नेप्से परिसूचक ४५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ४४.६४ अंकले घटेर २४१९.७१ को विन्दुमा रोकिएको हो । गत बिहीबार बढेको नेप्से परिसूचक आज घटेको हो । आइतबार रामनवमी बिदाका कारण बिहीबारपछि आजमा सेयर बजार खुला भएको हो । गत बिहीबार २ अर्ब १२ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने २ अर्ब २६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै बढ्नेमा राष्ट्र नेस्डो समृद्ध लघुवित्त र जालपा लघुवित्त छ । दुवैको मूल्यमा सकारात्मक सर्किट लेभलमा बढेको छ । त्यस्तै, धेरै गुमाउनेमा इमर्जिङ नेपाल अगाडि छ । आज इमर्जिङको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक रूपैयाँमा झरेको छ । बढी कारोबार हुनेको अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको एकैदिन १६ करोड ५२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोस्रो र तेस्रो स्थानमा क्रमशः निफ्रा र नबिल बैंक रहेको छ ।

बाँकेका प्रहरीलाई सेयरबारे आधारभूत तालिम

बाँके । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा एकदिने सेयर तालिम सम्पन्न भएको छ । गत शनिबार बिहान ७ देखि ११ बजेसम्म सम्पन्न तालिममा बाँके जिल्लामा सेवारत प्रहरी जवान तथा अधिकृतहरू गरी ६२ जनाको सहभागिता थियो। तालिममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अनलाईन शेयर कारोबारको महत्त्वलगायत जानकारी गराइएको थियो । साइन्टिफिक विजनेश हव प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप दिन तालिमको आयोजना भएको जानकारी दिए । तालिममा दोस्रो बजार र सेयर मूल्य निर्धारण, परिसुचक र सर्किट ब्रेक, लाभांश र हकप्रद सेयर, बुक क्लोज र मूल्य समायोजनबारे विशेष जानकारी गराइएको थियो ।

रिभर फल्सको आइपीओ खुला

संखुवासभा । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यको सात करोड बराबरको सात लाख कित्ता सेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । साधारण सेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । निष्काशन गरिएको सेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमी बैंकको खाँदबारी र चैनपुर शाखा, निष्काशन कम्पनीको आयोजना कार्यालय सङ्खुवासभा र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रवर्द्धन गरिरहेको १०.३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानितप्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।