नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । मंगलबार ११.२२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा पुगेर बन्द भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९३ कम्पनीको सेयर मूल्य घट्न पुग्यो । त्यस्तै, २२ कम्पनीको सेयर मूल्य घटबढ भएन । मंगलबारको तुलनामा आज कारोबार रकममा भने कमी आएको छ । आज ३१ लाख ५७ हजार ६२ कित्ता सेयर ७८ करोड २७ लाख ४३ हजार २ सय ६४ रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाको सेयर ८.७ प्रतिशत तथा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर ७.४० प्रतिशतले बढेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैकको सेयर ६.३८ प्रतिशतले घटेको छ ।

सेयरको माग बढाउन संस्थागत लगानीकर्ताको हस्तक्षेप आवश्यक

काठमाडौं । सेयर बजार ३२ सय अंक हुँदा बैंकिङ्क प्रणालीमा ४५/४६ खर्ब रुपैयाँ मात्रै निक्षेप थियो । अहिले बजारमा झण्डै ५९ खर्ब रुपैयाँ निक्षेप छ तर, सेयर बजार १८ सय अंकमा कारोबार भइरहेको छ । ३२ सय अंकमा हुँदा सेयर बजारमा दैनिक २० अर्ब बढीको कारोबार भइरहेको थियो । तर, पछिल्लो समय सेयर बजार घटेसँगै सेयर कारोबार रकम पनि दैनिक १ अर्ब रूपैयाँभन्दा कम भइरहेको छ । साथै, पछिल्लो समय आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या पनि उल्लेख्य रुपमा घटेको छ । कुनै समय २६ लाख लगानीकर्ताले एउटै कम्पनीको आईपीओमा आवेदन दिएका थिए । सो संख्या घटेर १०/१२ लाखमा झरेको छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले धमाधम आईपीओ र हकप्रद सेयर निष्काशनको अनुमति दिएर सेयर सप्लाई मात्रै बढाएको आरोप लगानीकर्ताले लगाइरहेका छन् । साथै, अर्थतन्त्र नै समस्यामा परेका बेला लगानीकर्ताको मनोबल खस्किएको र कमजोर कम्पनीलाई समेत प्रिमियम मूल्यमा सेयर जारी गर्न दिँदा लगानीकर्तामा झनै निराशापन छाएको उनीहरूको भनाइ छ । लगानीकर्ताले बजारमा सप्लाई मात्रै बढेको भन्दै सेयर निष्काशन प्रक्रियालाई ढिला गरेर डिमाण्ड श्रृजना गर्नु पर्ने आवाज उठाउन थालेका छन् । प्रयाप्त तरलता हुँदा ब्याजदर घटिरहेको, लगानीयोग्य रकम हुनु, पर्यटकको संख्या बढ्नु, सूचना प्रविधिमा योगदान बढ्नु, उद्योग व्यवसायले गति लिनु, राजस्व संकलन बढ्दा पनि राज्यकाे नीतिगत व्यवस्थाले लगानीकर्तामा सकारात्मक प्रभाव परेको छैन । त्यसैले सेयर बजारमा डिमाण्ड सप्लाई बढाउन लगानीकर्ता मनोबल बढाउन जोड दिनुपर्ने लगानीकर्ताहरूले बताएका छन् । साथै, संस्थागत लगानीकर्ता, म्युचुअल फण्ड, प्राइभेट इक्विटी भेञ्चर क्यापिटल र बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेयर बजारमा लगानी गर्न दिनु्पर्ने उनीहरूको भनाइ छ । लगानीकर्ता तुलसीराम ढकाल नीतिगत व्यवस्था सहज नहुँदासम्म डिमाण्ड बढ्न नसक्ने बताउँछन् । पुँजी बजार तहसनहस पार्ने गरी राज्यका संयन्त्रहरुले नीतिगत व्यवस्था गर्दा बजारमा माग बढाउन कठिन रहेको उनकाे आरोप छ । प्रोफेसनल लगानीकर्ता र संस्थागत