स्टार हस्पिटलको साढे १० लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । स्टार हस्पिटलले साढे १० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । हस्पिटलले बिक्री हुन बाँकी रहेको हकप्रद सेयर बिक्री गर्ने भएको हो । हस्पिटल सञ्चालक समितिको बैठकले हकप्रद सेयर बिक्री हुन बाँकी १० लाख ६८ हजार ८१३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई लिलाम बढाबढमा बिक्री खुला गरेको हो । कम्पनीले उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । खरिद गर्न इच्छुकले मंसिर १ गतेसम्म आवेदन दिन सक्ने छन् ।

१० हजार कित्ता सेयर भएको प्रमाणपत्र हरायो

काठमाडौं । एक जना लगानीकर्ताको १० हजार कित्ता सेयर भएको प्रमाणपत्र हराएको छ । घान्द्रुक १० कास्कीस्थित लगानीकर्ता सुस्मा गुरुङ्गको १० हजार कित्ता सेयर संख्या भएको प्रमाणपत्र हराएको प्रभु क्यापिटलले जानकारी दिएको छ । प्रभु बैंक (साविक सेञ्चुरी बैंक)को संस्थापक सेयरधनी रहेका उनको सेयर प्रमाणपत्र नम्बर २७९ हो । यस्तै, हरिकृष्ण लामिछानेको ३३ कित्ता, रवि ढुङ्गेलको ३५ कित्ता, राजश्री हुमागाईंको १७ कित्ता, राम प्रसाद पौडेलको ४३६ कित्ता, सुवास कार्कीको २९२ कित्ता र अब्दुल रम्जान मियाँको १ हजार कित्ता भएका विभिन्न सेयर प्रमाणपत्र हराएको क्यापिटलले जनाएको छ । प्रमाणपत्रहरु हराएको हुँदा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए ३५ दिनभित्र निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ । अन्यथा उक्त सो सेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धितसेयरधनीहरुले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिनेछ ।

भिजन लुम्बिनीले कात्तिक १६ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता भर्ने ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको थियो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ९१ हजार २५० कित्ता विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको थियो । अब दोस्रो चरणमा कम्पनीले स्थानीयले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सहित २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्री खुला गरेको हो । साथै, ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सक्ने छन् ।