ अर्ब ७५ करोड डलर रहेको जनाएको छ ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले कम हो, तर एलएसईजीले तयार पारेको अनुमानसँग भने मेल खाएको छ ।
कम्पनीको राजस्व वार्षिक आधारमा २.६ प्रतिशत घटेर १३ अर्ब डलरमा झरेको छ, यद्यपि यो १२.५ अर्ब डलरको अपेक्षाभन्दा बढी हो । मर्क्सका अनुसार ढुवानी दर घट्नु र बढ्दो परिमाणका कारण लागत बढ्नुले यसको ‘ओसन डिभिजन’ मा दबाब सिर्जना गरेको हो ।
मर्क्सको सेयर मूल्य पछिल्लो कारोबारमा २.९ प्रतिशतले घटेको देखिएको थियो ।
इरान युद्ध सुरु भएको करिब एक सातापछि मर्क्सले मध्यपूर्वलाई एसिया र युरोपसँग जोड्ने दुई महत्त्वपूर्ण समुद्री ढुवानी मार्ग स्थगित गरेको थियो । कम्पनीले आफ्ना कर्मचारी र जहाजको सुरक्षाका लागि यस्तो निर्णय लिइएको जनाएको थियो ।
यद्यपि, कम्पनीले सन् २०२६ का लागि आफ्नो वार्षिक प्रक्षेपण यथावत् राखेको छ। मर्क्सले २०२६ मा आधारभूत ईबीआईटीडीए वृद्धि ४.५ प्रतिशतदेखि ७ प्रतिशतसम्म रहने अनुमान गरेको छ।
कम्पनीका अनुसार नयाँ जहाज आपूर्तिका कारण उद्योगमा देखिएको अतिरिक्त क्षमता तथा यस वर्ष रातो समुद्र र हर्मुज जलडमरूमध्य कहिले पुनः खुल्ने भन्ने विभिन्न सम्भावनालाई ध्यानमा राखेर यस्तो प्रक्षेपण गरिएको हो ।
तर मस्र्कले आफ्नो सञ्चालन र विश्व अर्थतन्त्रमा इरान युद्धको प्रभाव दोर्होयाउँदै आपूर्ति शृंखला अझ मजबुत बनाउनुपर्नेमा जोड दिएको छ।
‘भू-राजनीति अहिलेको व्यापक आर्थिक परिदृश्य तथा व्यापार र लजिस्टिक्स वातावरणलाई आकार दिने प्रमुख शक्ति बनेको छ,’ कम्पनीले आफ्नो आम्दानी प्रतिवेदनमा उल्लेख गरेको छ । साथै इरान युद्धले ‘अनिश्चितताको थप तह’ सिर्जना गरेको पनि कम्पनीले जनाएको छ ।
फेब्रुअरी २८ मा द्वन्द्व सुरु भएयता व्यावसायिक समुद्री ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्दजस्तै बनेको छ ।
‘हाल इरान र लेबनान दुवैमा नाजुक युद्धविराम कायम छन्, वार्ता सुस्त गतिमा अघि बढिरहेको छ र हर्मुज जलडमरूमध्यको यातायात लगभग ठप्प अवस्थामा छ । यस द्वन्द्वले बजार मनोबलमा पहिल्यै असर पारिसकेको छ । उपभोक्ता विश्वास कमजोर भएको छ,’ मर्क्सले बिहीबार जनाएको छ ।
कम्पनीका अनुसार यदि सन् २०२६ भर तेलको मूल्य प्रतिव्यारेल ९० देखि १०० डलरकै बीचमा रह्यो र द्वन्द्व चाँडै समाधान भयो भने पनि विश्वव्यापी कन्टेनर माग २ प्रतिशतदेखि ४ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।
तर कम्पनीले जोखिमको सन्तुलन ‘नकारात्मक दिशातर्फ’ रहेको र अझ खराब परिणामको सम्भावना नकार्न नसकिने पनि जनाएको छ ।
‘हर्मुज जलडमरूमध्यमा ऊर्जा र ढुवानी अवरोधले विश्वव्यापी आपूर्ति शृंखलालाई तीव्र रूपमा पुनःआकार दिइरहेको छ,’ कम्पनीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, ‘हालै अमेरिकी आयातमा लगाइएका शुल्कपछि यो द्वन्द्वले आपूर्ति शृंखला अझ लचिलो बनाउन नयाँ उपकरण र भविष्यका अवरोध कम गर्ने रणनीति विकास गर्न अर्को चेतावनी संकेत दिएको छ ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित)