९३.८१ प्रतिशतले घट्यो सेयर कारोबार, लगानीकर्ता भन्छन् : सामान्य हो, वैशाखदेखि सुधार देखिएला

<p>काठमाडौं । देशको अर्थतन्त्रको ऐना मानिने पुँजी बजार पछिल्लो समय सुस्ताएको छ । समग्र अर्थतन्त्र नै सुस्ताएसँगै त्यसको असर पुँजी बजारमा देखिएको हो । लगानीकर्ताले खासगरी परिसूचकप्रति ध्यान दिने गरेको पाइन्छ । नीति निर्माताहरूले पनि परिसूचक घट्यो वा बढ्यो भन्ने कुरा मात्रै गर्ने गरेका हुन्छन् । तर, बजारमा हुने कारोबार रकमको आधारमा मात्रै हेर्ने हो [&hellip;]</p>

काठमाडौं । देशको अर्थतन्त्रको ऐना मानिने पुँजी बजार पछिल्लो समय सुस्ताएको छ । समग्र अर्थतन्त्र नै सुस्ताएसँगै त्यसको असर पुँजी बजारमा देखिएको हो ।

लगानीकर्ताले खासगरी परिसूचकप्रति ध्यान दिने गरेको पाइन्छ । नीति निर्माताहरूले पनि परिसूचक घट्यो वा बढ्यो भन्ने कुरा मात्रै गर्ने गरेका हुन्छन् । तर, बजारमा हुने कारोबार रकमको आधारमा मात्रै हेर्ने हो भने पछिल्लो समय पुँजी बजारमा निराशाजनक अवस्था देखिन्छ ।

दोश्रो बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य मापन गर्ने नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको तथ्यांकलाई मात्रै केलाउने हो भने बजारमा परिसूचकभन्दा बढी कारोबार रकमको घट्दोदर बढी छ ।

आर्थिक वर्ष २०७८/७९ लागेयता (अर्थात साउनदेखि फागुन) सम्मको तथ्यांकअनुसार परिसूचक २८.६८ प्रतिशतले घटेको छ । किनभने गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु ३१९९.०२६ मा पुगेको थियो । त्यसपछि परिसूचक घटेर सबैभन्दा तल २१८१.६७ विन्दुसम्म पुग्यो ।

कारोबार रकमका आधारमा हेर्ने भने नेपाली पुँजी बजार अहिले नै निरासाजनक अवस्थामा पुगेको देखिन्छ । गत साउन ३१ गते दोस्रो बजारमा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । गत फागुन ३० गते १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । यो कारोबार रकम चालु आर्थिक वर्षको सबैभन्दा कम हो । चालु आर्थिक वर्षको सबैभन्दा बढी कारोबार भएको दिन साउन ३१ गतेको कारोबार रकमको आधारमा गत फागुन ३० गते कारोबार रकम ९३.८१ प्रतिशतले घटेको देखिन्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत कात्तिकसम्मको कारोबार रकम र कारोबार दिन आफ्नो वेबसाइटमा अपडेट गरेको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्ममा जम्मा ७६ दिन कारोबार भयो भने कूल ६ खर्ब ९८ अर्ब ४२ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्री भए । कुल कारोबार रकमलाई कारोबार दिनका आधारमा हेर्दा दैनिक औसतमा नौ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको देखिन्छ । गत फागुन ३० गतेको कारोबार रकम दैनिक औसत कारोबार रकमको तुलनामा ८५.५१ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्ष शुरु भएलगत्तै परिसूचक र कारोबार रकम दुबैले हालसम्मकै रेकर्डलाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेका थिए । तर, बजारले उक्त उचाइलाई थाम्न सकेन । बढ्दो बजारले स्थिरता पाएन र परिसूचकसँगै कारोबार रकम पनि घट्न थाल्यो । खास भन्ने हो भने भदौदेखि नै कारोबार रकम र परिसूचकमा कमी देखिन थालेको थियो । र, फागुनसम्म आईपुग्दा पनि बजारमा खासै रौनक छाएको छैन ।

