पोहोरको नजिरः पहिलो त्रैमासको ईपीएस हेरेर सेयर किन्नु कति ठिक होला ?
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्मको) वित्तीय विवरण सार्वजनिक गरी आफ्नो अवस्थाको बारेमा जानकारी गराएका छन् । बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांशको नाफा बढेको छ । तर, प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा नाफा बढाएका बैंकहरुको पनि ईपीएस भने घटेको देखिएको छ । चालु आवको पहिलो तीन महिनामा बैंकहरुको औसत ईपीएस २२.५६ रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा २.०५ रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुको औसत ईपीएस २०.५१ रुपैयाँ थियो । बैंकहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ईपीएस सबैभन्दा बढी छ भने सबैभन्दा कम बैंक अफ काठमाण्डूको छ । राष्ट्रिय वाणिज्य बैंकको ४५.७५ रुपैयाँ र बैंक अफ काठमाण्डूको १०.५० रुपैयाँ ईपीएस छ । लगानीकर्ताले दोश्रो बजारमा सेयर कारोबार गर्दा हेर्ने विभिन्न सूचकमध्ये प्रमुख सूचक हो, ईपीएस । कुन कम्पनीले कति लाभांश दिन सक्छ भन्ने पनि ईपीएसकै आधारमा अनुमान गर्न सकिन्छ । त्यसैले पनि कतिपय लगानीकर्ताले ईपीएसकै आधारमा मात्रै दोश्रो बजारमा लगानी गर्ने गरेको पाइन्छ । तर, ईपीएसको आधारमा मात्रै गरेको लगानी जोखिम रहित भने हुँदैन । पहिलो त्रैमासको ईपीएस अन्तिम त्रैमाससम्ममा पनि सोही हुन्छ वा बढ्छ नै भन्ने पनि हुँदैन । त्यसमा घटबढ हुने गरेको गत आर्थिक वर्षको तथ्याङ्कले देखाएको छ । उदाहरणको लागि बैंकहरुको आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क हेरौं । गत वर्षको तथ्याङ्क अनुसार १३ बैंकको पहिलो त्रैमासको ईपीएस चौथो त्रैमाससम्म पुग्दा घटेको देखिन्छ । सबैभन्दा बढी प्रभु बैंकको ईपीएस घटेको पाइएको छ । पहिलो त्रैमासमा ३२.९६ रुपैयाँ रहेको प्रभु बैंकको ईपीएस चौथो त्रैमाससम्म पुग्दा घटेर १७.७३ रुपैयाँसम्म झरेको छ । जुन १५.२३ रुपैयाँले कम हो । त्यस्तै, एनआईसी एशियाको पनि ईपीएस १३.९२ रुपैयाँले घटेको छ । गत आवको पहिलो त्रैमासमा ४२.०३ रुपैयाँ रहेको एनआईसी एशिया बैंकको ईपीएस चौथो त्रैमासमा घटेर २८.११ रुपैयाँमा झरेको छ । सबै बैंकहरुको ईपीएस चौथो त्रैमासमा पुग्दा घट्छ नै भन्ने पनि हुन्न । केही बैंकहरुको बढेको पनि पाइन्छ । जस्तै, गत आवको पहिलो त्रैमासमा १८.४६ रुपैयाँ रहेको कृषि विकास बैंकको ईपीएस चौथो त्रैमासमा बढेर ३०.६५ रुपैयाँ पुगेको छ । जुन १२.१९ रुपैयाँले बढी हो । त्यस्तै, हिमालयन बैंकको ईपीएस पनि पहिलो त्रैमासको तुलानामा चौथो त्रैमासमा ११.५९ रुपैयाँले बढेको छ । पहिलो त्रैमासमा १६.४७ रुपैयाँ रहेको हिमालयन बैंकको ईपीएस चौथो त्रैमासमा बढेर २८.०६ रुपैयाँ पुगेको छ । त्यसैले पहिलो त्रैमासको ईपीएस सोही वर्षको अत्यसम्ममा कायम हुन्छ वा हुँदैन भन्नेमा ग्यारेन्टी नहुने विज्ञहरु बताउँछन् । वित्तीय विश्लेषणको मुल आधार ईपीएसको शुद्धतासँगै विश्वसनीयता पनि हेर्नुपर्छ र सम्भव भएको अवस्थामा गत १२ महिनाको औसत (टीटीएम) हेर्नुपर्ने पुँजी बजारबारे जानकार दिलिप मुनंकर्मी बताउँछन् । यस्तो छ बैंकहरुको गत आर्थिक वर्षको ४ त्रैमासको परिवर्तित ईपीएस
लाभांश पारित गर्न लक्ष्मी लघुवित्तले डाक्यो साधारणसभा, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवालभवनमा आफ्नो १०औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी कार्त्तिक ३० गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको प्रस्तावित २७.३६८४२१ प्रतिशत लाभांशलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ३८ करोड रुपैयाँ नाघ्ने छ ।
सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, ६७ हजार ८९० जनाले पाए सेयर
काठमाडौं । सामलिङ्ग पावर कम्पनीले जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले संस्थाको आईपीओ कार्त्तिक १६ गते मंगलबार बाँडफाँड गरेको हो । कम्पनीले २०७८ कार्तिक ४ गतेदेखि २०७८ कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण सेयरहरु मंगलबार बाँडफाँड गरेको हो । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेको थियो । उक्त सेयरका लागि आवेदन दिएकामध्ये कूल २१ लाख ८८ हजार ७७८ योग्य आवेदक रहेका थिए । त्यसमध्येबाट गोलाप्रथाको माध्ययमबाट ६७ हजार ८९० जना आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका सर्वसाधारणलाई छुट्याईएको ७ लाख ३० हजार कित्ता सेयर जारी गरेको थियो । जसमध्ये १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १२ लाख ३० हजार कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५ लाख कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६ हजार ५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।