म्युचुअल फण्डलाई सेबोनको कडाई, ६ महिनासम्म आईपीओको सेयर बेच्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुहिक लगानी कोष (म्युचुअल फण्ड)लाई कडाई गरेको छ । सोमवार निर्देशन जारी गर्दै म्युचुअल फण्डलाई आईपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री नगर्न सेबोनले निर्देशन दिएको हो । सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम आईपीओमा म्युचुअल फण्डले ५ प्रतिशत आरक्षण पाउँदै आएका छन् । उक्त आईपीओ खरिद गरेका म्युचुअल फण्डहरुले कात्तिक २१ गतेदेखि लागू हुने गरी ६ महिनासम्म बिक्री नगर्न निर्देशन दिईएको सेबोनका उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरीले जानकारी दिए । ‘संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन,’ सेबोनले जारी गरेको निर्देशनमा उल्लेख छ । तर, यसरी खरीद गरेको धितोपत्र बाँडफाँड भएको मितिले ६ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न बाधा नपुग्ने सेबोनले बताएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई सो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

नेप्से २१.३० अंकले बढ्यो, कारोबार रकम ९३ करोड ८९ लाखमा सीमित

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । पछिल्लो साता निरन्तर घटेको बजार सोमबार भने २१.३० अंकले बढेकाे हाे । नेपाल स्टक एक्सेञ्ज (नेप्से) आज १८४७.५४ बिन्दुमा पुगेर रोकिएको छ । सोमबार कूल ९३ करोड ८९ लाख रुपैयाँबराबर कारोबार भएको छ। आज कारोबार भएकामध्ये १ सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज हाथवे इन्भेस्ट नेपालको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९३ प्रतिशतले बढेको छ। आज सर्वाधिक गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। यस कम्पनीको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ।

प्रिमियम मूल्यमा सेयर निष्काशन रोक्न माग गर्दै लगानीकर्ता पुगे संसदीय समितिमा

काठमाडौं । लगानीकर्ताहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन् । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै लगानीकर्ताहरुले सार्वजनिक लेखा समितिमा उजुरी दिएका हुन् । लगानीकर्ताहरुले बोर्ड अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल लगायतले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको आरोव लगाएका छन् । आईपीओ जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर प्रचलित कानून बमोजिम हदैसम्म कारबाही हुने गरि निर्देशन जारी गर्न उजुरी दिएको लगानीकर्ताहरुले बताएका छन् । सार्वजनिक लेखा समितिमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रियाका विषयमा उजुरी परेपछि समितिले सेबोन, प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । ‘कम्पनीको आईपीओ निष्काशन प्रक्रियाका बारेमा उजुरी परेको छ, सार्वजनिक रुपमा प्रश्न समेत उठेका छन्, त्यसैले सेबोन र बीमा प्राधिकरणलाई केही प्रश्नसहित ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेका हौं,’ विकासन्युजसँग भने ।