एक वर्षदेखि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताको सम्पत्ति बन्धक, कहिले हुन्छ फुकुवा ?
काठमाडौं । बिग मर्जर गर्ने भनेर लामो समयदेखि प्रक्रियामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर गत पुस ३० गते भाँडियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै दुई बैंकबीचको मर्जरको प्रक्रिया असफल बन्यो । मर्जर प्रक्रिया असफल बनेको पनि साढे दुई महिनाभन्दा बढी समय भइसकेको छ । तर, अहिलेसम्म दुई बैंकबीचको डिमर्ज भइसकेको छैन भने एक वर्षदेखि रोक्का रहेको बैंकको सेयर कारोबार पनि फुकुवा हुन सकेको छैन । मर्जरकै लागि भनेर एक वर्षदेखि बन्द अवस्थामा रहेको सेयर कारोबार मर्जरको प्रक्रिया समाप्त भइसक्दा पनि नखुल्दा लगानीकर्ताहरु निराश बनेका छन् । तर, सेयर कारोबार खोल्ने विषयमा भने सम्बन्धित निकाय मौन छन् । गत बैशाखको ३१ गते दुवै बैंकको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोकेको थियो । सेयर कारोबार रोक्का भएको लामो समय बितिसक्दा पनि खोल्ने विषयमा भने नेपाल राष्ट्र बैंक, नेप्से र सम्बन्धित बैंकले तदारुकता देखाएको देखिन्न । नेपाल राष्ट्र बैंकका अनुसार दुवै बैंकको मर्जर समिति डिमर्जका लागि राष्ट्र बैंक पुगिसकेको छ । राष्ट्र बैंकले पनि डिमर्जको प्रक्रियालाई अगाडि बढाएको राष्ट्र बैंक स्रोतको भनाई छ । ‘दुवै बैंकको मर्जर समिति प्रक्रिया स्थगितका लागि राष्ट्र बैंक आइसकेको छ, सो पत्र राष्ट्र बैंकको सञ्चालक समितिमा पनि पुगिसकेको छ, बोर्डले स्वीकृत गरेपछि मात्रै मर्जर प्रक्रिया स्थगित हुन्छ, सेयर फुकुवा कहिले हुन्छ त्यसपछि मात्रै थाहा हुन्छ,’ स्रोतले भन्यो । राष्ट्र बैंकले दुवै बैंकलाई कारवाही गर्यो भने पुनः बैंकको सेयर कारोबार खुल्न केही समय लाग्ने छ । कारवाही गरेन भने राष्ट्र बैंकले नेप्सेलाई पत्र पठाएर सेयर कारोबार फुकुवाका लागि अनुरोध गर्छ । राष्ट्र बैंकबाट सेयर कारोबार फुकुवाको पत्र आएपछि नेप्सेले सेयर कारोबार फुकुवा गर्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । १ खर्ब २६ अर्बको सम्पत्ति बन्धक अहिले दुवै बैंकको १ खर्ब २६ अर्ब ४९ करोड ७२ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर रोक्का छ । नेपाल इन्भेष्टमेन्ट बैंकको कूल १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ बराबरको १८ करोड ३० लाख ७५ हजार ४१४ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमा सर्वसाधारणको ३ करोड ७६ लाख २१ हजार ९९७ कित्ता अर्थात २०.५५ प्रतिशत र प्रमोटरको कुल १४ करोड ५४ लाख ५३ हजार ४१७ कित्ता सेयर अर्थात ७९.४५ प्रतिशत सेयर स्वामित्व छ । सेयर कारोबार रोक्का भएको बैशाख ३१ गतेको सेयर मूल्य (४०८.४९ रुपैयाँ) अनुसार सर्वसाधारणको १५ अर्ब ३६ करोड ८२ लाख ९ हजार ५५५ रुपैयाँ र प्रमोटरको ५९ अर्ब ४१ करोड ६२ लाख ६६ हजार ३१० रुपैयाँ बराबरको सेयर बन्धक छ । यस्तै, हिमालयन बैंकको कुल १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ५०४ रुपैयाँ बराबरको १२ करोड ९६ लाख ८७ हजार २५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । बैंकमा ११ करोड २ लाख ३४ हजार १६८ सेयर कित्ता अर्थात ८५ प्रतिशत प्रमोटर सेयर र १ करोड ९४ लाख ५३ हजार ८८ कित्ता अर्थात १५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको छ । सेयर मूल्य रोक्का भएको दिनको सेयर मूल्य (३९८.७५ रुपैयाँ) गणना गर्दा सर्वसाधारणको ७ अर्ब ७५ करोड ६९ लाख १८ हजार ८४० रुपैयाँ र प्रमोटरको ४३ अर्ब ९५ करोड ५८ लाख ७४ हजार ४९० रुपैयाँ बराबरको सेयर बन्धक अवस्थामा छ । बैंकको बजार पुँजीकरण भने ५१ अर्ब ७१ करोड २७ लाख ९३ हजार ३३० रुपैयाँको छ । दुई बैंकका सेयर लगानीकर्ताको सम्पत्ति सेयर बजारमा फ्रीज भएको छ । उनीहरुले एक वर्षदेखि सेयर कारोबार गर्न पाएका छैनन् । सम्बन्धित समाचार हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्तालाई धोका, अब कहिले खुल्छ सेयर कारोबार ? हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का
नबिल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । मंगलबार नबिल बैंकसहित विभिन्न तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । चैत १५ गते एकैदिन नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । जसमध्ये नबिल बैंकको ३३.६० प्रतिशत अर्थात ४ करोड ६५ लाख १७ हजार ३५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, एक्सेल डेभलपमेन्टको १२ प्रतिशत अर्थात ९ लाख ७३ हजार ३४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३२.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जुन कित्ताको आधारमा २ लाख ९७ हजार ३२१ कित्ता रहेको छ ।
बुद्धनगर एग्रो फार्मको आईपीओ जारी हुने, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल
काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका पाँच लाख कित्ता आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनआईसी क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र बुडनगर एयो फार्मबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । आईपीओ जारी गर्ने एयो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो | एनआईसी एशिया क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत उक्त बुद्धनगर एगौ फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा एनआईसीले गर्ने जनाएको छ । एनआईसी क्यापिटलले एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी आईपीओ जारी गर्ने प्रक्रियामा सबै सहयोग गर्ने जनाएको छ ।