टक्सार हाइड्रोपावरले शेयर निष्काशन गर्ने
काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले शेयर निष्काशन गर्ने भएको छ । टक्सार पिखुवाखोला हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७८ साल वैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन सुरु भइसकेको छ ।
कारोबार खुल्दा बीमामा देखिएको चमक दिनभर पनि टिकेन, निर्जीवन बाहेक सबै समूह राताम्मे
काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.५९ प्रतिशतले घटी हो । सो दिन कारोबार खुल्ना साथ परिसूचक पनि बढेको थियो । बीमा समूहहरुमा एकाएक चमक देखिएसँगै परिसूचकमा केही टेवा पुगेको थियो । र, ६ मिनेटमै परिसूचक बढेर २६४१.५८ बिन्दुमा पुगेको थियो । तर त्यसपछिको कारोबारमा भने उक्त सुधारले गति लिन सकेन र बजार निरन्तर रुपमा ओरालो लागेको हो । परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बजारमा एकैदिन ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा आइतबारको कारोबार रकम १ अर्ब ७४ करोड रुपैयाँले बढेको हो । गत बिहीबार ३ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । समितिको पुँजी वृद्धिको निर्देशनपछि खुलेको पहिलो कारोबारमा बीमा समूहमा पनि एकाएक सुधार देखिएको थियो । जुन दिनभर पनि टिक्न सकेन । अन्त्यमा निर्जीवन बीमा समूह १३३.३५ अंकले उकालो लागेको छ भने जीवन बीमा समूह ९८.६१ अंकले घटेको छ । ओरालो लागेको बजारमा दुई बीमा कम्पनीसहित ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको १०, इमर्जिङ्ग नेपालको ९.९९ र राष्ट्रिय उत्थान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः ९.६७ र ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको १० कम्पनीमा अपि पावर बाहेक बाँकी सबै बीमा कम्पनीहरु रहेका छन् । अपि पावरको सबैभन्दा बढी अर्थात २७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४६६.९० रुपैयाँ छ । कम्पनीको हकप्रदको सेयर सुरक्षित गर्ने आज अन्तिम दिनभएसँगै कम्पनीको कारोबार रकम बढेको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा गुराँस लाइफ इन्स्योरेन्स छ । कम्पनीको एकैदिन १७ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एभरेष्ट, सूर्या लाइफ, प्रभु इन्स्योरेन्स (संस्थापक सेयर), लाइफ इन्स्योरेन्स कर्पोरेशन, यूनियन लाइफ, सिद्धार्थ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
चितवनमा सेयर बजार तालिम सम्पन्न
चितवन । सनि सेक्यूरिटिजद्वारा आयोजित सेयर तालिम सम्पन्न भएको छ । साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वय चितवनको तारा पुञ्ज रिसोर्टमा आधारभूत सेयर तालिम सम्पन्न भएको हो । उक्त तालिममा १४४ जनाको सहभागिता रहेको थियो। कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे । साथै साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले युवाहरूको आर्थिक र वित्तीय क्षत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने र युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गरी आवश्यक क्षमता अभिवृद्धि गर्ने बताए । सेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिम मोल्नु परेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने उनले बताए ।