बुक क्लोज भएका ५ बैंकको विश्लेषणः बोनस सेयरको लोभ गर्दा फाइदा भयो कि नोक्सान ?
काठमाडौं । संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ५ वटाले लाभांश घोषणा गरेर बुक क्लोज पनि भइसकेको छ । बुक क्लोज हुनु भनेको सुचिकृत कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित भइसक्नु पनि हो । बुक क्लोज भएपछि दोस्रो बजारबाट सेयर किन्नेहरुले सो वर्षको लाभांश पाउँदैनन् । अहिलेसम्म बुक क्लोज भइसकेका बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी, माछापुच्छ्रे, नेपाल बंगलादेश (एनबी) र सानिमा बैंक हुन् । यी ५ वटै बैंकले लगानीकर्तालाई दिएको लाभांशमा बोनस सेयरकै हिस्सा अधिक छ । सुचिकृत कम्पनीहरुको अंकित मूल्यभन्दा बजार मूल्य बढी हुने भएकोले नेपाली लगानीकर्ताले नगद लाभांशभन्दा बोनस सेयर दिने कम्पनीप्रति बढी आकर्षण बढाउने गरेका छन् । यी ५ वटै बैंकहरुले प्रदान गरेको बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन अर्थात बुक क्लोज हुनुअघि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरले फाइदा भयो कि भएन भन्ने विषयमा यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ । यसको लागि बैंकको बुक क्लोज हुनअघिको दोस्रो बजारमा कारोबार भएको अन्तिम मूल्य र बोनस सेयर प्रदान गरेर मूल्य समायोजनपछि अन्तिम कारोबार मूल्यका आधारमा फाइदा भयो कि भएन भनेर विश्लेषण गरिएको हो । यसको विश्लेषण सिटिजन्स बैंकबाट सुरु गरौं । सिटिजन्स बैंकले दिएको १२.९१ प्रतिशत बोनस सेयर सुरक्षित गर्नको लागि कुनै लगानीकर्ताले बुक क्लोज हुने अन्तिम दिन १०० कित्ता सेयर किनेको छ भने उसले प्रतिकित्ता ३९८ रुपैयाँ तिरेको छ । प्रतिकित्ता ३९८ रुपैयाँको दरले १०० कित्ता किन्नको लागि उसले ३९ हजार ८ सय रुपैयाँ लगानी गर्नुपर्छ । सिटिजन्सले १२.९१ प्रतिशत बोनस सेयर प्रदान गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सो बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम गरिदियो । त्यसमा पनि अहिले सो बैंकको सेयर मूल्य प्रतिकित्ता २९७ रुपैयाँ कायम भएको छ । तर, सो लगानीकर्तासँग अब ११२.९१ कित्ता सेयर हुने भयो । यसरी हेर्दा पनि अहिलेको बजार मूल्य अनुसार ३९ हजार ८ सय रुपैयाँ लगानी गरेर १०० कित्ता सेयर किनेको सो लगानीकर्ताको सम्पत्ति हिजोको अन्तिम कारोबार मूल्यका आधारमा ३३ हजार ५ सय रुपैयाँको हाराहारीमा मात्रै देखिन्छ । यो भनेको सुरु लगानीमा ६ हजार २ सयभन्दा पनि बढीले नोक्सान भएको अवस्था हो । जबकि १०० कित्ता सेयर किन्ने लगानीकर्ताले बुक क्लोज अघिकै मूल्यमा बोनस सेयरपछिको सम्पत्ति प्रतिकित्ता ३९८ रुपैयाँ नै कायम रहेको थियो भने उसलाई ५ हजार १ सय रुपैयाँको हाराहारीमा लाभ हुने थियो । तर, अहिले बजारको वास्तविकताले त्यस्तो देखाउँदैन । यसमा पनि सिटिजन्स बैंकले प्रदान गरेको १२.