पछिल्लो समय कारोबार कम हुनुको मुख्य कारण बैंकिङ क्षेत्रमा तरलताको अभाव, राष्ट्र बैंकको ४/१२ को नीति र लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बजारका जानकारहरु बताउँछन् । सेयर लगानीकर्ता दबाव समूहका अध्यक्ष हरि ढकाल अहिलेको घटिरहेको सेयर कारोबार सामान्य नै रहेको बताउँछन् ।

‘बजारमा कारोबार कम हुनु भनेको बजारमा सेलर पनि नहुनु हो, अर्को, लगानीकर्ताहरू बीमा कम्पनीको चुक्ता पुँजीको समाचार पनि कुरेर बसेका छन्, त्यस्तै, राष्ट्र बैंकको ४/१२ को नीतिले गर्दा ठूला लगानीकर्ताले ठूलो भोल्युममा सेयर कारोबार गर्न पाएका छैनन्, २२ अर्बको कारोबारबाट २/३ अर्बमा झर्नुमा राष्ट्र बैंक स्वयम् नै दोषी छ, र पनि यो अवस्थाको कारोबारलाई सामान्य नै मान्नुपर्छ,’ उनले भने ।

हालसम्मको उच्च कारोबारलाई नहेरी नेपाली पुँजी बजारको औसत कारोबारलाई हेर्ने हो भने पनि कारोबार रकम ८५ प्रतिशतभन्दा बढीले घटिसकेको छ । गत फागुन ३० गते कारोबार रकम एक अर्ब ३३ करोड रुपैयाँमा सीमित भयो । जुन दैनिक औषत कारोबारको तुलनामा ८५.५१ प्रतिशतले घटी हो ।

कारोबार रकम उच्चदरले घट्दैमा बजारमा संकट आएको भन्न नमिल्ने ढकाल बताउँछन् । फ्री फल भयो भने मात्रै बजार क्र्यास हुने लगानीकर्ता ढकाल बताउँछन् ।

‘अहिलेको बजार तथा कारोबारलाई मार्केट क्र्यास भन्दैन, बजारमा फ्री फल भयो भने मात्रै क्र्यास भन्न मिल्छ, जस्तो कि ३२०० को मार्केटबाट हरेक दिन ६०/७० अंकले घटेर २२८० मा आयो बजार, हो त्यो २२८० बाट पनि नफर्की र पनि फेरि ५० प्रतिशत बढी घटेको भए त्यसलाई क्र्यास भनिन्छ,’ थप प्रष्ट्याउँदै ढकालले भने- ‘मार्केट क्यास भएको बजारमा नेगेटिभ सर्किट लाग्दा पनि बायर (सेयर खरिदकर्ता) कोही पाउँदैन, जस्तो की केही दिनदेखि अधिकांश कम्पनीको सेयर मूल्य निरन्तर १० प्रतिशतले घटिराछ, तर त्यहाँ किन्ने कोही छैन भने त्यसलाई क्यास भनिन्छ, अहिलेको मार्केटलाई क्यास भन्न मिल्दैन ।’

कारोबार रकम घटेको आधारमा बजारलाई क्र्यास भन्न नमिल्ने बताउँदै उनले सिजनल बियरिसको कारणले कारोबार घटेको बताए । र, अब वैशाखदेखि भने बजारलाई केही टेवा पुग्न सक्ने उनको अनुमान छ ।

‘अब बजारमा बीमा कम्पनीहरूको पुँजी वृद्धिको समाचार आइदियो भने एउटा उत्साह त्यसले निकाल्छ र अहिलेको सिजनल बियरलाईले सकाइदिन्छ, अर्को कम्पनीहरूको तेस्रो त्रैमासको वित्तीय विवरणहरु अधिकांशको पोजेटिभ नै आउँला जसले गर्दा वित्तीय विवरणहरु हेरेर लगानी गर्नेलाई उत्साह हुन्छ, त्यस्तै, चुनाव आएसँगै लगानीकर्ताहरुको मनोबल बढ्छ, मलाई लाग्छ अबको बजारले सिजनल बियरलाई ब्रेक गर्न सक्छ,’ उनले भने ।

