काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । सञ्चालित विभिन्न क्षेत्रका संस्थाहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका हुन् ।
जसमध्ये लघुवित्त क्षेत्रका अधिकांश कम्पनीहरुले बम्पर लाभांश घोषणा गरेका छन् । त्यसमध्ये पनि केही कम्पनीले सभामा जाने प्रयोजनको लागि बुक क्लोज गरिसकेका छन् भने केहीले वार्षिक साधारणसभा समेत सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरिसकेका छन् ।
समग्रमा वाणिज्य बैंकभन्दा अधिकांश लघुवित्त वित्तीय संस्थाको लाभांश आकर्षक रहेका छन् । उक्त आकर्षक लाभांश घोषणासँगै दोश्रो बजारमा लगानीकर्ताको ध्यान लघुवित्तको सेयरमा बढ्दै गएको छ । र, सम्बन्धित कम्पनीको सेयर मूल्य बढ्दै गएको देखिन्छ ।
हालसम्म लाभांश घोषणा गरेका लघुवित्तहरुमध्ये ६ वटा लघुवित्तको बुक क्लोज भइसकेको छ । र, केहीको सभा पनि सम्पन्न भइसकेको छ । नेप्सेमा सूचीकृत लघुवित्तमध्ये आशा लघुवित्त, साधना लघुवित्त, डिप्रोक्स लघुवित्त, गुराँस लघुवित्त, सिभिल लघुवित्त र एनआईसी एशिया लघुवित्तको बुक क्लोज भइसकेको छ । यससँगै अब यी संस्थाको सेयर किन्ने लगानीकर्ताले गत आर्थिक वर्षको लाभांश पाउँदैनन् ।
कुनै कम्पनीले लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरुको ध्यान सोही कम्पनीको सेयरमा पुग्नेछ ।
बोनस र हकप्रद सेयर पश्चात कम्पनीको सेयर मूल्य समायोजन हुने व्यवस्था रहेको छ । मूल्य समायोजन बुक क्लोजको अघिको बजार मूल्यको आधारमा गरिन्छ । र, मूल्य समायोजन पश्चात संस्थाहरुको सेयर मूल्य घटेर अर्को दिनको पहिलो कारोबार समायोजित मूल्यबाट नै शुरु हुने व्यवस्था रहेको छ ।
यसरी मूल्य समायोजन हुँदा लगानीकर्तालाई भने घाटा भएको देखिन्छ । केही कम्पनीमा भने बोनस सेयर थपिदाँ पनि सम्पत्ति बढेको देखिदैन । नगद लाभांश दिने कम्पनीको हकमा भने सेयरधनीको सम्पत्ति बढेको र नगद लाभ पनि भएको देखिन्छ ।
जस्तै, आशा लघुवित्तले गत आवको नाफाबाट २५ प्रतिशत बोनस (नगद बाहेक) सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्तावपछि अर्थात बुक क्लोजअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता १८९९ रुपैयाँ थियो । यो अवधिसम्ममा उक्त सेयरमा १०० कित्ता लगानी गर्नेको सम्पत्ति सेयर मूल्यका आधारमा १ लाख ८९ हजार ९ सय रुपैयाँ थियो । तर, प्रस्तावित २५ प्रतिशत बोनस सेयरपछि संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १५१९.२ रुपैयाँमा झरेको छ । कम्पनीले दिएको २५ प्रतिशत बोनस सेयर थपिदा सो कम्पनीको समायोजित मूल्य अनुसार उक्त लगानीकर्ताको सम्पत्ति १ लाख ८९ हजार ९ सय रुपैयाँ हुन आउँछ, जुन बोनस सेयरअघि कायम बुक क्लोज मूल्य बराबर नै हो ।
त्यस्तै, साधना लघुवित्तले लाभांश घोषणा गरी साधारणसभा सम्पन्न गरिसकेको छ । सभाले गत आर्थिक वर्षको लाभांशबाट सेयरधनीलाई नगद बाहेक २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुक क्लोजअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता १७३९ रुपैयाँ थियो । २५ प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भई प्रतिकित्ता १४१५.२ रुपैयाँ कायम भएको छ । बुक क्लोज भएको मूल्यमा कुनै लगानीकर्ताले १०० कित्ता सेयर खरिद गरेको छ भने उसको कुल लगानी १ लाख ७३ हजार ९ सय रुपैयाँ लगानी गरेको हुन्छ । अब बोनस सेयरमा प्राप्त भएको २५ कित्ता थप गरी समायोजित मूल्य अनुसार सो लगानीकर्ताको सम्पत्ति १ लाख ७६ हजार ९ सय रुपैयाँ भएको छ । जुन, लगानी गरिएकोभन्दा ३ हजार रुपैयाँ मात्रै बढी हो ।
तर, बैंक तथा वित्तीय संस्थाको प्रस्तावित नगद लाभांशको हकमा भने मूल्य समायोजन हुँदैन । यो अवस्थामा भने संस्थाको सेयर मूल्य नघट्ने भएकाले लगानीकर्तालाई घाटा हुँदैन ।
जस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्षको लाभांशबाट सेयरधनीलाई ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको कात्तिक २३ गते बुक क्लोज भएको छ । कात्तिक २२ गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १२८६ रुपैयाँमा भएको थियो । नगद लाभांश घोषणा गरेकोले संस्थाको सेयर मूल्य समायोजन भएन र बुक क्लोजपछि संस्थाको पहिलो कारोबार प्रतिकित्ता १३०१ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १५ रुपैयाँले बढी हो । यदि कुनै लगानीकर्ताले बुक क्लोज अघि एनआईसी एशिया लघुवित्तको १०० कित्ता सेयर खरिद गरेको थियो भने ५.४१ प्रतिशत नगद लाभांश पनि खान पाउने थियो भने बुक क्लोजपछि कारोबार मूल्यका आधारमा उसको सम्पत्ति १५ सय रुपैयाँले बढ्ने थियो ।

बजारमा जसले बढी बोनस सेयर दिन्छ, सोही कम्पनी राम्रो मानिने चलन छ । लगानीकर्ताहरु पनि आफूले लगानी गरेको कम्पनीले नगद भन्दा बोनस सेयर दिए हुन्थ्यो भन्ने अपेक्षा गर्छन् । तर, माथिका उदाहरणले लगानीकर्तालाई कम्पनीले दिने बोनस सेयरभन्दा नगद लाभांशले बढी फाइदा हुने देखाउँछ । किनभने बोनस सेयर दिँदा बुक क्लोजपछि संस्थाको सेयर मूल्य घट्छ भने नगद लाभांश दिँदा कम्पनीको सेयर मूल्य घट्दैन । नगद लाभांश दिदाँ कम्पनीको सेयर आपूर्ति नबढ्ने भएकोले सेयर मूल्य अझ बढ्ने सम्भावना पनि रहन्छ ।
सम्बन्धित समाचार