९१ प्रतिशत बोनस सेयरका कारण सो बैंकको सेयर संख्या १ करोड ६२ लाख ४० हजार कित्ताभन्दा बढी थप भएको छ । कम्पनीको सेयर आपूर्ति बढ्नु भनेको सेयर मूल्य अझ कम हुनु पनि हो । बुक क्लोज भइसकेको अर्काे बैंक कुमारी बैंकको सेयर किनेको लगानीकर्ता भने धेरै नोक्सानीमा देखिदैन । उसले बुक क्लोजअघिको मूल्य प्रतिकित्ता २८० रुपैयाँमा किनेको रहेछ भने उसले ६ प्रतिशतको बोनस सेयर पायो र अन्तिम कारोबार मूल्य प्रतिकित्ता २६४ रुपैयाँ नै भएकोले जम्मा १६ रुपैयाँ जति मात्रै गुमाउनु पर्यो । यद्यपि, बुक क्लोजअघिकै मूल्यका आधारमा मलाई १६८० रुपैयाँ नाफा हुन्छ भन्ने कसैले अनुमान गरेको थियो भने यो नोक्सानी पनि धेरै लाग्न सक्छ । माछापुच्छ्रे बैंकको बुक क्लोजअघि १०० कित्ता सेयर किनेको लगानीकर्ताले पनि मूल्य समायोजनपछि धेरै गुमाउनु परेको देखिदैन । सो बैंकको सेयर मूल्य प्रतिकित्ता ३६४.९० रुपैयाँमा बुक क्लोज भएको थियो । मूल्य समायोजन हुँदा प्रतिकित्ता ३२२.०७ रुपैयाँमा भयो भने अहिले दोस्रो बजारमा प्रतिकित्ता ३२१ रुपैयाँ छ । त्यसैकारण माछापुच्छ्रे बैंकको बुक क्लोजअघि १०० कित्ता सेयर किनेको लगानीकर्ताले १३.३० प्रतिशत बोनस सेयर खाएपछि उसको सम्पत्ति आजको दिनमा १२० रुपैयाँ जतिले मात्रै घटेको छ । तर, बुक क्लोज हुने दिनको जति नै मूल्य कायम हुन्छ भन्ने अपेक्षा गरिएको रहेछ भने उसको अपेक्षित लाभ भने ४ हजार ७ सय रुपैयाँभन्दा बढी नै थियो । लाभांश घोषणापछि बुक क्लोज भइसकेको अर्काे बैंक नेपाल बंगलादेश (एनबी) बैंक हो । सो बैंकको बुक क्लोज प्रतिकित्ता ४२५.८० रुपैयाँमा भएको थियो । सो मूल्यमा १०० कित्ता सेयर खरिद गरेको लगानीकर्ताले बैंकले प्रदान गरेको १२ प्रतिशत बोनस सेयर खान पायो । तर, बोनस सेयरपछि मूल्य समायोजन हुँदा सो बैंकको सेयर मूल्य प्रतिकित्ता ३८०.१८ रुपैयाँ कायम भयो । अहिले दोस्रो बजारमा एनबी बैंकको सेयर मूल्य प्रतिकित्ता ३४४ रुपैयाँ छ । आजको दिनमा कायम मूल्य अनुसार सो बैंकको बुक क्लोजको मूल्यमा १०० कित्ता सेयर किन्ने लगानीकर्ताको सम्पत्ति अहिले ४ हजार रुपैयाँ जतिले कम भएको छ । बोनस सेयर दिने अर्काे बैंक सानिमा बैंकको सेयर किन्नेले पनि अहिले सम्पत्ति घटाएका देखिन्छ । किनभने सानिमाले दिएको १७ प्रतिशत बोनस सेयर लिनको लागि कुनै लगानीकर्ताले बुक क्लोज हुने दिनको मूल्य प्रतिकित्ता ४८८.८० रुपैयाँमा १०० कित्ता सेयर किनेको रहेछ भने बोनस सेयरपछि कायम मूल्यले उसको सम्पत्ति बढेको देखाउँदैन । सानिमा बैंकले प्रदान गरेको बोनस सेयरपछि सो बैंकको सेयरमूल्य समायोजन भएर ४१७.७८ रुपैयाँ कायम भएको थियो । अहिले दोस्रो बजारमा सानिमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँ छ भने बुक क्लोज अघि १०० कित्ता सेयर किन्ने लगानीकर्तासँग अहिले ११७ कित्ता सेयर भएको छ । सानिमा बैंकको बोनस सेयरपछि अहिले कायम रहेको दोस्रो बजारको मूल्यका आधारमा हेर्दा सो लगानीकर्ताले ३२ सय रुपैयाँको हाराहारीमा आफ्नो सम्पत्ति घटेका पाउँनेछन् । जबकि बुक क्लोजअघिकै मूल्य कायम भएको भए सो लगानीकर्ताले अहिले ८ हजार ३ सयभन्दा बढी सम्पत्ति बढिसकेको पाउने थिए । सम्बन्धित समाचार बुक क्लोज भएका ५ लघुवित्तको विश्लेषणः बढी लाभ बोनस सेयरले भयो कि नगद लाभांशले ?
११ लघुवित्तले बोलाए वार्षिक साधारणसभा, ४ वटाको सकियो, बाँकीको कहिले ?
