एक घण्टामै ४३ अंकले घट्यो बजार, ८ कम्पनी बाहेक सबै राताम्मे

काठमाडौं । मंगलबार कारोबार खुलेको एक घण्टा मै सेयर बजार ४३.०५ अंकले घटेको छ । दिउँसो १२ बजेर ७ मिनेट जाँदा सेयर मूल्य मापक नेप्से परिसूचक ४३.०५ अंकले घटेर २४५५.४८ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशतले घटी हो । बजारमा अधिकांशको सेयर मूल्य घटेसँगै परिसूचक पनि घट्न पुगेको हो । यो समाचार तयार पार्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । कूल १९२ कम्पनीको कारोबार हुँदा ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १८४ कम्पनीको सेयर मूल्य घटिरहेको छ । यससँगै सबैभन्दा बढी इमर्जिङ नेपालको सेयर मूल्य घटेको छ । दोश्रो बजारमा प्रवेशसँगै निरन्तर उकालोको यात्रामा रहेको कम्पनी आज भने ओरालो यात्रामा लागेको देखिन्छ । र, कारोबार शुरु भएको एक घण्टामै १० प्रतिशतले घटेर प्रतिकित्ता १३२३ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १४७ रुपैयाँले घटी हो । घटेका अन्य कम्पनीको भने ५ प्रतिशत भन्दा कमले घटेर किनबेच भइरहेको छ । तर घट्दो बजारमा पनि दुई लघुवित्तको सेयर भने सर्किट लेभलमा कारोबार भइरहेको छ । राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था र नेष्ठो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १७५६.१० र १४०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अवधिसम्ममा ७८ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी अर्थात ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । पछिल्लो समय अर्थतन्त्र खस्किएसँगै अर्थतन्त्रको ऐना मानिने नेपालको पुँजीबजार पनि खस्किँदै गएको बुझिन्छ ।

बलेफी हाइड्रोपावरको आईपीओमा पौने २३ लाखले दिए आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा करिब पौने २३ लाखले आवेदन दिएका छन् । बलेफीले १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । आईपीओ एक लाख ६६ हजार ३४५ जनाले पाउनेछन् भने बाँकी २१ लाखभनन्दा बढीको हात खाली हुनेछ । सोमबार ५ बजेसम्म म्याद रहेको उक्त आईपीओमा २२ लाख ६९ हजार ४१६ जनाले दुई करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन दुई अर्ब ६२ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको हो । यो मागभन्दा करिब १६ गुणा बढी आवेदन हो । ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त आईपीओ गत चैत १६ गतेबाट सर्वसाधारणका लागि खुला भएको थियो ।

नेपाल लाइफको प्रस्तावित लाभांश पारित, लगानी विस्तार गर्दै जाने कम्पनीको नीति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । चैत २१ गते सम्पन्न कम्पनीको २१औं वार्षिक साधारणसभाले प्रस्तावित १४.०७४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७४ प्रतिशत नगद लाभांश पाउनेछन् । यससँगै, प्रस्तावित बोनसपश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । जुन जीवन बीमा क्षेत्रकै सर्वाधिक चुक्ता पुँजी हो । सभामा अध्यक्ष गोविन्द लाल संघईले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको बताए । साथै, २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि आगामी दिनहरुमा अगाडि बढ्ने अध्यक्ष संघईले प्रतिवद्धता गरेका छन् । सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराए । सभाले संस्थापक सेयरधनीका तर्फबाट चार जना संचालकमा निर्विरोध निर्वाचित गरेको छ । जसमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् । त्यस्तै, साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । हाल कम्पनीको लगानी १ अर्ब ३३ खर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकका लागि २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । त्यस्तै, कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । साथै, ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।