बोनस सेयरको लागि सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बुक क्लोज
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी चैत १७ गते बुक क्लोज गर्न लागेको छ । इन्स्योरेन्सले लाभांश तथा साधारण सभाको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनी आगामी चैत ३० गते २०औं वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान साढे १० बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा कक्षमा हुँदै छ । सभाले सञ्चालक समितिको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । यससँगै चैत १६ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।
परिसूचक दोहोरो बिन्दुले बढ्दा इमर्जिङमा लाग्यो सर्किट, प्रभु इन्स्योरेन्सको उच्च कारोबार
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो बिन्दुले बढेको छ । सोमबार दोहोरो अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि १६.०४ अंकले बढेर २६५०.७० बिन्दुमा पुगेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले बढी हो । बजारमा साढे २ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा २ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सो दिन ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएको हो । जसमध्ये प्रभु इन्स्योरेन्सको १५ करोड ३३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बराबर छ, अर्थात प्रतिकित्ता ४५१ रुपैयाँ छ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको १० करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १५२८ रुपैयाँ पुगेको छ । दोहोरो अंकले बढेको बजारमा इमर्जिङ नेपालको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ ।
ग्रीन भेन्चर्सको आईपीओ खुला
काठमाडौं । ग्रिन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही चैत ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत १२ अर्ब आठ करोड हुने जनाएको छ । कम्पनीको अधिकृत पुँजी पाँच अर्ब र हालको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्तापुँजी दुई अर्ब ५० करोड छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी बीबी ग्रेडिङ प्रदान गरेको छ ।