काठमाडौं । हालसम्म विभिन्न ११ वटा लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाको लागि मिति तय गरिसकेका हुन् । जसमध्ये ४ वटाले सम्पन्न गरिसकेका छन् भने बाँकी ७ वटाले साधारणसभाको मिति तय गरिसकेका छन् । सभा सम्पन्न गरेका संस्थाहरुमा गुराँस, अभियान, साधना र डिप्प्रोक्स लघुवित्त रहेका छन् । त्यस्तै, आशा, सिभिल, स्वरोजगार, एनआईसी एशिया, लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्सले आआफ्नो वार्षिक साधारणसभा आव्हान गरेका छन् । जसमध्ये तीन वटा लघुवित्तले यहि महिना भित्रै सभा सक्ने तयारी गरेका छन् । आशा लघुवित्तले लगत्तै कार्त्तिक २७ गते बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक १२ गते बुक क्लोज गरिसकेका छन् । संस्थाको सभाले सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त सभाले पारित गरेसँगै कार्त्तिक ११ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । त्यस्तै, स्वरोजगार लघुवित्तले पनि आगामी कार्त्तिक २७ गते नै सभा आव्हान गरेको छ । सभाले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्दै छ । उक्त सभामा जानको लागि संस्थाले कार्त्तिक १२ गते नै बुक क्लोज गरिसकेको छ । त्यसैगरी, सिभिलले पनि आगामी कार्त्तिक २८ गते सभा डाकेको छ । कार्त्तिक १४ गते बुक क्लोज गरेको संस्थाले सभामा २० प्रतिशत लाभांश प्रस्ताव लैजाँदै छ । एनआईसी एशिया, लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्सले आगामी मंसिरमा सभा गर्ने भएका छन् । जसमध्ये सबैभन्दा पहिला एनआईसी एशिया लघुवित्तले डाकेको छ । कार्त्तिक २३ गते बुक क्लोज गरेको संस्थाले मंसिर ५ गते साधारणसभा गर्न लागेको हो । सभाले सेयरधनीलाई ५.४१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । यससँगै अब यी ४ वटा संस्थाको सेयर किन्ने लगानीकर्ताले गत आर्थिक वर्षको लाभांश पाउँदैनन् । तीन लघुवित्तको बुक क्लोज नै हुन बाँकी सभामा जान मिति तय गरेकामध्ये ३ वटा लघुवित्त(लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्स) हरुको बुक क्लोज हुन नै बाँकी छ । जसमध्ये लक्ष्मी र आरएसडीसीले कार्त्तिक ३० गते बुक क्लोज गर्दै छन् भने फर्ष्ट माइक्रोफाइनान्सले मंसिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै यी तीन वटै लघुवित्तको सेयर किन्नले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पाउने छन् । तर, उक्त लाभांशको लागि इच्छुकले बुक क्लोज हुनुभन्दा अघि नै सम्बन्धित संस्थाको सेयर खरिद गर्नुपर्ने हुन्छ । एकैदिन बुक क्लोज गर्न लागेका लक्ष्मी र आरएसडीसी लघुवित्तले सभा पनि एकैदिन गर्न लागेका छन् । उनीहरुले आगामी मंसिर १० गते आ आफ्नो वार्षिक साधारण सभा गर्न मिति तय गरेका छन् । लक्ष्मी लघुवित्तको सभाले सेयरधनीलाई कूल २७.३७ प्रतिशत लाभांश र आरएसडीसी लघुवित्तको सभाले कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, फर्ष्ट माइक्रोफाइनान्सले पनि आगामी मंसिर १६ गते सभा बोलाएको छ । संस्थाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई सभामा लैजाँदै छ ।
बैंकको नाफाः सरकार र उच्च व्यवस्थापनलाई नोटका बिटा, सेयरधनीलाई कागजको खोस्टा !