लगानीकर्तालाई प्रहार गरेर पुँजी बजारलाई ध्वस्त पार्न खोजेको आरोप उनले लगाए । ‘२०७८ भाद्र ८ गते सार्वजनिक गरेको मौद्रिक नीति पुँजी बजार सिध्याउन ल्याइएको थियो, जस्तो तत्कालीन समयमा ४/१२ कराेडको नीति ल्याइयो, साथै सेयर लगानीकर्तालाई कर्जाको जोखिमभार १ सय प्रतिशतबाट १५० प्रतिशत पुर्याइयो,’ उनले भने, ‘राज्यले लगानीकर्तालाई दोस्रो दर्जाको नागरिक जस्तै ब्यबहार गर्याे, हाम्रो सम्पत्तिलाई खोस्टो बनाउन खोज्यो, ‘प्रोफेसनल लगानीकर्तालाई बाहिर राखेर पुँजी बजारको विकास गर्छु भन्नु दिवा सपना मात्रै हो, त्यसैले लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्याे, हाम्रो सम्पत्ति राखेर कर्जा लिन पाउनु पर्छ ।’ सेयर कर्जा ब्यक्तिलाई १५ करोड र संस्थालाई २० करोड पुर्याउँदा राष्ट्र बैंकका गभर्नरले दक्षिणा बाँडे जस्तै गरेको गुनासो गरे । लगानीकर्ताले पनि कर तिर्ने भएकाले सेयर कर्जाको सीमालाई खुला छोड्नु पर्ने र जोखिम भार १ सय प्रतिशतमै झार्नु पर्ने उनको भनाइ छ । पुँजी बजारमा डिमाण्ड सिर्जना गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सेयर खरिद बिक्री गर्न दिनु पर्ने उनले बताए । साथै, म्युचुअल फण्ड र संस्थागत लगानीकर्तालाई सक्रिय गराउनु पर्ने उनको भनाइ छ । ‘बैंकलाई सेयर खरिद बिक्री गर्न बन्देज लगाउँदा माग नै घट्यो, निश्चित सीमाभित्र रहेर बैंकलाई पनि सेयर कारोबार गर्न दिनु पर्छ, म्युचुअल फण्ड लगायत संस्थागत लगानीकर्तालाई पुँजी बजारमा सक्रिय बनाउनु पर्छ,’ उनले भने । पुँजी बजारलाई नजिकबाट बुझेको र अध्ययन गर्न सक्ने ब्यक्तिले लगानी गर्ने भएकाले ठूला लगानीकर्तालाई भित्र्याउनु पर्ने लगानीकर्ता ढकाल बताउँछन् । साथै, घर-घरमा ब्रोकर कम्पनीको लाइसेन्स दिएपनि बजार बढ्न नसक्ने उनको भनाइ छ । ‘ठूला लगानीकर्तालाई सिध्याएर साना लगानीकर्ता भित्र्याउँछु भनेर राज्य लागेको छ, अब धितोपत्र बोर्डले नयाँ ब्रोकरको लाइसेन्स घर-घरमा दिएपनि केही हुने वाला छैन, किनभने लगानीकर्ताको मनोबल बढाउन नसकेपछि बजार पनि कमजोर बन्छ,’ उनले भने । साथै, राज्यका नीति कम्तिमा ५ वर्षसम्म स्थीर रहनु पर्ने उनको भनाइ छ । एक मर्चेन्ट बैंकरका अनुसार बजारमा माग बढाउन बैंक, बीमा कम्पनी, सरकारी संस्था, ब्रोकर कम्पनीको नीतिगत व्यवस्था सहज हुनु पर्छ । साथै, फण्ड भएका कम्पनी तथा संस्थासँग छलफल गरी बजारमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने उनको भनाइ छ । ‘सेयर बजार अनुत्पादक क्षेत्र हो, यसलाई खत्तम नै पार्नु पर्छ भन्ने मनोविज्ञानले पुँजी बजारको विकास हुँदैन, नीतिगत व्यवस्था सहजीकरण गरेर पनि कोही आउनेवाला छैन,’ उनले भने, ‘संकटको बेला नियामक, अर्थमन्त्रालय र सरकारले छलफल गरेर लगानीकर्ताको मनोबल बढाउनु पर्छ । बजारमा सेयर सप्लाई बढि भयो भन्दैमा सेयर निष्काशन प्रक्रिया रोक्नु भनेको अन्तर्घात नै हुने उनको भनाइ छ । सेयर निष्काशन प्रक्रिया रोक्नुभन्दा प्राइस मूल्याङ्कन वैज्ञानिक गर्नु पर्नेमा उनले जोड दिए । ‘प्रिमियम, बुक बिल्डिङ्गमा आउने आईपीओको सेयर मूल्यमा कडाइ गर्न सकिन्छ तर, आईपीओ, हकप्रद निष्काशन रोक्नु अन्तर्घाती विषय हो, बजार बन्द गर्नु पर्छ भने जस्तै हो,’ उनले भने, ‘बजारको मुख्य उद्देश्य भनेको पुँजी परिचालन गर्नु हो, कम्पनीहरुले पुँजी परिचालन गर्न नै नपाएपछि बजारको आवश्यक नै छैन ।’ ब्रोकर व्यवसायी सन्तोष मैनाली बजारमा उत्साह जगायो भने माग बढ्ने बताउँछन् । उनका अनुसार क्षमता भएका संस्थालाई लगानीमा गरेको कडाइ खुकुलो बनाउनु पर्छ । गैरआवासीय नेपालीलाई तत्काल बजारमा लगानी गर्न अनुमति दिँदा बजारमा माग बढ्ने उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्था, सरकारी स्वामित्व रहेका नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थालाई पोर्टफोलियोको निश्चित प्रतिशत सेयरमा लगानी गर्नु पर्छ भनेर नीतिगत व्यवस्था गर्नु पर्छ,’ उनले भने, ‘वर्षाैंदेखि एनआरएनएलाई पुँजी बजारमा भित्र्याउने भनेपनि अहिलेसम्म ल्याउन सकिएको छैन, उनीहरुलाई ल्याउँदा डिमाण्ड सिर्जना हुन सक्छ ।’ अर्थतन्त्र सुस्ताएको बेला लगानीकर्तामा उत्साह जगाउन नीतिगत व्यवस्था परिवर्तन गर्नु पर्ने उनको भनाइ छ । बजेटबाट समाधान हुने भएपनि सरकारले पुँजीगत लाभकरलाई सहज बनाउनु पर्ने उनको माग छ । अर्थतन्त्र सुस्ताएको बेला नयाँ ब्रोकर कम्पनीको पनि केही सीप नचलेको उनले बताए । ‘समग्र अर्थतन्त्र सुस्ताएको छ, लगानीकर्ताहरू सेयर बिक्री गरेर अन्य क्षेत्रतर्फ डाइभर्ट भएको देखिन्छ, लगानीकर्ताहरू निष्क्रिय र ठूलो संख्यामा संस्थापकहरूले सेयर बिक्री गरेर पलायन भइरहेका छन्, नयाँ ब्रोकरको पहल पुगेन,’ उनले भने । साथै, प्रिमियममा आईपीओ निष्काशन गर्दा नियामकले मूल्याङ्कन नगरी अनुमति दिँदा लगानीकर्ताको मनोबल पनि घटेको उनको बुझाइ छ । एक ब्रोकर व्यवसायीका अनुसार पुँजी बजारमा डिमाण्डभन्दा पहिला लगानीकर्ताहरूको मनोबल बढाउन जरूरी छ । लगानीकर्ताहरूमा अर्थतन्त्र राम्रो छ भन्ने कन्फिडेन्स हुने बित्तीकै बजार अटोमेटिक बढ्ने उनको बुझाइ छ । साथै, सेयर बजारलाई सन्तुलन कायम गर्न संस्थागत लगानीकर्ताको हस्तक्षेप आवश्यक रहेको उनले बताए । ‘संस्थागत लगानीकर्ताको अभावले बजार बढेपछि बढेको बढ्यै र घटेपछि घटेको घट्यै भइरहेको छ, यदि संस्थागत लगानीकर्ताको बाहुल्यता भयो भने बजारलाई सन्तुलनमा राख्छन्, संस्थागत लगानीकर्तासँग लगानी हुन्छ, उनीहरुले योजना बनाएका हुन्छन्, कम्पनीको अध्ययन विश्लेषण गरेका हुन्छन्,’ उनले भने, ‘कुन कम्पनीको सेयर खरिद गर्ने वा बिक्री गर्ने, कुनै कम्पनीको सेयर अण्डरप्राइस वा ओभरप्राइस छ भनेर अध्ययन गरेका हुन्छन् ।’ संस्थागत लगानीकर्ताको अभावका कारण बजार अहिले ठूलो अंकले घटेको उनको भनाइ छ ।

इमर्जिङ्ग नेपालले घोषणा गर्याे लाभांश

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशतका दरले ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी आठौँ वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।