बुक क्लोजको भोलिपल्ट किन भयो एनआईसी एशियाको उच्च कारोबार ?

<p>काठमाडौं । एनआईसी एसिया बैंकको सेयर कारोबार आज उच्च देखियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो बैंकको ८ करोड ४१ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भए । आज नेप्सेमा जम्मा २ अर्ब ४ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भयो । यसरी हेर्दा एनआईसी एसिया बैंकको मात्रै ४ प्रतिशतभन्दा बढीको कारोबार भएको देखिन्छ [&hellip;]</p>

काठमाडौं । एनआईसी एसिया बैंकको सेयर कारोबार आज उच्च देखियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो बैंकको ८ करोड ४१ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भए ।

आज नेप्सेमा जम्मा २ अर्ब ४ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भयो । यसरी हेर्दा एनआईसी एसिया बैंकको मात्रै ४ प्रतिशतभन्दा बढीको कारोबार भएको देखिन्छ ।

एनआईसीले अप्रिल ३ मा आफ्नो २४औं वार्षिक साधारणसभा गर्दैछ । सो सभाको लागि मार्च २२ (हिजो) बुक क्लोज भएको छ । बुक क्लोज भएको भोलिपल्ट सेयर काराबोर रकमका आधामा एनआईसी एसिया बैंक किन उच्च स्थानमा रह्यो भन्ने संसय लगानीकर्ताको छ ।

एनआईसी एसिया बैंकले गर्न लागेको साधारणसभाले लाभांश पारित गर्ने पनि होइन । किनभने बैंकले यसपाली लाभांश दिदै छैन । लाभांश नपाइने भएपनि संचालक समितिमा निर्वाचन हुने भएपनि सेयर खरिद विक्रीमा चाप देखिने गरेको हुन्थ्यो । तर, बुक क्लोजपछि कायम सेयरधनीले संचालक समिति निर्वाचनमा मतदान गर्न पनि सक्दैनन् । यसैकारण पनि एनआईसी एसियाको सेयरमा आज किन आकर्षण बढ्यो भन्ने प्रश्न लगानीकर्ताबीच छ ।

आजको कारोबारमा बल्क कारोबार भएको भने देखिदैन । जम्मा ७० हजार कित्ताको एउटा कारोबार अलि ठूलो देखिन्छ । २८ नम्बर ब्रोकरबाट प्रतिकित्ता ७७३.५ रुपैयाँमा सो कारोबार भएको छ ।

एनआईसी एसिया बैंकको सुचक राम्रा भएका कारण लगानीकर्ताको पहिलो रोजाइमा पर्ने गरेको एक सेयर ब्रोकरले बताए ।

‘लाभांश नपाइने भएपछि बुक क्लोज अघि किनेपनि वा पछि किने पनि फरक पर्ने भएन, एनआईसी एसियाको इपीएस, व्यालेन्ससीटको आकार, सम्भावित प्रतिफल र सेयर मूल्य जस्ता सुचक हेर्दा लगानीकर्ताको रोजाइमै परेको देखिन्छ, त्यसैले स्वभाविक रुपमा कारोबार भएको होला,’ ती सेयर ब्रोकरले भने ।

पछिल्लो दिनमा कारोबार रकम कम हुन थालेकोले केही करोडको कारोबार हुने कम्पनी नै उच्च कारोबार हुने कम्पनीमा देखिने भएकोले अहिले कुन कम्पनीको बढी कारोबार हुने देखियो भन्ने विषय गौण रहेको अर्का ब्रोकरको भनाई छ ।

Share News