काठमाडौं । गत आर्थिक वर्ष २७ वटा वाणिज्य बैंकहरुले मात्रै सरकारलाई २७ अर्ब ५९ करोड २२ लाख ४८ हजार रुपैयाँ आयकर बुझाए । बैंकहरुले गरेको नाफाबाट सो नाफाको ३० प्रतिशतका दरले आयकर तिर्दा सरकारले सो बराबरको राजस्व पाएको थियो । बैंकका लगानीकर्ता पनि राम्रै रकम पाउने अवस्था थियो । किनभने बैंकहरुले गत आर्थिक वर्षमा ४७ अर्ब ३४ करोड ८३ लाख ८९ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेका थिए । वितरणयोग्य नाफा भनेकै सेयरधनीलाई बाँड्न मिल्ने नाफा हो । तर, बैंकहरुले ४७ अर्ब ३४ करोड ८३ लाख ८९ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेका भएपनि यो सबै रकम सेयरधनीलाई वितरण गर्न पाइदैन । किनभने कम्पनीहरुले गरेको नाफाबाट लाभांश वितरण गर्दा सरकारलाई फेरि ५ प्रतिशत लाभांश कर तिर्नुपर्छ । बैंकहरुले गरेको वितरणयोग्य नाफाबाट सबै रकम सेयरधनीलाई वितरण गर्दा सरकारले लाभांश करबाट थप २ अर्ब ३६ करोड ७४ लाख १९ हजार रुपैयाँ राजस्व उठाउँछ । लाभांश कर पनि कटाएर हिसाव गर्दा गत वर्ष सेयरधनीलाई वितरण गर्न मिल्ने गरी बैंकहरुले ४४ अर्ब ५८ करोड ९ लाख ६९ हजार रुपैयाँ कमाएछन् । र, सेयरधनीले ४४ अर्ब ५८ करोड ९ लाख ६९ हजार रुपैयाँ लिन पाउने गरी नाफा हुँदा सरकारले भने २९ अर्ब ९५ करोड ९६ लाख ५७ हजार रुपैयाँ लगिसकेको हुँदोरहेछ । बैंकहरु वार्षिक साधारणसभा गर्ने तयारीमा छन् । केही बैंकहरुले गरिसकेका पनि छन् । अहिले दैनिकजसो बैंकहरु गत वर्षको लाभांश घोषणा गरिरहेका छन् । त्यसैले बैंकहरुले चालु आर्थिक वर्षमा कति रकम लाभांशको रुपमा वितरण गर्नेछन् भन्ने यकिन हिसाव आइसकेको छैन । तर, एउटा प्रष्ट हिसाव भने आइसकेको छ । त्यो के भने बैंकहरुले चालु आर्थिक वर्षमा पनि नगद लाभांश भने खासै बाँड्ने छैनन् । लाभांश घोषणा गरेका अधिकांश बैंकहरुले बोनस सेयरलाई उच्च प्राथमिकता दिएका छन् । हिजो मात्रै लाभांश प्रस्ताव गरेको मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने घोषणा गर्यो । सो बैंकले एक पैसा पनि नगद लाभांश दिने घोषणा नगर्नुले पनि बैंकहरु कुन रुपमा लाभांश वितरण गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ । नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाले पनि नगद लाभांश वितरणलाई कडाई गरेको छ । मौद्रिक नीतिमा गत आर्थिक वर्षको भारित औसत व्याजदर वा वितरणयोग्य नाफाको ३० प्रतिशतसम्ममा जुन कम हुन्छ सोही परिमाणमा मात्रै नगद लाभांश दिन पाइने भन्ने व्यवस्था छ । यो नीतिगत व्यवस्थाले नगद लाभांश वितरणमा कडाई गरेको स्पष्ट हुन्छ । मौद्रिक नीतिले बैंकहरुलाई कर्जा प्रवाह गर्दा आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म मात्रै कर्जा दिन पाइन्छ भन्ने व्यवस्था पनि गरेको छ । गत आर्थिक वर्षसम्म बैंकहरुले आफूसँग भएको पुँजी र निक्षेप जोडेर त्यसको ८० प्रतिशतसम्म कर्जा दिन पाउँथे । तर, यसपालीदेखि कर्जा दिने प्रयोजनको लागि पुँजीको कुनै अर्थ रहेन । निक्षेप छ भने कर्जा दिन पाइयो, छैन भने पाइएन । तर, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको लाभांश वितरण सम्बन्धी व्यवस्थाले बैंकहरुको पुँजी बढाउन भूमिका खेल्यो । किनभने लाभांशको रुपमा बोनस सेयर वितरण गर्नु भनेको पुँजी बढाउनु नै हो । बैंकहरुलाई नाफाको रकमबाट पुँजी मात्रै बढाउँ भन्ने र त्यस्तो पुँजी कर्जा प्रवाह प्रयोजनको