बाढी प्रभावितका लागि प्रभु बैंकले पहेंलो गुम्बालाई दियो बंक बेड

काठमाडौं । प्रभु बैंकले विपद्बाट प्रभावित परिवारलाई आश्रय दिइरहेको काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुम्बामा आश्रित प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बंक बेड उपलब्ध गराएको हो । 

विपद्का कारण घरबारविहीन भएका परिवारका लागि आश्रयस्थलमा बंक बेड आवश्यक रहेको पहिचान भएपछि बैंकले उक्त सहयोग गरेको जनाएको छ ।

बैंकका अनुसार यस सहयोगबाट पहेंलो गुम्बामा राहत तथा आश्रय लिएर बसिरहेका प्रभावित परिवारलाई बसोबासमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।

प्रभु बैंकले यसअघि पनि विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो । 

यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत उक्त कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग हस्तान्तरण गरेको थियो ।

बाढीबाट प्रभावित घाइतेलाई सहयोग पुग्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।

Share News