त्यस्तै, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल अहिले अफसिजन भएकाले कारोबार कम देखिएको बताउँछन् । पुसदेखि चैतसम्मको बजारमा कारोबार एकदमै न्यून हुने गरेको छ । त्यस्तै, तरलताको समस्या र लगानीकर्ताहरु पनि बैंक तथा वित्तीय संस्थाको ९ महिनाको रिपोर्टको पर्खाइमा भएकाले कारोबार घटेको हो । यस्तै, ४/१२ को नीतिले पनि कारोबारलाई असर गरेको उनी बताउँछन् ।

‘राष्ट्र बैंकले ४/१२ को नीति ल्याइदियो, यसले गर्दा लगानीकर्ताहरु आफूलाई ४/१२ को सीमाभित्र ल्याउन लागिपर्दा सेयर किन्नुभन्दा पनि आफ्नो हिसाब मिलाउन नै व्यस्त भए, यसले गर्दा कारोबार कम जस्तो देखिएको हो,’ उनले भने ।

ढकालका अनुसार वैशाखदेखि भने सेयर कारोबार बढ्दै जान्छ । तरलता सहज हुँदै जाने र सूचीकृत कम्पनीहरूको रिपोर्टले सेयर कारोबार बढ्न टेवा पुर्याउने उनले बताए ।

‘वैशाख लागेपछि सिजन शुरु हुन्छ, भन्नाले ९ महिनाको रिपोर्ट आउँछ, त्यसपछि कुनले कति लाभांश दिन सक्छ भन्ने आँकलन गर्न सकिन्छ, अर्को, चुनाव आउन लागेकोले अहिलेको वित्तीय अभाव सहज हुँदै जान्छ, जसले गर्दा कारोबार बढ्छ, अहिलेको अवस्था भनेको एकदमै चरम अवस्था हो, यो बेलामा जहिल्यै न्युन कारोबार हुन्छ,’ उनले भने ।

पुँजी बजारलाई नेप्से परिसूचक र कारोबार रकम दुवैले थेग्ने गरेको छ । जब परिसूचक बढ्छ, तब मार्केट बढ्छ । मार्केट घटेको बेलामा सेयर मूल्य पनि कम हुने भएकाले कारोबार रकम पनि घट्न जान्छ ।

‘मार्केटलाई धेरै कुराले गाइडेड गरेको हुन्छ, अहिलेको सेयर मूल्य तल्लो लेभलमा छ, रेट तल्लो लेभलको भएपछि कारोबार रकम यसै घट्छ, अहिलेको परिसूचक बढेर ३२०० पुग्यो भने यही कित्ताको भोल्युम पनि करिब ५ अर्ब हुन्छ,’ ढकालले भने ।

नेपाली बजारमा दैनिक २१ अर्ब रुपैयाँ बराबरको कारोबार हुनुको पछाडि पनि कारण रहेको अध्यक्ष ढकाल बताउँछन् ।

‘गत साउनमा उच्च कारोबार भयो, किनकि उक्त समयमा लकडाउन थियो, सबै ठप्प थियो, अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ थिएन, अधिकांश बैंक तथा वित्तीय संस्थाले लगानी गरेका थिए, त्यो बेलामा ४/१२ को नीति थिएन, बैंकहरुले लगानीकर्तालाई बोलाई बोलाई लोन दिएको अवस्था थियो, अहिले त्यो अवस्था छैन, त्यसैले पनि कारोबार रकम घट्नु स्वभाविक हो, तर सकारात्मक के छ भने पछिल्लो समय लगानीकर्ताको संख्या बढ्दो छ,’ उनले भने ।

नेपालको पुँजी बजारमा पुस मसान्तदेखि चैत मसान्तसम्मको समयलाई ड्राइ सिजन भन्ने गरिन्छ ।

चुनाव आउँदा किन बढ्छ सेयर बजार ?

सामान्यतः चुनाव आउँदा नेपालको पुँजीबजार बढ्ने गरेको पाइएको छ । किनभने चुनाव आउन लाग्दा सरकारले खर्चहरु बढी गर्छ । सरकारी खर्चहरु जस्तै, ठेकदारहरुलाई समयमै पेमेन्ट गर्छ, विकासको लागि पुँजीगत खर्चहरु गर्छ । जसले गर्दा बजारमा तरलता सहज हुन्छ र बजार बढ्ने जानकारहरु बताउँछन् ।

Share News