लागि गणना गर्न नदिएर राष्ट्र बैंकले अहिले देखिएको सीडी रेसियो मेन्टेनको समस्या चर्काउन सहयोगी भूमिका खेलेको आरोप पनि लाग्न थालेको छ । बैंकको पुँजी धेरै भयो, धेरै पुँजी भएका बैंकहरु भए भने बैंकिङ क्षेत्र सबल र समक्षम हुन्छ भन्ने राष्ट्र बैंकलाई लागेकोले यसो गरिएको होला । राष्ट्र बैंकलाई यस्तो लाग्नको लागि आवश्यक अध्ययन भएको होला र त्यस्तो अध्ययनले बैंकिङ क्षेत्र सबल, सक्षम र प्रभावकारी हुनु भनेको बैंकहरुको पुँजी धेरै हुनु नै हो भन्ने पुष्टी गरेको पनि होला । यद्यपि, राष्ट्र बैंकले त्यस्तो कुनै अध्ययन सार्वजनिक भने गरेको छैन । यदि बैंकहरुले वितरण गर्न सक्ने ४४ अर्ब ५८ करोड ९ लाख ६९ हजार रुपैयाँ (सरकारले लिने आयकर र लाभांश कर कटाएपछिको) नगद लाभांश वितरण गरेका भए अहिले देखिएको निक्षेपमा लाभांशबाट आएको रकम थपिने करिब निश्चित थियो । आजको सीडी रेसियो समस्याको अवस्थामा ४४ अर्ब ५८ करोड रुपैयाँ निक्षेप बढ्ने हो भने बैंकहरुले थप ४० अर्ब १३ करोड रुपैयाँ कर्जा दिन सक्ने थिए । किनभने बैंकहरुसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन पाइन्छ । बैंकहरुले कर्जा दिन नसकिरहेको समयमा लाभांशको रुपमा नगद दिएका थिए भने लगानीकर्तासँग ४४ अर्ब ५८ करोड रुपैयाँ हुने थियो । यस्तो रकमले विभिन्न क्षेत्रमा लगानी भएर उद्यम व्यवसाय संचालन हुने, रोजगारी सिर्जना हुने र अर्थतन्त्र चलायमान हुने अवस्था रहन्थ्यो । राष्ट्र बैंकले दिएको सीमासम्म पनि नगद लाभांश वितरण नगरेर बैंकहरुले पनि सानो चित्त देखाए । उनीहरुलाई लाग्यो होला– हामीले नगद लाभांश वितरण गर्यौं भने त्यस्तो रकम व्यक्तिको खातामा जान्छ, व्यक्तिले पैसा निकालेर अन्यत्र लैजान्छ, बैंकमै राख्यो भने पनि अर्काे बैंकमा लाने हो कि भन्ने भयका कारण बैंकहरु नगद लाभांश वितरण गर्न तयार नभएका हुन सक्छन् । बैंकहरुको मनमा उत्पन्न भएको त्रास केबल मनको बाँघ हो भनेर उनीहरुलाई सम्झाइदिनु पर्ने राष्ट्र बैंक पनि आफ्नो दायित्वबाट पछि हटेको देखिन्छ । बैंकहरुले गत वर्ष सरकारलाई २७ अर्ब ५९ करोड २२ लाख ४८ हजार रुपैयाँ आयकर तिरेर पनि ६३ अर्ब ३७ करोड ३८ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेका थिए । यति रकम खुद नाफा गरेपनि बैंकहरुले सेयरधनीलाई ४७ अर्ब ३४ करोड ८३ लाख ८९ हजार रुपैयाँ मात्रै लाभांश वितरण गर्न सक्ने अवस्था थियो । यस्तो रकममा पनि सरकारले लिइदिने २ अर्ब ३६ करोड ७४ लाख १९ हजार रुपैयाँ लाभांश करपछि पनि सेयरधनीले बोनस सेयरका नाममा कागजको खोस्टो मात्रै पाएका छन् । सरकारले मात्रै गत वर्ष बैंकका उच्च व्यवस्थापनका अधिकारीहरुले राम्रै परिमाणको रकम लिएका छन् । वार्षिक १ करोड रुपैयाँभन्दा कम तलबभत्ता लिने प्रमुख कार्यकारी अधिकृत कुनै पनि बैंकमा छैनन् । प्रमुख कार्यकारी अधिकृत बाहेकका उच्च व्यवस्थापनका अधिकारीहरुले पनि वार्षिक ठूलै परिमाणमा रकम लिइरहेका हुन्छन् । बैंकहरुले गत वर्ष कमाएर सरकारलाई करिब ३० अर्ब रुपैयाँ कर र प्रमुख कार्यकारी अधिकृतहरुलाई १ करोड रुपैयाँभन्दा बढी दिदाँ सेयरधनीले पाएको बोनस सेयर नामको कागजको खोस्टो मात्रै हो । यद्यपि, बोनस सेयर दियो भनेर खुसी र नगद लाभांश दियो भने दुःखी हुने लगानीकर्ता बढी संख्यामा भएको हाम्रो जस्तो बजारमा उल्टो नीतिलाई उल्टो भयो भनेर व्याख्या गर्नेहरुले उल्टै गाली खाने सम्भावना पनि छदैछ ।