काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र जग्गाको प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्रका जग्गाधनी तथा मोहीलाई आवश्यक कागजात लिएर ७ दिनभित्र उपस्थित हुन ताकेता गरेको हो ।
आयोजनाका अनुसार मनोहरा खोलाको बहाव २०२१ सालपछि परिवर्तन भएका कारण काठमाडौं महानगरपालिका-३२ मा दर्ता भएका केही जग्गा मनोहरा खोलाको पूर्वतर्फ पर्न गएका छन् । यससँग सम्बन्धित जग्गाधनी तथा मोहीहरूलाई आफ्नो जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को सक्कलसहित अन्य आवश्यक कागजात लिएर ७ दिनभित्र आयोजनाको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको हो ।
आयोजनाले आवश्यक कागजात समयमै बुझाउन र थप जानकारीका लागि कार्यालयमै सम्पर्क गर्न पनि आग्रह गरेको छ ।