मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको एफपीओ आज कात्तिक १६ गते बिहीबारका दिन बाँडफाँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । त्यसैले १२ हजार ३८१ जना लगानीकर्ताले लघुवित्तको १० कित्ता सेयर प्राप्त गरेको नेपाल एसबीआई मर्चेन्टले बताएको छ । साथै, ६.४५ कित्ता सेयर बाँकी रहेकाले ६ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ जनाले ०.४५ कित्ता सेयर प्राप्त गरेका छन् । लघुवित्तको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । लघुवित्तले असोज २५ गतेदेखि असोज ३० गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ ।

नेपाल पुनर्बीमाको सेयर बिक्री नभएपछि मूल्य घटाएर बेच्दै विशाल ग्रुप

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री नभएपछि विशाल ग्रुपले दोस्रो पटक संस्थापक बिक्रीमा राखेको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन खोजिरहेको छ । तर, उक्त सेयर बिक्री नभएपछि पुनः लिलामीमा राखेको हो । यसअघि कम्पनीले गत असोज ८ गतेदेखि असोज १४ गतेसम्म १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, उक्त समयमा ५ लाख कित्ता सेयर मात्रै बिक्री भएको देखिन्छ । विशाल ग्रुपले आज कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । साथै, उक्त सेयरको मूल्य पनि घटाएर बोलकबोलमा राखेको हो । ग्रुपले प्रतिकित्ता न्यूनतम २७७ रुपैयाँमा बिक्रीमा राखेको हो । यसअघि उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकेको थियो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक २० गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

भिजन लुम्बिनीको आईपीओ बिक्री खुला, कति कित्ता भर्ने ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आज कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको थियो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ९१ हजार २५० कित्ता विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको थियो । अब दोस्रो चरणमा कम्पनीले स्थानीय वासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सहित २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्री खुला गरेको हो । साथै, ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सक्ने छन् ।